Prakash Adhikari June 26, 2022

 

काठमाडौं, ११ आषाढ । नेपाल सरकारले अमेरिकाको उथाह राज्यको नेशनल सेक्युरिटी गार्डसंगको राज्य साझेदारी कार्यक्रम(स्टेट पार्टनरसीप प्रोग्राम,एसपीपी) लाई अगाडि नबढाउने निर्णय गरेपछि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग बेग्लाबेग्लै अर्थपूर्ण भिडियो वार्ता गरेको समाचार सार्वजनिक भएको छ।

चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भिडिओ कुराकानी गर्नुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीपसी) को विदेश विभागले आफ्नो वेबसाइटमार्फत दिएको जानकारी अनुसार वार्ता पछि दुई देशका कम्युनिष्ट पार्टीहरुबीच आदानप्रदान र सहयोगको समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।

दुईदुई पटक प्रधानमन्त्री भैसक्नुभएका प्रचण्ड र ओलीसंग सीमाना जोडिएको उत्तरतिरको छिमेकी मित्र राष्ट्रको सत्तारुढ कम्युनिष्ट पार्टीले के कस्तो समझदारी पत्रमा हस्ताक्षर गराएको हो, त्यो अत्यन्त गम्भीर चासोको विषय भएको कुटनीतिक क्षेत्रमा चर्चा छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकृत भएर नेपाल कम्युनिष्ट पार्टी भएको समयमा चिनिया कम्युुनिष्ट पार्टीको विदेश विभागसंग नेपालमा माओवादी विचारधारा र कम्युनिष्ट विचारधारा फैलाउनका लागि प्रशिक्षण सञ्चालन गर्न चिनिया कम्युनिष्ट पार्टीले सहयोग गर्ने सझदारी भएको थियो । उक्त समझदारी अन्तरगत कति रकम आयो र कतिवटा प्रशिक्षण भयो ? त्यसको जानकारी न तात्कालिन नेपाल कम्युनिष्ट पार्टीले दियो न चिनिया कम्युनिष्ट पार्टीले नै । तर जब अमेरिकाले मिलिनियम च्यालेञ्ज कर्पोरेशनको सहयोग कार्यक्रम अन्तरगत नेपाललाई प्रशारण लाईन निर्माण र सडक विस्तार एवम् मर्मत संभारमा दिएको ६० अर्ब नेपाली रुपैयाभन्दा बढीको अनुदान सहयोग संझौता संसदबाट पारित गर्ने कुरा उठ्यो, देशभर त्यसको विपक्षमा माहोल सिर्जना गरियो ।

सरकारमा बसेका कम्युनिष्ट नेताहरु नै सडकमा उत्रिएर विरोधमा उफ्रिए ।

अहिले चीनले गरेको समझदारीमा के छ ? आर्थिक सहयोगको कुरा मात्रै हो कि, वैचारिक प्रशिक्षण दिने कुरा पनि छ कि सहयोगको क्षेत्रले के के समेटेको छ ? यसलाई विदेशी हस्तक्षेप भन्न मिल्छ मिल्दैन ? आदि प्रश्नहरु कुटनीतिक वृत्तमा उठेका छन् ।

सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाले तात्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अस्तित्व अलग अलग भएको फैसला आएपछि चीनले दुवै पार्टीका नेताहरुलाई बेइजिड. बोलाएर पुनः एकता गर्न दबाब दिएको थियो ।

नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुड.ले सो कुरा सार्वजनिक रुपमा खुलस्त भनिसक्नुभएको पनि छ ।

 

हालै चिनिया कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखमा नियुक्त हुनुभएका लिउ जियानचाओले ‘चीन र नेपालका शीर्ष तहमा भएका महत्वपूर्ण सहमती कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, ठूला परियोजना सक्रिय रूपमा अघि बढाउन र ‘बेल्ट एण्ड रोड’ अवधारणाअन्तर्गत विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य अघि बढाउन चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताउनुभएको थियो।

चिनियाँ नेता लिउले चिनियाँ कम्युनिष्ट पार्टी, माओवादी केन्द्र र एमालेका विचार र भावना समान रहेको बताएका बताउँदै दुवै पार्टीसँगको आपसी सम्बन्धलाई थप सुदृढ गर्न तथा जनस्तरको सम्पर्क बढाउन चाहेको बताउनुभएको थियो।

उहाँले चिनिया कम्युनिष्ट पार्टीको महासचिव समेत रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१९ मा सम्पन्न नेपालको ऐतिहासिक भ्रमणपछि दुई देशबीचको सम्बन्ध विकास र समृद्धिको लागि रणनीतिक साझेदारीमा स्तरोन्नति भएको र द्विपक्षीय सम्बन्ध द्रूत विकासको नयाँ युगमा प्रवेश गरेको समेत बताउनुभएको थियो।

 

‘हामी छिमेकी मुलुक एक अर्काको मुख्य चासोको सम्मान गर्नुपर्छ। यहाँहरूले दुई देशबीचको स्वस्थ र स्थिर विकासलाई प्रबर्धन गर्न भूमिका खेल्नुहुनेछ भन्ने विश्वास छ’ लिउले भन्नुभएको थियो।

निकट भविष्यमा हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनले चीनको विकासको खाका तयार गर्नुका साथै नेपाल–चीन सम्बन्धको विकासमा नयाँ गति दिने पनि उहाँले बताउनुभएको थियो।

 

भिडिओ वार्तामा दाहाल र ओलीले नेपाल र चीनबीचको मित्रता चिरस्थायी रहेको बताउदै कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिमा संलग्न हुन नेपाली भूमि प्रयोग गर्न कहिल्यै अनुमति नदिने प्रतिवद्धता जनाउनुभएको थियो।

‘चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी लामो सङ्घर्षका मुख्य उपलब्धि र ऐतिहासिक अनुभवले नेपाली राजनीतिक पार्टीका लागि महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ’ त्यसक्रममा दाहाल र ओलीले भन्नुभएको थियो। दाहाल र ओलीले चिनियाँ कम्युनिष्ट पार्टीसँग ‘बेल्ट एण्ड रोड’ अवधारणाको संयुक्त निर्माण लगायत क्षेत्रमा सहयोग सुदृढ गर्न र दीर्घकालीन सम्बन्ध विकास गर्न आफूहरु इच्छुक रहेको समेत बताउनुभएको सीपीसीले आफ्ने वेभसाइटमा जनाएको छ।

‘हामी नेपाल–चीन सम्बन्धको स्थिर विकास चाहन्छौं। हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको अपेक्षा र कामना गर्दछौं’ दाहाल र ओलीले भन्नुभएको थियो।

चीनले नेपालले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेकोमा प्रशंसा गरेको थियो।

बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वेनबिनले एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयबारे भन्नुभएको थियो, ‘नेपालको मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार चीन नेपाल सरकारको उक्त निर्णयको प्रशंसा गर्छ।’

‘नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई कायम राख्न, स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिवद्धतालाई चीनले समर्थन गरिरहनेछ। क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्न चीन तयार छ,’ प्रवक्ता वेनबिनले भन्नुभएको थियो।

Share Now

Leave a comment.