तारा एयरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त ; उद्धारको लागि नाउरीकोटमा शेर्पाहरु उतारियो
पोखरा(कास्की), १५ जेठ । पोखराबाट मुस्ताड.को जोमसोम उडेको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
विमान भेटिएको स्थानमा उद्धारका लागि शेर्पाको टोलीलाई पठाइएको छ । उनीहरु उच्च हिमाली क्षेत्रका बासिन्दा र पवर्तारोही हुन् ।
पोखरा विमानस्थलबाट गएका कैलाश एयर र डाइनेस्टिको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना स्थलको पहिचान गरेका थिए ।
विमान मुस्ताङको थासाङ गाउँपालिका वडा २, नाउरीकोट गाउँमाथिको मानापाथी हिमालको फेदी, लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जलिरहेको अवस्थामा फेला परेको छ । विमान फेला परेको सूचना स्थानीयले नेपाली सेनाको टोलीलाई दिएका थिए ।
ती हेलिकोप्टरले दुर्घटना स्थल नजिक थासाङ गाउँपालिका वडा नम्बर २, नाउरीकोटमाथि उनीहरुलाई छोडेर फर्किएका छन् ।
छोडिएको स्थानबाट दुर्घटना भएको स्थान पुग्न उनीहरुलाई ३ देखि ४ घण्टाको पैदल यात्रा गर्नुपर्दछ ।
आरोहीहरु आइतबार राति नै सकेसम्म दुर्घटना भएको भनिएको स्थानमा जाने छन् । त्यहाँ उनीहरुले राति टेन्ट गाडेर बास बस्ने तारा एयरलायन्स पोखराले जनाएको छ ।
तारा एयरको नाइन एन एइटी संकेट चिन्हको ट्विन अटर विमान आज बिहानदेखि बेपत्ता भएको थियो ।
बिहान ९ः५५ मा पोखरा विमानस्थलबाट चालक दलका तीन र १९ यात्रुसहित उडेको विमान उडान भरेको केही समयमै सम्पर्कविहीन भएको थियो ।
विमान १०ः१७ मा जोमसोम विमानस्थलमा अवतरण गर्ने भनिएकोमा १०ः११ पछि सम्पर्कविहीन भएको जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माले जानकारी दिनुभयो ।
विमानको खोजीकार्यमा खटिएका मध्यकमाण्ड पोखराका कमाण्डपति उपरथि बाबुराम श्रेष्ठ नेतृत्वको टोलीले स्थानीयलाई उद्धृत विमान मानापाथी हिमालको फेदीमा खसेको जानकारी आएको बताउनुभएको थियो ।
उपरथी श्रेष्ठका अनुसार सेनाको हेलिकोप्टर मौसम खराबका कारण त्यहाँ पुग्न र अवतरण हुन नसक्दा स्थलमार्गबाटै टोली त्यसतर्फ खटाइएको छ ।
को–को थिए विमानमा ?
जहाजमा चालक दलका तीन सदस्य र १९ यात्रु गरी २२ जना थिए । सानो विमानमा प्रायःजसो दुईजना मात्रै पाइलट हुन्छन् । एकजना को–पाइलट र अर्का मुख्य पाइलट । दुर्भाग्य यसमा तीनजना पाइलट परेका छन् । पाइलट वसन्त लामा तारा एयरकै पाइलट हुन् ।
विमान उडाउने पालो वसन्तकै थियो । तर, अपर मुस्ताङ जाने भएकोले साथी प्रभाकर घिमिरेलाई बोलाएपछि प्रभाकर आइतबार बिहानमात्रै काठमाडौंदेखि पोखरा आउनुभएको थियो । मौसमका कारण तेस्रो चौथो फ्लाइट नजाने भएपछि लामाले बोलाउनुभएको थियो र घिमिरेले उडान भर्दा वसन्त यात्रु बनी उड्नु भएको थियो ।
प्रभाकर घिमिरे कहिले पनि शून्य जोखिममा हिँड्ने पाइलटको रुपमा परिचित रहेको तारा एयरका कर्मचारीहरु स्मरण गर्दछन् । आज पनि समिटको जहाज अगाडि लगाएर मात्र उहाँ उड्नुभएको थियो ।
विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सहपाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा हुनुहुन्थ्यो । यात्रुमध्ये वसन्त लामा (पाइलट)सहित वैसवी बान्देकर, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मैकी ग्रिन ग्राफ, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोकुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी र युवे विलनर सवार हुनुहुन्थ्यो ।
यात्रुमा आठजना महिला छन् । १९ यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुईजना जर्मन नागरिक हुन् । नेपालीमध्ये वसन्त लामा काठमाडौं निवासी हुन् । सातजना धनुषा हुन् भने चारजना गोरखा जिल्ला घर भइ हाल काठमाडौं बस्दै आएका हुन् । अर्का एकजना नेपाली ओखलढुङ्गाका हुन् । उहाँ जर्मन नागरिक लिएर टे«किङ गाइडको रुपमा हिँड्नुभएको थियो ।
६ मिनेटै अवतरण हुँदै थियो
तारा एयरको सो विमान अन्तिम सम्पर्कको ६ मिनेटपछि अतवरण हुने अवस्थामा थियो । जोमसोम एयरपोर्टका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले मौसम ठिक छ र हावा ठिक भनी सूचना दिइससकेका थिए ।
त्यसअघि समिट एयरको जहाज जोमसोममा अवतरण भइसकेको थियो । जोमसोम भ्याली प्रवेशको अनुमति पाइलट प्रभाकर घिमिरेले लिइसक्नुभएको थियो ।
पाइलट घिमिरेले मौसमको बारेमा कुरा गर्दा जोमसोम एयरपोर्टले ल्याण्ड गर्न सक्ने अनुमति दिइसकेको थियो । सो जहाज १०ः१७ मा अवतरण गर्ने समय तालिका थियो । जहाज सम्पर्क नभएपछि ५÷७ मिनेटपछि जोमसोम एयरपोर्टमा हल्लाखल्ला बढ्यो ।
समिट एयरका पाइलट अभिनन्दन खड्काले हराएको जहाजका पाइलट प्रभाकरसंग आफ्नो कुरा भइरहेको बताउनुभयो । उहाँले साथी मिसिङ भएको, म धेरै बोल्न चाहन्नँ । तर मौसम भने खराब थिएन । उहाँ तत्कालै पोखरा पुग्न सक्नुहुन्थ्यो । समिटको अर्को जहाज पोखराबाट उडे पनि जहाज मिसिङ भएको खबरले बीचबाटै फर्किएको थियो । जहाज हराएको सूचनापछि खड्का जोससोममै रहनुभयो
आइतबार पोखरा–जोमसोम तीन उडान भएका हुन् । तीमध्ये ताराको जहाज कम्पनीको तर्फबाट पहिलो र तेस्रो उडान रहेको पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताउनुभयो ।


















