काठमाडौं, २६ जेठ । अमेरिका सेनाको प्यासिफिक कमान्डका कमान्डर जनरल चार्ल्स ए फिल्न काठमाडौं आइपुग्नुभएको छ।
नेपालको चारदिने भ्रमणका क्रममा आज राजधानी उत्रिनुभएका फ्लेन भारतको चार दिवसीय औपचारिक भ्रमण पूरी गरी नेपाल आउनु भएको हो ।
औपचारिक भेटघाट शुक्रबारदेखि
अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्नुहुने छ ।
बिहीबार अपरान्ह काठमाडौं उत्रेपछि उहाँ होटल हायातमा बस्नुभएको छ। शुक्रबार सुरुमै फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
उच्चस्तरीय भेटका लागि नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले समन्वय गरेका छन्।
शुक्रबार बिहानको खानापछि नेपाली सेनाको मुख्यालय जाने तय भएको छ। सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने छ ।
गार्डअफ अनरपछि उहाँलाई प्रधानसेनापतिको कार्यालय लगिने छ । त्यहाँ नेपाली सेनाको अप्रेसन गतिविधिबारे ब्रिफिङ गरिनेछ। त्यसलगतै प्रधानसेनापति प्रभुराम शर्मा र फ्लिनबीच भेटवार्ता हुनेछ।
General Charles A. Flynn, Commander of the United States Army Pacific Command (USARPAC) of the United States of America, has arrived in Kathmandu on an official visit on June 09, 2022. He was welcomed by Vice Chief of Army Staff (VCOAS) Lt Gen Bal Krishna Karki at the TIA. pic.twitter.com/W3PX6hrpQY
— NASpokesperson (@NaSpokesperson) June 9, 2022
शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले रात्रिभोजको आयोजना गर्नुहुनेछ । रात्रिभोजमा सहभागी भएसँगै फ्लिनका त्यो दिनका कार्यक्रम सम्पन्न हुनेछ।
२८ गते शनिबार बिहान फ्लेनलाई हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा गराइने छ। माउन्टेन फ्लाइटपछि एभरेष्ट भ्यु होटलमा ब्रेकफास्टको कार्यक्रम तय भएको छ। त्यहाँबाट फर्किएपछि दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
जेठ २९ गते आइतबार बिहान उहाँ काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानु हुनेछ। त्यहाँ तालिम केन्द्रबारे उहाँलाई ब्रिफिङ गरिनेछ। बिहानको खाना पनि त्यहीँ हुनेछ। बिहानको खानापछि सिधै उहाँलाई शिवपुरीको आर्मी शिक्षालय लगिने छ।
उहाँले त्यहाँ नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा अध्ययनरत विद्यार्थीलाई सम्वोधन गर्नु हुनेछ।
शिवपुरीको भ्रमणपछि २९ गते बेलुका नै उहाँ स्वदेश फर्किने कार्यक्रम छ ।
प्रधान सेनापति शर्मा आषाढ १३ देखि अमेरिकातिर
प्रधासेनापति शर्माको अमेरिका भ्रमणको तयारी चलिरहँदा फिल्न नेपाल आउनुभएको हो। उहाँले आगामी असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनान र सिरियास्थित मिसनको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उक्त निरीक्षण भ्रमणपश्चात् प्रधान सेनापति शर्माले मित्रराष्ट्र अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ देखि १७ गतेसम्म अमेरिकाको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको निर्देशनालयले जनाएको छ।
प्रधान सेनापतिको भ्रमण सकिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने तयारी छ । भ्रमणको समयतालिका सार्वजनिक गरिएको छैन ।


















