Prakash Adhikari May 22, 2022

 

काठमाडौं, ८ जेठ । आफैले आयोजना गरेको सुन्दरी प्रतियोगिताकी सहभागीलाई ६ महिनासम्म यौन शोषण गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे शनिवार काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ परेका छन् ।

कामको सिलसिलामा पोखरा पुगेका पाण्डेले ८ बर्ष पहिले आफूले गरेका यौन शोषण काण्डकी पीडितले सामाजिक सञ्जालमा त्यसको जानकारी दिएको खबर उनले पोखरामा नै पाएका थिए ।

आफूविरुद्ध जनआक्रोश बढ्ने र भीडले पत्ता लगाए जे पनि हुन सक्ने थाहा पाएका पाण्डे आफूले चलाउने मोबाइल स्वीच अफ गरी काठमाडौं आएर आफन्तकोमा बसेका थिए ।

उनको खोजीमा रहेको प्रहरीले शुक्रबारदेखि नै उनको मोबाइल नम्बर र व्यक्तिगत गतिविधिको निगरानी थालेकोले उनी पक्राउ परेका हुन् ।

शनिबार र आइतबार सार्वजनिक विदा भएकाले प्रहरीले अनुसन्धानको अनुमति लिन सोमबार मात्र उनलाई अदालत लैजाने भएको छ।

उनीमाथि बलात्कारको आरोप भए पनि त्यसमा हदम्यादको कटेको प्रंसंग जोडिएकोले उनलाई मानव बेचबिखनसम्बन्धी कानून अन्तरगत अनुसन्धान र कारबाही गर्ने तयारी भैरहेको छ ।

पाण्डेमाथि उनैले आयोजना गरेको सन् २०१४ को मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।

आठ वर्ष पुरानो घटना भएकाले कानुनअनुसार उजुरी गर्न हदम्याद गुज्रिसकेको छ।

प्रचलित मुलुकी फौजदारी कानुनमा बलात्कार भएको एक वर्षभित्र मुद्दा चलाइसक्नुपर्ने हदम्याद उल्लेख छ। यसबाहेक बालबालिकासम्बन्धी ऐनले पनि बालकैमा भएको यौन शोषण र हिंसाको उजुरी १८ वर्ष पुगेको मितिले एक वर्षभित्र पीडित आफैंले गर्न पाउने कानुनी व्यवस्था छ।

सरकारी वकिलहरुले यो घट्नामा धेरैथरिका मुद्दा आकर्षित हुन सक्ने संंभावना बताएका छन् । बलात्कार भएको घटनामा हदम्याद गुज्रिए पनि अरू मुद्दाको हदम्याद अझै हुन सक्ने देखिएको छ ।

सो घटनामा युवतीलाई एक दिनसम्म होटलमा बन्धक बनाएको, अपहरण गरेको, अभिभावकको अनुमतिबिना नाबालिगलाई यौन शोषण गर्ने उद्देश्यले एक ठाउँदेखि अर्को ठाउँसम्म लगेकोजस्ता कसुरहरू भएका छन्।

बन्धक बनाएको र अपहरण गरेकोमा हदम्यादको कानुनी व्यवस्था भए पनि शोषण गर्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँ लैजाने कसुरमा भने अझै पनि पनि उजुर गर्न सकिन्छ । यसमा समयको पावन्दी लगाइएको छैन ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ को उपदफा २ (ख) ले ुवेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्ति दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाकधम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिनेु कार्यलाई मानव ओसारपसार भनेको छ।

यस्तो कसुर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जोसुकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा उजुर गर्न सक्ने व्यवस्था उक्त कानुनमा छ। यस्तो उजुरी गर्ने हदम्याद कानुनमा तोकिएको छैन।

पीडितले यस्तो उजुर गर्नेबित्तिकै प्रहरीले बयान प्रमाणित गराउन पहिले अदालत लैजानुपर्ने हुन्छ। पीडकलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्छ। आफू निर्दोष रहेको प्रमाण पुर्‍याउने जिम्मा अभियुक्तकै हुने कानुनमा उल्लेख छ।

यो घटनामा युवतीलाई झुक्याएर होटल बोलाएको, बेहोस पारेको र बेहोसीकै अवस्थामा आफ्नो शक्ति दुरूपयोग गरी नियन्त्रणमा राखेको कसुर स्थापित हुन सक्छ।

त्यसो गर्नेलाई उक्त ऐनको दफा १५ (छ) बमोजिम कारबाही हुने व्यवस्था छ। यो दफाअनुसार शोषण गर्ने उद्देश्यले ओसारपसार गरेकोबाहेक पनि दफा ४ को उपदफा (२) को खण्ड (ख) बमोजिमका कसुर गर्नेलाई ७ देखि १० वर्ष कैद हुनेछ।

सर्वोच्च अदालतसम्मै मुद्दा पुग्यो र अदालतले चाह्यो भने बलात्कार घटनामा हदम्यादसम्बन्धी कानुनको व्याख्या गरेर पीडकलाई मुद्दा चलाउनेसम्मको आदेश हुनसक्छ।

यो विषयमा संसदमा समेत कुरा चलेकोले केही नेपाल ऐन संशोधन गर्ने विधेयक लगेर यो ऐन संशोधन गरी बलत्कारका मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गरेर त्यसै अनुरुप मुद्दा चल्ने अवस्था आउने संभावना पनि छ ।

घटना के हो ?

सन २०१४ को मिस मोडल ग्लोबल भिसामा सहभागी एक युवतीले आफूमाथि ८ बर्ष पहिले ६ महिनासम्म निरन्तर बलात्कार र यौन शोषण भएकोले आफू डिप्रेशनमा पुगेको,आत्महत्या गर्ने प्रयास गरेको र कुनै औषधीले काम नगरेकोले मनोचिकित्सकको सल्लाह अनुसार आफूमाथि भएको यौन शोषणको घट्ना सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपरेको तर्कसहित आफैले रेकर्ड गराएको श्रब्यदृश्य सामग्री बिहीबार सार्वजनिक गरेकी थिइन ।

पीडित युवतीले बताए अनुसार बालकलाकारको रुपमा फिल्ममा खेलिसकेकी उनी मोडलिड. र चलचित्र क्षेत्रमा वृत्ति विकास गर्ने आकांक्षासहित सो सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन ।

सन २०१४ को मिस मोडल ग्लोबल भिसा प्रतियोगितामा पुरस्कृत समेत भएकी उनलाई आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले सक्सेस पार्टीका लागि नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा बोलाए । आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको देखेपछि उनले सोधेकी थिइन, अरु सहभागी खोई त ?

त्यसबेला सञ्चालक पाण्डेले भनेका थिए “तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ” भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई लेमोनेड खान दिए।

“लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके”, उनले भनेकी छन्, “अहिले नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि केटीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।”

यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्।

बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।

बिहान घर जाने बेला सञ्चालक पाण्डेले २० हजार रुपैया झोलामा हालिदिंदै तिमीलाई समस्या परेको होला भनेर यो सहयोग दिएको छु । यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो नग्न फोटो र भिडियो खिचेको छु , सार्वजनिक गरिदिन्छुु भनेर धम्क्याएको पनि उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमार्फत भनेकी छन् ।

त्यति बेला १६ वर्षकी पीडितले त्यही घट्ना सार्वजनिक गर्ने धम्की दिंदै छ महिनासम्म पटकपटक आफूलाई बलात्कार गरेको उनको भनाइ छ। उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्।

ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।

आफ्ना साथीले ती सञ्चालकलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले भनेकी छन्। यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गर्नुपरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले बताएकी छन्।

बढ्दो जनदबाब

यो घट्ना सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनीमाथि सहानुभूति राख्दै यो घट्नाका दोषीलाई पक्राउ गरी कानूनको दायरामा ल्याउन ठूलो दबाब सिर्जना भयो ।

पीडितले आफूमाथि यौन शोषण भएको जानकारीसहित उद्धारका लागि याचना गर्दा पूर्व मिस नेपाल तथा सो सौन्दर्य प्रतियोगिताकी कोरियोग्राफर माल्भिका सुब्बाले असहयोग गरेकोमा उनीप्रति आक्रोश प्रकट भयो र सुब्बाले माफी माग्नु पर्यो ।

यो घट्ना सार्वजनिक भएपछि संसदमा पनि कुरा उठ्यो र सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिनुभयो।

सामाजिक सञ्जालमार्फत युवतीको भिडियो सार्वजनिक भएपछि महिला अधिकारकर्मीहरुले शुक्रबार प्रधानमन्त्री निवास अगाडि र शनिवार माइतीघर मण्डलामा धर्ना र विरोध प्रदर्शन गरेका थिए ।

यो कारुणिक घटना सार्वजनिक भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि यो घटना पछ्याइरहेको थियो।

प्रहरी उपरीक्षक कृष्ण कोइराला र परामर्शदातासहितको टोली ती बालिकालाई भेट्न उनकै घर पुगेको थियो। टोलीले ती बालिकालाई जाहेरी दिन सकिने प्रक्रियाबारे र यसमा आकर्षित हुने मुद्दाहरूबारे जानकारी गराएको थियो।

सभामुख सापकोटाको रुलिड.पछि यस घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरको संयोजकत्वमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य रहेको एक समितिले यस विषयमा छानबिन थालेको छ।

महिलाको कमजोरीको फाइदा उठाउदै यौनशोषण गर्ने मनोज पाण्डे अब कानूनको फन्दाबाट उम्किन कठिन छ । एक पीडित युवतिले ढिलै भएपनि न्याय पाउने आशा पलाएको छ ।

Share Now

Leave a comment.