Prakash Adhikari June 26, 2022

काठमाडौं, १२ आषाढ। नेपाल कम्युनिष्ट पार्टी एकीकृृत समाजवादीका तर्फबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको फेरबदल भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको हो । प्रधानमन्त्री देउवालाई सरकारको साझेदार नेकपा एकीकृत समाजवादीले आफ्नो दलका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु फेरबदल गर्न सिफारिस गरेको थियो ।

नेकपा समाजवादीले गत बर्ष सरकारमा सामेल हुँदा आफ्नातर्फबाट सरकारमा जाने प्रतिनिधिहरुलाई ६ महिनामा फिर्ता बोलाउने र नयाँ मन्त्रीहरु नियुक्त गरिने कबुलियतनामा गराएको थियो ।

सो कबुलियतनामा अनुसार सो पार्टीबाट पहिलो चरणमा सरकारमा गएका सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बढुवा गर्ने निर्णय गरेको थियो ।

 

सचिवालय समिति बैठकले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीले जेठ २२ गते मन्त्री फेर्ने निर्णय गरेको थियो तर पुराना मन्त्री फिर्ता हुन नमानेपछि नयाँ मन्त्रीले शपथ लिन पाएका थिएनन् ।नेकपा एकीकृत समाजवादीको सचिवालयले गरेको निर्णयलाई स्थायी समिति र केन्द्रीय समितिको बैठकले पनि अनुमोदन गरेपछि पद छोड्न अप्ठ्यारो मानिरहेका मन्त्रीहरुमाथि थप दबाब परेको थियो भने पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्रीमाथि गठबन्धनको औचित्यमा पुनर्विचार गर्ने सम्मको घुर्कीको भाषा बोल्नु परेको थियो ।

नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।

Share Now

Leave a comment.