काठमाडौं, ९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका र तनहुँको ब्यास नगरपालिकाको स्थानीय तहको निर्वाचनको नतिजा नेपाली कांग्रेसको पक्षमा गएको छ ।
हाम्रा समाचारदाताका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकको मेयर र उपमेयर दुबै पदमा नेपाली कांग्रेस विजयी भएको छ।
मेयरमा कांग्रेसका पदम बोगटी र उपमेयरमा निलम लेखक विजयी हुनुभएको छ ।
मेयरमा विजयी बोगटीले १५ हजार ८ सय ८२ मत ल्याएका ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका महेशप्रसाद पन्तले ८ हजार १ सय ७९ मत प्राप्त ल्याउनुभयो।
यस्तै, राप्रपाका गजेन्द्र बहादुर चन्दले ७ हजार १ सय ५ मत ल्याउनुभयो।
माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका राजेन्द्र पाण्डेयले ३ हजार ४ सय ५२ मत ल्याउनुभयो।
बोगटी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै सुरेन्द्र बिष्टसँग १ सय ६६ मतले पराजित हुनुभएको थियो ।
उपमेयरमा कांग्रेसकी निलम लेखक १२ हजार २१६ मत सहित विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी माओवादी र समाजवादीको गठबन्धनबाट उपमेयरका उम्मेदवार माओवादीका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत ल्याउनुभएको थियो।
तनहुँको ब्यासमा कांग्रेस विजयी
तनहुँ जिल्लाको ब्यास नगरपालिका प्रमुखमा कांग्रेसका बैकुण्ठ न्यौपाने निर्वाचित हुनुभएको छ । १२ हजार ७८ मत प्राप्त गर्नुभएका न्यौपानेले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्नुभएको हो । जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गर्नुभएको थियो ।
उपप्रमुखमा कांग्रेसबाट इन्दिरा दरै निर्वाचित हुनुभएको छ दरैले १३ हजार ४ सय ९८ मत ल्याएकी ल्याउनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी बसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गर्नुभयो ।
२०७४ सालको निर्वाचनमा पनि ब्यासमा कांग्रेसले जित हासिल गरेको थियो ।


















