Prakash Adhikari June 25, 2022

काठमाडौँ ,११ आषाढ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ ।

शनिबार आकास्मिक पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा कटौती गर्दै मूल्य घटाइएको जानकारी दिनुभएको छ ।

मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिनुभएको छ । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।

डिजेलमा मूल्य घटाइएकोले मट्टितेलमा पनि मूल्य घटाउन नेपाल आयल निगमलाई दबाब पर्ने देखिन्छ ।

मिसावट हुने भएकोले निगमले डिजल र मट्टितेलको भाउ समान बनाउने गरेको छ । अहिले डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ रुपैया छ । मट्टितेलमा निगमलाई प्रतिलिटर ४३ रुपैया नाफा भएको आयल निगमको मूल्य सूचीमा उल्लेख गरिएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियो ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो ।

अहिले पेट्रोल प्रतिलिटर रु १९९ रुपैयाँ तथ डिजल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।

इन्डियन आयल कर्पोरेसन ९(आईसोसी) बाट प्रतिलिटर १३१ ।९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले प्रतिलिटर रु १९९ मा खरिद गर्छन् । त्यस्तै प्रतिलिटर १४६। ५२ रुपैयाँमा खरिद गरिएको डिजेल उपभोक्ताले प्रतिलिटर १९२ रुपैयाँमा किन्नुपर्छ ।

हाल पूर्वाधार करबापत पेट्रोल । डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ । सुरुमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका नाममा उठाउन थालिएको करलाई पछिल्लो समय पूर्वाधार निर्माण नामकरण गरिएको छ । उक्त शीर्षकबाट भन्सार बिन्दुमै सरकारले प्रतिलिटर १० रुपैयाँ असुल्छ  ।

नेपाल आयलले प्रतिलिटर पेट्रोलमा ६५ । ६१ रुपैयाँ सरकारी कर थपिन्छ र ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्च थपिदा खुद्रा मूल्य १९९ रुपैयाँ पुग्न जान्छ ।

त्यस्तै, डिजेलमा प्रतिलिटर ४९।५३ रुपैयाँ सरकारी राजस्व लाग्छ । ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित जोड्द प्रतिलिटर १९२ रुपैयाँ मूल्य हुन गएको छ ।

सरकारले मूल्य घटाएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैया कायम हुनेछ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*