Prakash Adhikari May 25, 2022

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ ।

आज बिहानसम्म गनिएका १ लाख ६८ हजार ४ सय ८७ मत मध्ये प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार ७ सय १८ मत ल्याउनुभएको छ ।

दोस्रो स्थानमा रहनुभएकी नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत ल्याउनुभएको छ ।

बालेन र सिर्जनाबीचको मतान्तर २० हजार १ सय १० रहेको छ । मत गणना गर्न बाँकी मत २२ हजार ५ सय ६४ छ । बाँकी मत सबै सिर्जनालाई गएमात्रै बालेन रोकिने अवस्था छ तर बाँकी मत सबैलाई बाडिने निश्चित भएकोले बालेनको विजय सुनिश्चित भैसकेको छ ।

अन्य उम्मेदवारहरुमा नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले ३३ हजार ९ सय ७५ मत पाउनुभएको छ भने अर्का स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ९ हजार ९ सय ६३ मत ल्याउनुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ८१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै विवेकशील साझा पार्टीकी उम्मेदवार समिक्षा बाँस्कोटाले ५ सय ९५ मत पाउनुभएको छ भने अन्य उम्मेदवारले हालसम्म १ हजार ३ सय २४ मत पाएका छन्।

काठमाडौं महानगरपालिकाको २७ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको छ।

अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी छ।

Share Now

Leave a comment.