मलेशियाको क्रिकेट मैदानमा नेपाली चेलीको आँशु, धोका मौसमले दियो कि एम्पाएर र रेफ्रिको हतारको निर्णयले
काठमाडौं, १३ आषाढ । मलेसियामा आयोजित एसीसी महिला टी२० च्याम्पियनसिपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ।
मलेसियामा भएको टी२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेल वर्षाले रद्द भएपछि नेपाली टोलीको प्रतियोगिताको यात्रा रोकिएको थियो । सेमीफाइनलमा आफ्नो बलिड.अर्थात इनिड. आरम्भ नै गर्न नपाईकन मैदानमा भिडिरहेको प्रतिस्पधी फाइनलमा पुग्ने निर्णय गर्दा नेपाली चेलीहरु भक्कानिएका थिए ।
Ashmina Karmacharya: 3.5-0-10-5#NEPvsUAE pic.twitter.com/5vZPGI78KO
— CAN (@CricketNep) June 24, 2022
टस जितेर पहिले फिल्डिङ गरेको नेपालले प्रतिस्पर्धी यूएईविरुद्ध जमेर खेलेका थिए । उनीहरुले जम्मा ८१ रनमा युएईलाई अल आउट गरे । तर पहिलो इनिड. सकिने बित्तिकै पानी पर्यो ।
सोही दिन अपरान्ह ३ बजेदेखि हंगकंग र आयोजक राष्ट्र मलेशियाको दोस्रो सेमिफाइनल थियो ।
इनिडं ब्रेकको समय सकिने बेलामा रेफ्रिहरुले खेल मैदान अवलोकन गरी बर्षाका कारण दोस्रो इनिङ्ग सुरु हुन नसक्ने ठहर गर्दै खेल रद्द गरिदिए । खेल रद्द भएकोले लिग चरणको खेलको आधारमा अर्थात समूह विजेताको रुपमा यूएई सीधै फाइनलमा जाने बाटो खुल्यो ।
यसमा नेपाल र युएईको सेमिफाइनल खेलमा एम्पाएरको भूमिकामा रहेका आयोजक मलेशियाका विश्वनन्दन कालिदास र हंगकंगका तबारक दार, जगेडा एम्पाएर मलेशियाका नारायनन शिभान र खेलका रेफ्रि मलेशियाका रमेश मेननले हतार गरेका स्पष्ट देखिन्छ । किनकी सोही दिनको दोस्रो सेमिफाइनलका दुवै इनिड. ११ । ११ ओभरमा खेलिए ।
नेपाल र यूएईको दोस्रो इनिड. ओभर घटाएर खेलाउन सक्ने संभावना थियो । बर्षाको कारणले दोस्रो सेमिफाइनलको समय सार्न सकिन्थ्यो । टी २० प्रतियोगिताको लागि दोस्रो सेमी फाइनललाई एक दुई घण्टा सारेको भए पनि खास असर पर्ने थिएन । खेल निर्धारित दिनमा नै सकिन्थ्यो । त्यसो गरेको भए त्यस दिन नेपाली चेलीले खेल जित्ने संभावना ज्यादा थियो । किनकी बलियो मानिएको यूएईलाई उनीहरुले ८१ रनमा रोकेका थिए ।
नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डे यसलाई नेपालीको दुर्भाग्य र मौसमको अवरोधको रुपमा लिन रुचाउनुहुन्छ ।
उहाँका अनुसार अर्को इनिड. सुरु नभएको अवस्थामा खेल रद्द गर्ने अधिकार रेफ्रिलाई हुन्छ । खेलहरु समयमा सक्नुपर्ने भएकोले उहाँहरुले त्यस्तो निर्णय गर्नुभयो होला । त्यो उहाँहरुको स्वविवेकीय अधिकार हो । दोस्रो सेमिफाइनल आयोजक राष्ट्रकै टिम पनि परेकोले उहाँहरुले मैदान खेल्न योग्य बनाउन अतिरिक्ति प्रयास गर्नुभएको पनि हुन सक्छ ।
एक दिवसीय खेलमा भने पहिलो इनिड.पछि बर्षा भएमा ८ घण्टा प्रतीक्षा गर्नुपर्ने नियम छ तर टी २० को हकमा भने त्यस्तो स्पष्ट नियम छैन ।
त्यस दिन पहिलो इनिड.मा यूएईलाई ८१ रनका रोकेका चेलीहरुमा आफ्नो इनिड.मा यूएईलाई जितेर फाइनलमा जाने उत्कट चाहना थियो । नेपाली खेलाडीहरु असाध्यै उत्साही पनि थिए ।
नेपाली चेलीहरुको फाइनल यात्रामा हंगकंगसंगको पराजय पनि बाधक बन्यो । समूह चरणमा नेपालले भुटानलाई ५० तथा कुवेतलाई २५ रनले हराएको थियो। तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गरेको नेपाल हङकङसँग भने ७ विकेटले पराजित भएको थियो।
जबकी सेमीफाइनलमा नेपालसंग प्रतिस्पर्धा गरेको यूएई अपराजित रहदै समूह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।




















