Prakash Adhikari May 26, 2022

 

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

काठमाडौं पोष्टले जनाए अनुसार उहाँको भ्रमण आगामी आषाढ ३० देखि ३२ देखि हुुने गरी कार्यक्रम तालिका मिलाइदै छ ।

झण्डै २० बर्ष पछि नेपाली प्रधानमन्त्रीले वाशिड.टन डी.सी.को भ्रमण गर्न लाग्नुभएको हो ।

नेपालका प्रधानमन्त्रीहरु संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुग्ने त्यही अमेरिकी अधिकारीहरुलाई भेट गर्दै आउने गरेपनि विशेष आमन्त्रणमा अमेरिकी राजधानी वाशिंटनमा राष्ट्रपतिको पाहुना बन्ने सौभाग्य विरलै प्रधानमन्त्रीलाई प्राप्त हुने गरेको छ ।

अमेरिका भ्रमणको निधो भए पनि मितिका बारेमा भने दुवैतिरबाट गृहकार्य भैरहेको र अमेरिकी राष्ट्रपति विदेश मन्त्री एन्थोनि ब्लिड.कन र वरिष्ठ अमेरिकी अधिकारीहरुको समय तालिका मिलाउने प्रयास भैरहेको छ ।

यसमा जुलाईको पहिलो साता वा दोस्रो साता छनोटमा परेको छ र नेपालका परराष्ट्र मन्त्रालय,प्रधानमन्त्रीको निजी सचिवालयले दोस्रो साता हुन सक्ने संभावना ज्यादा रहेको बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले प्रधानमन्त्रीले त्यहाँ हुने दोस्रो लोकतन्त्र सम्मेलनमा पनि सहभागिता जनाउने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाको यो भ्रमण नेपाल र अमेरिकाको दौत्य सम्बन्धको हिरक महोत्सव अर्थात ७५ औं बार्षिकोत्सवको उपलक्ष्यमा हुन लागेको बताइएको छ ।

नेपालले अमेरिकी सहयोग नियोक(मिलिनियम च्यालेञ्ज कर्पोरेशन, एमसीसी)को अनुदान सहयोग संझौता पारित गरेपछि नेपालमा अमेरिकी प्रतिनिधि मण्डल आउने क्रम बाक्लिएको छ ।

अघिल्लो हप्तामात्र अमेरिकी उपमन्त्री उज्रा जियाले आफ्नो तीन दिवसीय भ्रमण पूरा गर्नुभएको छ ।

गत असोज महिनामा अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेशनकोको संझौता सञ्चालनतर्फकी उपाध्यक्ष फतिमा जे सुमर नेपाल भ्रमणमा आउनुएको थियो । त्यस लगत्तै अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गर्नुभयो । गत अप्रिल महिनाको तेस्रो साता अमेरिकी सिनेटर क्रिस्टेन गिलिब्राण्डको नेतृत्वमा आएको एक संसदीय प्रतिनिधि मण्डलले नेपालको भ्रमण गरेको थियो ।

नेपालका तर्फबाट अमेरिकामा यस अगाडि उच्चस्तरीय भ्रमण परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नुभएको थियो । सो भ्रमण २०१८ को डिसेम्बरमा भएको थियो ।

प्रधानमन्त्री देउवाले भने २००२ मा वाशिंटनको भ्रमण गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.