काठमाडौं, १३ आषाढ। नेकपा एकीकृत समाजवादीको सिफारिसका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नियुक्तिका लागि सिफारिस गर्नुभए अनुसार आइतबार राष्ट्रपतिबाट नियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान शपथ ग्रहण गराउनुभएको हो ।
जसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षा र हिराचन्द्र केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएसँगै पाँचै जनाले शपथ ग्रहण गर्नुभएको हो ।
राज्यमन्त्री केसीलाई भने प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराउनुभयो ।
नवनियुक्त मन्त्रीहरुले आजै पद बहाली गर्नुभएको छ ।
खापुङ भने यसअघि स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो । उहाँको पदोन्नति हुँदा पर्यटनमन्त्री प्रेम आले , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमार झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ मन्त्रीबाट फिर्ता हुनुभएको छ ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति भण्डारी‚ उपराष्ट्रपति नन्दकिशोर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवा‚ सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।
समाजवादीको सचिवालय बैठकले गत जेठ २२ गते नै मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । तर पटक पटक निर्णय गरे पनि पुराना मन्त्रीले पद नछोडेपछि नयाँ मन्त्री थप्ने प्रक्रिया अघि बढ्न सकेको थिएन ।
गत जेठ २२ गते चार जनालाई मन्त्री बनाउने निर्णय भएसँगै प्रधानमन्त्री देउवालाई नामावली पनि पठाइएको थियो ।


















