Prakash Adhikari May 27, 2022

 

काठमाडौं, १३ जेठ । “क्रान्ति ‘क’बाट होइन ‘ज्ञ’बाट सुरु हुन्छ र त्यो ‘ज्ञ’ ज्ञान हो ।” यस्तो नारा अङ्कित टी-शर्ट लगाएका युवाहरूको समूह काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको राष्ट्रिय सभागृहवरपर १३ दिन नै भेला भए।

टी शर्टको अगाडिपट्टि छातीमा देखिनेगरी बालेन्द्र शाहको तस्बिर र ढाडमा अहिले निकै चर्चामा रहेको नाम ‘बालेन’ प्रष्ट देखिन्थ्यो।

उनीहरूमध्ये कोही एउटा हातमा तथ्याङ्क टिपिएको कागज बोकी सभागृह परिसरबाट निस्किन्थे र बाहिर ‘बालेन जिन्दाबाद’को नारा लगाइरहेको भिड नजिकै पुग्थे अनि केही जानकारी दिएर फेरि भित्र फर्किन्थे।

त्यहाँ जम्मा भएको भिडले मतगणनामा बालेन निरन्तर अगाडि भएको र मतान्तर अझ फराकिलो बन्दै गएको थाहा पाउँथ्यो।

स्थानीय तह निर्वाचनमा काठमाडौ हानगरपालिकाको मेयर पदका अन्य उम्मेदवारलाई बालेनले हजारौँ मत सङ्ख्याले पछाडि पारेको थाहा पाउँदा उनीहरू हर्षोल्लास गर्दै उफ्रिन्थे। थप चर्को नारा लगाउँथे। कोही गीत गाउँथे भने कोही नाच्थे।

के भन्छन् समर्थक ?

मतगणना सुरु भएको पाँचौँ दिन गणनास्थलमा भेटिएका विनय शाक्यले पनि बालेनको तस्बिर अङ्कित टीशर्ट लगाउनुभएको थियो।

स्वतन्त्र उम्मेदवारको मतगणना प्रतिनिधिको रूपमा त्यहाँ उपस्थित शाक्य भने भिडका अरू मानिसभन्दा केही चिन्तित देखिनुहुन्थ्यो।

“बालेन दाइ अगाडि आउँदा खुसी छु तर अझै पनि के हुन्छ थाहा छैन। थोरै डर छ। अरूजस्तै पूर्ण रूपमा उत्साहित त जितेपछि मात्र भइन्छ”, बीबीसीसँगको कुराकानीका क्रममा भन्नुभएको थियो।

विगत पाँच महिनादेखि बालेनको निर्वाचन अभियानमा आफू सक्रिय रहेको बताउने उनी उक्त समूहका फोटोग्राफर पनि हुनुहुन्छ।

उहाँ बालेनसँगसँगै काठमाडांैंका गल्लीहरूमा हिँड्नुभयो, सर्वसाधारण मानिससँग भेट्दै काठमाडौंलाई चाहिएको नयाँ जनप्रतिनिधिबारे प्रचारमा पनि सहभागी हुनुभयो।


कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातक तहको अध्ययन गरेको बताउने यी २४ वर्षीय युवक किन बालेनका पक्ष  लाग्नुभयो त? ?

“पुराना राजनीतिक दलहरूबाट के पायौँ र ?”,  उहाँको प्रतिप्रश्न थियो।

“उनीहरूसँग हामीभन्दा अघिल्लो पुस्ता नै वाक्क भएको सबैलाई थाहा छ। हामीले त विकल्प खोज्ने हो। मेरा लागि पढेको युवा नै उचित विकल्प बन्नुभयो।”

अघिल्लो चुनावदेखि नै आफू ठूला राजनीतिक दलबाहेकका वैकल्पिक उम्मेदवारको पक्षमा रहेको उहाँको भनाइ छ।

“हामीलाई स्वच्छ, सफा र बस्न लायक सहर चाहिएको छ। जसले यी मुद्दालाई उठायो र सहरको संस्कृतिलाई जोगाउने प्रतिबद्धता जनायो म उसैको पक्षमा उभिएँ”, उहाँले भन्नुभयो।

मतगणना सुरु भएको बाह्रौँ दिन बालेनको पक्षमा परिणाम आउने पक्का भयो। गन्न बाँकी मतभन्दा अरू उम्मेदवारसँगको मतान्तर बढी भएपछि उनी देशकै सबैभन्दा ठूलो महानगरका प्रमुख बन्ने निश्चित भयो।

उहाँले नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापित दुवै जनालाई २३,००० भन्दा बढी मतले पछाडि पार्नुभयो।

१३ हजारभन्दा बढी मत ल्याएर अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी चौथो स्थानमा आउनुभयो।

बालेन मेयर बन्ने पक्का भएपछि आफ्नो अभियान सफल भएको महसुस विनयजस्ता समर्थक र मतदाताहरूले गरेका छन्।

“अब हामीले पारदर्शी र भ्रष्टाचाररहित स्थानीय सरकार पाउने कुरामा आशावादी छु र खुसी पनि”, उहाँले भन्नुभयो।

मतगणनाको क्रममा

कलङ्कीमा बस्ने ५२ वर्षीया एक महिला पनि बालेन विजयी हुने थाहा पाएपछि दङ्ग पर्नुभयो।

युवाको क्षमता र अठोटमाथि विश्वास गरेर बालेनलाई समर्थन गरेको बताउने उहाँ भन्नुहुन्छ, “वर्षौँ उमेर ढल्केकाहरूलाई मत दियौँ तर घरभित्र पानीको अभावदेखि घरबाहिर सडकको समस्या भोगिरह्यौँ। युवा नेताले अवसर पाए केही गर्छन् कि ?”

आफूलाई अस्ट्रेलियामा रहेकी छोरीले बालेनका बारे बताएको र उहाँका अन्तर्वार्ताहरू हेर्न लगाएको उहाँले सुनाउनुभयो।

बालेनका राजनीतिक गुरु को हुन् ? 

सामाजिक सञ्जालदेखि सडकसम्म बालेनको पक्षमा देखिएका युवा र वर्षौँयता देख्दै आएका राजनीतिकर्मीको विकल्प खोजिरहेका पाका पुस्ताका लागि बालेन एक आशा बनेको बताउनुहुन्छ नरसिंह व्यञ्जनकार।

ललितपुर महानगर वडा नं। १० मा स्वतन्त्र रूपमा १० पटक वडाध्यक्ष जितेका व्यञ्जनकारलाई बालेनले आफ्नो ूराजनीतिक गुरुू मानेको चर्चा हुने गरेको छ। निर्वाचनमा व्यञ्जनकार पराजित हुनुभयो।

तर उहाँ बालेनले पाएको मत देखेर प्रफुल्लित हुनुहुन्छ।

“उहाँसँग मेरो धेरै लामो चिनजान त छैन। चार महिनाजति अगाडि चुनाव लड्छु भन्ने जोस बोकेर मकहाँ आउनुभएको थियो। मैले राजनीति गर्नुअघि काठमाडौंलाई बुझ्नुपर्छ भनेर पठाएँ “, नरसिंह व्यञ्जनकारले बालेनसँगको पहिलो भेटघाट सम्झिनुभयो।

व्यञ्जनकारका अनुसार बालेन केही समयपछि पुनः काठमाडौंको समस्या र आवश्यकताबारे अध्ययन र अवलोकन गरेको बताउँदै उहाँकहाँ पुग्नुभएको थियो।

“सधैँ भएन भनेर विरोध गरेर बसेर देश बन्दैन। अब आफू गरेर देखाउनु भनेको थिएँ, केही सुझाव दिएको थिएँ”, व्यञ्जनकारले भन्नुभयो।

काठमाडौं महानगरवासीको अपेक्षा के हो भन्ने कुरा पहिचान गर्नु र काम गरेर देखाउनु नै बालेनको पहिलो चुनौती भएको व्यञ्जनकारको बुझाइ छ।

खासमा नरसिंह व्यञ्जनकारका छोरा कुमार व्यञ्जनकार बालेनका घनिष्ठ मित्र हुनुहुन्ट। अहिलेको निर्वाचन अभियानमा कुमार उहाँका सारथि बन्नुभयो ।

“अब अन्य राजनीतिक दलले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बस्नु भएन। काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्‍यो। काम गर्न नदिने सम्भावना पनि छ तर त्यसो भयो भने बालेनलाई मत दिने हजारौँ मानिस चुप लागेर बस्छन् भन्ने सोच्नु हुँदैन”, नरसिंह व्यञ्जनकारले आफ्नो विचार राख्नुभयो।

बालेनको निर्वाचन अभियानमा सहयोग गर्दै आएका केही व्यक्तिहरूका अनुसार साथीका बुवा भएको तथा दशकौँदेखि उनी स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित हुँदै आएको देखेर नरसिंह व्यञ्जनकारबाट बालेन प्रभावित भएको देखिन्छ।

“त्यसैले बालेनले उनलाई गुरु भन्नुभएको हो । नरसिंह व्यञ्जनकारका लागि बालेन ‘एकलव्य शिष्य’ हुनुहुन्छ”, तीमध्ये एकको भनाइ छ।

कस्ता हुन सक्छन् चुनौती र अवसर?

सर्वसाधारणको समर्थन पाउँदैमा प्रशासन चलाउने, आफ्नो उद्देश्यलाई लागू गर्न सक्ने, नयाँ चुनौतीहरू सहजै पार गर्न सकिन्छ भन्ने नहुने बताउनुहुन्छ राजनीतिक विश्लेषक राजेन्द्र महर्जन।

महानगरपालिकाको निर्णयमा मेयरको मत मात्र नभई विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिहरू समाविष्ट समितिमा बहुमत आवश्यक हुन्छ।

“कसरी उनीहरू सबैको पनि आवाज समेट्छन् वा उनीहरूलाई निर्णयमा सहभागी गराउँछन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ किनकि मेयर आफैँले सबैकुरा गर्न पाउने स्थिति छैन”, महर्जन भन्नुुहुन्छ।

त्यस्तै दलहरूसँगको द्वन्द्वलाई अर्को चुनौती मान्छन् महर्जन। उनीहरूसँग समन्वय गर्न नसक्दा दुर्घटना पनि हुन सक्ने उहाँलाई लागेको छ।


“उपमेयरसँगै विमति हुँदा कतिपय विषयमा निर्णय नै नहुने स्थितिमा पुग्न सकिन्छ। यसअघिका मेयर र उपमेयरबीच पनि द्वन्द्व हुँदा बहुमतले निर्णय गर्ने र अर्कोले त्यसको विपक्षमा सडकमा प्रदर्शन गर्ने वा हस्तक्षेप गर्ने समस्याहरू देखिएका थिए”, उहाँले भन्नुभयो।

त्यस्तै भाषाको मुद्दा, सभ्यता अतिक्रमण, गुठीको विषय, सडक बिस्तार र त्यससँग जोडिएको विस्थापनको समस्यासँग जोडिएका मतदाताहरूको अपेक्षालाई उहाँले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने कुराले प्रभाव पार्ने उनको तर्क छ।

सञ्चार व्यवस्थापन, साङ्गीतिक कलाकारको छवि र ख्याति र पुराना दलहरूप्रति सर्वसाधारण मानिसको वितृष्णाका कारण बालेन अगाडि आएको महर्जनको विश्लेषण छ।

साङ्गठनिक आधार नभएकाले कुनै कार्यक्रम गर्दा मानिसको समर्थन पाउनु र उनीहरूलाई सहभागी गराउनु पनि चुनौतीपूर्ण हुने उहाँले बताउनुभयो।

“उनले आममानिससँग संवाद गर्न र उनीहरूको सहभागिता हुने खालको संयन्त्र विकास गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो।

बालेनको परिचय
देशको सबैभन्दा ठूलो स्थानीय तह, काठमाडौंमा ठूला राजनीतिक दलहरूका उम्मेदवारविरुद्ध उभिएका बालेन्द्र शाह पेसाले स्ट्रकचरल इन्जिनियर हुनुहुन्छ। त्यसअघि उहाँ सङ्गीत रुचाउने ठूलो जमातबीच र्‍यापरका रूपमा चिनिनुभएको छ।

डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा बालेन ‘र्‍याप ब्याटल’ नामक प्रतियोगितामा सहभागी भएपछि नयाँ पुस्ताका युवामाझ परिचित हुनुभयो।

 

इन्जिनियरका रूपमा उनले सडक र पुलदेखि, औद्योगिक क्षेत्र, भ्यूटावर, खेलकुद मैदान र साइन्स पार्कहरूको खाका कोर्ने वा निर्माण गर्ने कार्यमा संलग्न रहेर काम गरेको बताउने गर्नुभएको छ।

पहिलो पटक उम्मेदवारी दिँदै आफूले कमाएको चर्चा र विश्वासको श्रेय उहाँ सङ्गीतमार्फत् कमाएको नामलाई नै दिनुहुन्छ।

निर्वाचन अभियानमा लागेको बेला उहाँले भन्नुभएको थियो, “सङ्गीत क्षेत्रमा १०(१२ वर्षदेखि छु तर मनोरञ्जनभन्दा बढी सामाजिक मुद्दा उठाएको छु। राजनीतिक मुद्दादेखि मानसिक स्वास्थ्य, समाज परिवर्तनका लागि कसरी सोच्ने भन्ने कुरा गीतमार्फत् बुझाउँदै आएको थिएँ।”

आफूले कलामार्फत् उठाउँदै आएको मुद्दालाई मूर्त रूप दिने र व्यवहारमा लागु गर्ने समय भएको उहाँले बताउनुभयो।

आफू कुनै राजनीतिक दलमा संलग्न नभई स्वतन्त्र मेयर हुनुले काम गर्न सहज हुने उहाँको अपेक्षा छ।आफ्नो पेसागत दक्षता र शैक्षिक पृष्ठभूमिले पनि काम गर्न सहज हुने बालेनको दाबी छ।

बालेनका रणनीतिकार
सञ्चारमाध्यममा अन्तर्वाता दिँदा बालेनले ूहामीू भन्ने गर्नुभएको छ र आफूसँग समूह नै भएको बताउँदै आउनुभएको छ।

आफ्नो समूहमा शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, यातायातलगायत सबै क्षेत्रका विज्ञहरू भएको र उनीहरूकै सल्लाह, सुझाव, सहयोग र साथअनुरूप पाँच वर्ष काम गर्ने दाबी उहाँले गर्दै आउनुभएको छ।

“उहाँहरूकै सल्लाहअनुरूप बनाएको योजनालाई प्रतिबद्धतास्वरूप पेस गरेका छौँ।”

केही अन्तर्वार्ताहरूमा उहाँले आफूलाई महावीर पुन र डा. सन्दुक रुइतजस्ता व्यक्तिले विषयगत परामर्श दिएको बताएका छन्।

यद्यपि सम्भवतः नेपथ्यमा बसेर उनलाई पथप्रदर्शन गर्ने तथा निर्वाचनको यो यात्रामा फलदायक रणनीति बनाउन सघाएका हुनसक्ने योजनाकारहरूका बारे बालेन खुलेर बोलिसक्नुभएको छैन।

दलको झण्डा नबोक्दा कस्तो फाइदा ?

कुनै दलविशेषको नभई स्वतन्त्र उम्मेदवार बनेकाले बालेनलाई दलगत राजनीति नरुचाएका युवापुस्ताका मतदाताले रुचाएको स्पष्ट देखिन्छ।

दलीय राजनीतिमार्फत् उम्मेदवार हुँदा पार्टीप्रतिको दायित्व बढी देखाउनुपर्ने र महानगरका जनता एवं सेवाग्राहीप्रतिको जिम्मेवारी पूरा गर्न गाह्रो हुने बालेनको बुझाइ छ।

ूदलमा रहेपछि ठूला नेताले भनेको मान्नुपर्ने र अन्य कार्यकर्तालाई जागिर लगाइदिनुपर्ने। व्यवस्थापन गर्नुपर्ने हुन्छ। स्वतन्त्र रहँदा त्यो दबाव हुँदैन,ू उनले आफूलाई काम गर्न अवरोध नहुने तर्क प्रस्तुत गनुभएको छ।

दलीय अङ्कुश नहुनुले बालेनलाई आफैँलाई पुष्टि गर्ने ठाउँ दिने विश्लेषक महर्जनको पनि बुझाइ छ।

 

मतदान गर्दै बालेन्द्र साह।

बालेन उम्मेदवारीदेखिको परिस्थितिलाई अवसरको रूपमा व्याख्या गर्छन्।

सर्वसाधारण मानिसले संरचनागत परिवर्तनलाई मात्र विकास भनेर बुझ्नु गलत भएको बताउँदै आएका उहाँ भन्नुहुन्छ,ूविकास के हो देखाउने बेला भएको छ। संरचना बन्नु मात्र विकास होइन। म र मेरो समूहले काम कति गर्‍यौँ भन्दा पनि कसरी गर्नुपर्छ भन्ने बुझाउने छौँ।ू

जिम्मेवार व्यक्ति असल र उसको उद्देश्य सही हुनुपर्ने उनको तर्क छ। त्यसमा सक्षम र दक्ष हुनु महत्त्वपूर्ण रहने बताउँछन्।

कस्तो थियो बालेनको रणनीति ?
अन्य उम्मेदवारको तुलनामा बालेनले मेयरमा उठ्ने कुरा केही महिनाअगाडि नै घोषणा गर्नुभयो। यसले उहाँको चर्चा बिस्तारै चुलिँदै जान सहयोग पुर्‍यायो र त्यस समयावधिमा उहाँले आफ्ना उद्देश्य र योजनाहरू बुझाउन पाउनुभयो।

टेलिभिजन च्यानलहरूले पनि उहाँको अन्तर्वाता लिइरहे। त्यसले उहाँलाई काठमाडौंमा मात्र हैन, बाहिर पनि चर्चित बनाइदियो।

बालेनको समूहले सामाजिक सञ्जालकेन्द्रित अभियानहरूमा जोड दियो। सामाजिक सञ्जालका चर्चित समूहहरूदेखि सर्वसाधारणका व्यक्तिगत खाताबाट उनीसम्बन्धी सामग्रीहरू प्रचारप्रसार भएका थिए।

निर्वाचन आयोगले लौरो चुनाव चिह्न दिएपछि उहाँको प्रचारप्रसार अभियान अझ तीव्र गतिमा अगाडि बढ्यो। सो अभियानमा उहाँ निकै संयमित देखिनुभयो।

एमालेका उम्मेदवार तथा पूर्वमेयर केशव स्थापितले भाषण गर्दा बालेनको जातीय पृष्ठभूमितिर सङ्केत गर्दै उहाँको आलोचना गरेको भए पनि बालेनले नमिठो प्रतिक्रिया दिनुभएन।

बरु शिष्टतापूर्वक उहाँले आफ्ना प्रतिद्वन्द्वी केशव स्थापित र सिर्जना सिंह आफ्ना बुवाआमाको उमेरको भएको भन्दै उनीहरूको सपना आफूले पूरा गरिदिने बताउनुभयो।

कला क्षेत्रका चर्चित व्यक्तित्वहरूले पनि बालेनलाई साथ दिए, उहाँका लागि मत माग्नुभयो।

काठमाडौंको फोहोर व्यवस्थापनदेखि प्राचीन नेवाः सम्पदा र संस्कृतिको संरक्षणको विषय उठाएकाले पनि उहाँले युवा पुस्ताबाहेक रैथाने मानिसले विश्वास गरेको धेरैको बुझाइ छ।

मेयरको उम्मेदवार बन्ने योजना

पाँच वर्षअघि भएको स्थानीय चुनावको दिन बालेनले फेसबुकमा आफू निर्वाचनमा उठ्ने आशय व्यक्त गर्नुभएको थियो।

त्यतिबेला अरूले गम्भीरतपूर्वक नलिएको भए पनि फेसबुकको त्यो पोस्ट उहाँले उम्मेदवारी घोषणा गरेपछि चर्चित बन्यो।

यसपालि उहाँले भनेजस्तै भयो। यो पटक उहाँले आफूलाई मतदान गर्नेगरी उम्मेदवार बन्नुभयो।

उहाँलाई काठमाडौं महानगरपालिकाका हजारौँ मानिसले पनि मतदान गरे। उहाँमाथि भरोसा गरे।

विकास र निर्माणबारे उहाँले पाँच वर्षअघि गरेको बाँकी घोषणा चाहिँ उहाँको आगामी कार्यकालले पुष्टि गर्ने छ।

पाँच वर्षपछि काठमाडौं महानगरवासीले यी स्वतन्त्र उम्मेदवारप्रति आफूले गरेको विश्वासको फेरि परीक्षण गर्ने छन्।

विजय निश्चित भएपछि बालेनको प्रतिक्रिया

गन्न मत बाँकीभन्दा उहाँले लिएको अग्रता बढी भएपछि अन्तिम परिणाम नआईकनै बुधवार बिहान उहाँको जित सुनिश्चित देखियो। तेह्रौँ राति बल्ल अन्तिम परिणाम घोषणा भएको छ।

त्यसपछि बालेनले सामाजिक सञ्जालमार्फत् मतदाता र समर्थकहरूलाई धन्यवाद दिनुभयो।

“अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नुभएको छ। यहाँ विश्वासको कुरा छ”, फेसबुकमा उहाँले लेख्नुभएको छ।

“विश्वासमा जित वा हार हुँदैन। जितहारलाई मतगणना सकिएसँगै सकिदिऊँ। घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाऔँला। तर अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने सङ्केतसम्म पनि नगरौँ। यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन।”

बदर मतबाहेक बाँकी ५० प्रतिशतजति मतदाताले अरूलाई छनोट गरेको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ , “हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा सङ्केत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ।”

काठमाडौं महानगरमा १ लाख ९१ हजार जनाले मतदान गरेका थिए।त्यसमध्ये बालेनले सबैभन्दा बढी ६१हजार ७ सय ६७ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

एमालेका केशव स्थापितभन्दा केही बढी मत ल्याएर कांग्रेसकी सिर्जना सिंह(श्रेष्ठ) दोस्रो स्थानमा आउनुभएको छ। दुवै जनालाई बालेनले २३ हजार भन्दाबढी मतले पछाडि पार्नुभएको छ।

सबैसँग सहकार्य गर्नुपर्ने बताउँदै बालेनले अबको बाटो सहज नभएको स्वीकार गर्नुभएको छ।

“हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ। हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्ने छ”, उहाँले लेख्नुभएको छ।

“हामीलाई साथ र सुझाव जति महत्त्वपूर्ण छ, उति नै खाँचो पर्ने छ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला।”

“अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ। हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरू भेटिऊन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकून्, अवसर पाउन सकून्। अबको हाम्रो पहिलो यात्रा काठमाडौँको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडि बढौँ।”

Share Now

Leave a comment.