काठमाडौँ, ३१ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा हुने एसीसी ट्वान्टी–२० महिला च्याम्पियनसिपका लागि रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।
प्रतियोगिता यही जुन १७ देखि २५सम्म मलेशियामा हुँदै छ ।
प्रतियोगितामा नेपालसहित हङकङ, कुवेत, भुटान र बहराइन समूह ‘बी’ मा छन् ।
समूह ‘ए’ मा यूएई, आयोजक मलेसिया, ओमान, कतार र सिंगापुर छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।
नेपालले आषाढ ३ मा पहिलो खेल भुटानविरुद्ध खेल्नेछ । त्यसपछि नेपालले आषाढ ४, ६ र ७ मा क्रमशः कुवेत, बहराइन र हङकङविरुद्ध समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।
युवा स्पिनर मनिषा उपाध्यायले पहिलोपल्ट टोलीमा परेकी छन् । गत महिना घरेलु मैदानमा युगान्डासँग टी २० शृंखला खेलेको टोलीबाट हिरन्मयी राय र सरिता मगर अन्तिम टोलीमा परेनन् ।
१५ वर्षीया हिरन्मयीको ट्राभल डकुमेन्ट बन्न नसक्दा टोलीमा नपरेकी हुन् । उनको स्थानमा गण्डकी प्रदेशकी मनीषाले मौका पाएकी छन् ।
अलराउन्डर ममता चौधरीले पुनरागमन गर्दा सरिता टोली बाहिर परिन् । अन्य खेलाडीमा इन्दु बर्मा (उपकप्तान), सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, डली भट्ट, विन्दु रावल, संगीता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ (विकेटकिपर) र सवनम राई छन् ।
टोलीलाई आजै बिदाइ गरिने कार्यक्रम छ ।


















