पोखरा(कास्की), ११ जेठ । पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित हुनुभएको छ ।
महानगरमा खसेको १ लाख ४३ हजार २ सय २८ मतमा उहाँले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत मात्रै प्राप्त गर्नुभयो ।
महानगर प्रमुखका दुई उम्मेदवारबीचको मतान्तर ६ हजार ४५ रहेको छ ।
पोखरा महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजयी हुनुभएको छ ।
यसअघि पनि महानगरमा उपमेयर रहनुभएकी गुरुङ नेपाली काँग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मत अन्तरले पछि पार्दै पुनः निर्वाचित हुनुभएको हो ।
गुरुङले ६० हजार ५ सय ४६ मत पाउँदा रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याउनुभयो । यसले पोखरामा नेपाली कांग्रेसको संगठन एमालेको भन्दा कमजोर रहेको संकेत गरेको छ ।
पोखरा महानगरको प्रमुखमा निर्वाचित भएपछि आचार्यले छोटो प्रतिक्रिया दिँदै जन्मदेखि मृत्युसम्मका दर्ता प्रक्रिया निःशुल्क गर्ने पहिलो घोषणा हुने बताउनुभयो । उहाँले उपप्रमुखमा पराजय व्यहोर्नुभएकी कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई आचार्यले महानगरमा सल्लाहकारका रूपमासँगै राखेर लैजाने बताउनुभयो ।
पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ (६८.९५) प्रतिशत मत खसेको थियो ।
पोखरा महानगरको प्रमुखमा २३ जना र उपप्रमुखमा ९ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रमुखमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले ३ हजार ३० मत प्राप्त गर्नुभएको थियो । खसेको मतमध्ये २० हजार ७ सय ८१ मत बदर भयो ।
पोखराका १५ औं प्रमुख
२०१६ सालमा नगर पञ्चायतको रूपमा गठन भएको पोखरामा यसअघि १४ जना मेयरले काम गरिसक्नुभएको छ । पोखराको पहिलो मेयरका रूपमा २०१६ देखि २०१८ सम्म शिवबहादुर थापाले काम गर्नुभएको थियो । २०१९ देखि २०२४ सम्म नगेन्द्रबहादुर रायमाझी, २०२४ देखि २०२८ सम्म अम्बरबहादुर कार्की प्रमुख बन्नुभयो । २०२८ देखि २०३१ सम्म रुद्रबहादुर कार्की, २०३१ देखि ०३२ सम्म दिलीपकुमार पालिखे र त्यसपछिको ७ महिना रमेशबहादुर भट्टराई प्रमुख भएर काम गर्नुभएको पाइन्छ ।
२०३२ देखि २०३८ सम्म गणेश शेरचन, २०३८ देखि ०३९ सम्म श्रीप्रसाद गुरुङ, २०३९ देखि ०४१ सम्म उत्तम बहादुर पुन, २०४१ देखि २०४६ सम्म सूर्यबहादुर केसीले मेयरका रूपमा काम गर्नुभएको थियो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४९ सालमा स्थानीय निकायको रूपमा निर्वाचन भयो । पहिलो मेयरको रूपमा काँग्रेसका भोला थापा निर्वाचित हुनुभयो । २०५४ मा भएको निर्वाचनमा कृष्ण थापा निर्वाचित हुनुभयो । एमालेले अहिले पनि उहाँलाई उम्मेदवार बनाएको थियो तर उहाँ पराजित हुनुभयो ।
राजाको प्रत्यक्ष शासनकालमा २०६० सालमा हर्कबहादुर गुरुङलाई मेयरमा नियुक्त गरिएको थियो । दुई वर्षपछि २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे । भीमसेन थापा राप्रपाबाट मेयर बन्नुभयो ।
नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४औँ मेयरका रूपमा निर्वाचित हुनुभयो ।
उहाँको ५ वर्षे कार्यकाल सकिएपछि अहिले भएको स्थानीय तहको दोस्रो निर्वाचनबाट एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहनुभएका आचार्य पोखराको १५ औँ प्रमुखका रूपमा पुग्नुभएको छ ।
गठबन्धनका दलहरुबीचको सहमतिमा पोखरा महानगरपालिकाको मेयर पद एकिकृत समाजवादीको भागमा परेपछि नेता आचार्यलाई पार्टीले बैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेकोथियो । पोखराको मेयरमा २३ जनाको प्रतिस्पर्धा थियो ।
धनराजको परिचय
२०२६ चैत्र २७ गते पोखरा महानगरपालिका ३३ मा जन्मिनुभएका नेता आचार्य अहिले एकिकृत समाजवादी पार्टीको कास्की अध्यक्षका साथै केन्द्रीय सदस्य हुनुहुन्छ ।
पार्टीको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा शुरु गर्नु भएका आचार्यले व्यवसायिक संगठनहरुको नेतृत्वमा रहेर पनि कार्य गर्नुभएको छ ।
राजनीति बाहेक उहाँ विभिन्न व्यवसायिक र सामाजिक संस्थाहरुमा पनि अध्यक्ष, संचालक र संस्थापक रुपमा आवद्ध रहँदै आउनु भएको छ । उहाँको पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कूल कलेज संचालन, रसायनिक मल उद्योग र जलविद्युत जस्ता व्यवसायिक क्षेत्रमा संलग्नता रहेको छ । उहाँ कृषि, पर्यटन, बैकिग र हस्पिटालिटी लगायत २ दर्जन व्यसायिक प्रतिष्ठानमा संग्लन हुनुहुन्छ ।
नेपाल पुस्तक तथा व्यवसायी महासंघको महासचिव र राष्ट्रिय अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको कार्यकारी सदस्य, उच्च स्तरीय पुस्तक नीति मस्यौदा समितिको विज्ञ सदस्य र पाठ्य पुस्तक मूल्य निर्धारण समितिमा विज्ञ सदस्यका रुपमा उहाँले कार्य गरिसक्नु भएको छ ।
पोखरा महानगरको शिक्षा विज्ञ, लायन्स क्लबस् अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी १को क्याबिनेट सेक्रेटरी र गर्भनर रहनुभएका उहाँ स्व।.रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान पोखराको महासचिव हुनुहुन्छ ।
पढाऔं अभियान नेपालका सुत्राधार उहाँले अर्थतन्त्र, शिक्षा प्रणाली तथा नीतिका सन्दर्भमा दर्जनौ कार्यपत्र प्रस्तुत गर्नुभएको छ । देशका ७५ जिल्लाको अध्ययन भ्रमण गर्नु भएका उहाँले विभिन्न तालिम र अध्ययनका सिलसिलामा विश्वका ४५ देशको भ्रमण गर्नुभएको छ ।
एमबिए र एमएड अध्ययन गर्नुभएका आचार्य स्पष्ट वक्ता र कुशल नेतृत्वका कारण राजनीतिक तथा सामाजिक क्षेत्रमा परिचित हुनुहुन्छ ।


















