काठमाडौं, जेठ १५ गते । नेपाल सरकारले आगामी साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७९ । ८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषण गर्नुभएको हो ।
नेपाली सेना, प्रहरी, शिक्षकलगायतका सबै राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्न तलब वृद्धि गरिएको हो । साथै राष्ट्रसेवक कर्मचारीले यसअघि पाउँदै आएको महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ ।
एक परिवार एक रोजगार
अर्थमन्त्री जनार्दन शर्माले सरकारले एक घर एक रोजगारको अवधारणालाई अगाडि बढाएको बताउनुभएको छ ।
आउने आर्थिक बर्षमा गृहणीलाई उद्यमी गृहणी कार्यक्रम सञ्चालन गरिनेछ, एक घर परिवार एक रोजगारीको अवधारणा अगाडि बढाइनेछ ।
यसबाट एक लाख रोजगारी सिर्जना हुनेगरी स्थानीय तहमा रोजगारी सिर्जना गरिने कुरा बजेटमा उल्लेख छ ।
भूमिहिनलाई एक लाख घर
सरकारले नदी किनाराका गह्रा सधैं हराभरा अभियान सञ्चालन गरिने र भूमिहीनका लागि एक लाख घर बनाइने छ ।
जनता आवास कार्यक्रमका बाँकी काम प्रदेश सरकारमार्फत पूरा गरिनेछ । पुराना सहरका लागि सहर पुनर्जीवन कार्यक्रम सञ्चालन गरिने छ, आगामी आर्थिक वर्ष एक लाख घर निर्माण गरेर भूमिहिनलाई प्रदान गरिनेछ ।
बागमती नदी र धोबीखोलाको बहाबलाई स्थिरीकरण र प्रशोधन गर्ने व्यवस्था गरिनेछ, धरहराको बाँकी कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।
अनलाइन मिडियालाई विज्ञापन
बजेटमा श्रमजीवी पत्रकारलाई प्रदान गरिँदै आएको दुर्घटना बीमा कार्यक्रम र लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
आगामी आर्थिक बर्षदेखि अनलाइन मिडियाले लोककल्याणकारी विज्ञापन पाउनेछन् ।
पूर्वाधार विकासका लागि आवश्यक पर्ने निर्माण सामग्रीको दोहनलाई रोकेर तहगत सरकारलाई जिम्मेवारी दिइनेछ ।
मातृभाषामा पठनपाठन गराउने विद्यालयलाई अनुदान उपलब्ध गराइनेछ । स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
एक लाख उद्यम व्यवसाय थप गरिने
अब एक लाख नयाँ उद्योग तथा व्यवसाय थपिने, एक लाख रोजगारी सिर्जना गर्नका लागि तीन अर्ब रुपियाँ विनियोजन भएको छ । आगामी तीन वर्षभित्र प्रदेश राजधानी वा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ ।
एक परिवार र एक बीमा कार्यक्रम
वित्तीय क्षेत्रलाई राष्ट्रिय पूँजी पहिचानको मुख्य केन्द्र बनाइने, सहुलियतपूर्ण कर्जामा ऋण प्रवाह गर्न १३ अर्ब ५९ करोड विनियोजन, एक परिवार र एक बीमा कार्यक्रम सञ्चालन गरिनेछ ।
६८ वर्षमाथिको ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षबाट ६८ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ ।
यसअघि ७० वर्ष उमेर पुगेका नागरिकलाई मात्र ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था थियो ।
यो वर्षको बजेट साउन १ गतेबाट कार्यान्वयनमा आउने भएकाले सो समयमा ६८ वर्ष पुगेका र नेपाली नागरिकता प्राप्त गरेका नागरिकले वृद्धभत्ता प्राप्त गर्ने छन् ।


















