Prakash Adhikari June 27, 2022

बर्लिन(जर्मनी), १३ आषाढ (एजेन्सी) । जी ७ मुलुकका नेताले आइतबार आगामी ५ वर्षमा विकासशील मुलुकमा भौतिक संरचना निर्माणको लागि ६ खर्ब डलर उठाउने भएका छन्।

आइतबारको बैठकमा उनीहरुले निजी र सार्वजनिक कोषमार्फत उक्त रकम उठाउने बताएका छन्।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई०लाई चुनौती दिन जी७ का मुलुकले यस्तो योजना अघि सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

जर्मनीमा आयोजना भइरहेको जी ७ का नेताहरुको बैठकमा ‘पार्टनरसिप फर ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेस्टमेन्ट’ कार्यक्रम पुनः सार्वजनिक गरिएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो योजनाका लागि अमेरिकाले २ खर्ब डलरबराबरको रकम सहयोग गर्न सक्ने बताउनुभएको छ।
उहाँले अनुदान, संघीय कोष र निजी लगानीको रकम यो योजनामा सहयोगको लागि प्रयोग गर्न सकिने बताउनुभएको हो।

अहिले घोषणा गरिएअनुसारको योजना कम र मध्यम आय भएका मुलुकमा जलवायु परिवर्तनको असर न्यूनीकरणका साथै विश्वव्यापी स्वास्थ्य सुधार, लैङ्गिक समानता र डिजिटल संरचना निर्माणको लागि पनि प्रयोग गरिनेछ।

अमेरिकी राष्ट्रपति बाइडेनले यो कुनै सहयोग वा च्यारिटी नभई लगानी हुने र यसको प्रतिफल सबैले पाउने बताउनुभयो।

प्रजातान्त्रिक मुलुकबीच हुने यस किसिमको सहकार्यले सबैलाई फाइदा पुग्ने उहाँको विश्वास छ।

 

Share Now

Leave a comment.