काठमाडौं , २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष देखिन थालेकोले यसप्रति ध्यानदिन सरकारलाई आग्रह गर्नुभएको छ ।
विश्व वातावरण दिवसको अवसरमा नेपाल पर्वतारोहण संघको वातावरण संरक्षण समितिद्धारा आयोजित कार्यक्रमका वक्ताहरुले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित हुनुभएका संयुक्त राज्य अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका वरिष्ठ बैज्ञानिक तथा प्राध्यापक डा. जोयल बर्गरले संसारको सर्वोच्च हिमाल सगरमाथासहित उच्च हिमालहरु रहेको नेपालको हिमाललाई जलवायु परिवर्तनका नकारात्मक असरबाट जोगाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले हिमाली क्षेत्रका जीव र वनस्पतिको जीवन पनि जलवायु परिवर्तनका असरले जोखिममा पर्ने भएकोले त्यसप्रति पनि उत्तिकै ध्यान दिन आग्रह गर्नुभयो ।
त्यस्तै युनिभर्सिटी अफ कोलोराडोकी अर्की वरिष्ठ बैज्ञानिक प्राध्यापक जोन्ना एलिजावेथले नेपालका सुन्दर हिमाल, हिमाली क्षेत्रको पर्यावरणको संरक्षण गर्न विश्व समुदायले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा २६ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३० वर्ष पहिले सगरमाथाको आधारशिविरमा नै हिउँ जम्ने र हिउँ पगालेर पानी खान पर्ने अवस्था भएकोमा अहिले क्याम्प टू सम्म पानी बगीरहेको देखिने अवस्था भएको बताउनुभयो । उहाँले अहिले त्यसभन्दामाथि पनि ढुंगाहरु देखिन थालेको बताउनुभयो , जुन ठाँउहरु पहिले बर्षैभरी हिउँले ढाकिन्थे ।
उहाँले ग्लोबल वार्मिड.ले हिउँ पग्लेर ग्लेसियर छोटिने, हिमतालहरु फराकिलो हुँदै जाने जस्ता समस्या हिमाली भेगमा देखिन थालेको पनि बताउनुभयो ।
कीर्तिमानी आरोही शेर्पाले हिमाल सफाईको काम निरन्तर गर्न र सगरमाथाको हकमा क्याम्प २,३,४को क्षेत्रमा बढी ध्यान दिन पनि आग्रह गर्नुभयो ।
उहाँले बसन्त आरोहणका लागि सगरमाथाको मार्ग जति चाँडो खुल्यो, त्यति चाँडो सुरक्षित रुपमा आरोहण गर्न सकिने भएकोले यसमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुड.ले संघले स्थापना कालदेखि नै वातावरण संरक्षणलाई महत्व दिएको बताउनुभयो । उहाँले विगत केही बर्षदेखि नेपाली सेनासंग संयुक्त रुपमा हिमाल सफाई अभियान चलाउदै आएको पनि बताउनुभयो ।
कार्यक्रममा संघको वातावरण संरक्षण समितिका संयोजक सार्की तामाड.ले नेपाल पर्वतारोहण संघले हिमाली क्षेत्रको वातावरण संरक्षणको पहल कदमी लिएको बताउनुभयो । उहाँले सन १९९२ देखि संघले थालेका १४ वटा सफाई अभियानमा आफू सरिक भएको उल्लेख गर्दै भन्नुभयो, “संघले मकालु,सगरमाथा,बरुणत्से,कञ्चनजंघा,आमादब्लाम,चोयू, धवलागिरी लगायत हिमालहरु सफाई गरेको छ ।”
नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुड.ले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रममा सगरमाथा आरोही संघका दिवस पोखरेल, वल्र्ड रेकर्ड होल्डर्स सोसाईटीका अध्यक्ष सञ्चबहादुर राईले पनि नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले असर गर्न थालेकोले त्यसका खराब असरबाट जोगिन पर्याप्त अध्ययन,अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल पर्वतारोहण संघले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनबाट परेको असरको अध्ययन गर्न जलवायु परिवर्तन अध्ययन केन्द्र पनि स्थापना गरेको छ ।
एकमात्र पृथ्वी
पर्यावरण जोगाउन, खराब वातावरणीय अवस्था सुधार्न, वातावरणसँग सम्बन्धित मुद्दाबारे सकारात्मक कदम चाल्नका निम्ति संसारभर सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष विश्व वातावरण दिवस मनाइन्छ।
संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रम (युएनइपी)को संयोजकत्वमा हरेक वर्ष जुन महिनाको ५ तारिकमा मनाइने विश्व वातावरण दिवस आज पनि संसारभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
‘वान्ली वान अर्थ’ अर्थात् ‘एउटै पृथ्वीः पृथ्वीको रक्षा सबैको प्राथमिकता’ मुल नारा दिएको यस वर्षको विश्व वातावरण स्विडेनले होस्ट गरेको छ।


















