भीमदत्तनगर(कञ्चनपुर), १४ आषाढ । नेपाल र भारतबीच महाकाली सन्धि भएको २७ वर्षपछि टनकपुर बाँधबाट नेपालले सिंचाईको लागि नियमित पानी पाउने भएको छ ।
एकीकृत महाकाली सन्धी अनुरुप टनकपुरबाट नेपालतर्फ पानी ल्याउन महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत निर्माण गरिएको को मूल नहरमा असार १३ गते सोमबार पानी परीक्षण गरिएको छ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको भारतले निर्माण गरेको १२ सय मिटर मूल नहरमा सोमबार पानी परीक्षण गरिएको हो।
भारततर्फको टनकपुर ब्यारेजदेखि नेपालतर्फको १२ सय मिटरमा अहिले पानी परीक्षणको काम भइरहेको आयोजना निर्देशक रणबहादुर बमले जानकारी दिनुभएको छ।
‘नहर परीक्षणका लागि भारतले जम्मा गरेको पानी रोक्दै छाड्दै गरेको छ,’ उहाँले भन्नुभयो, ‘असार १५ गते धान दिवसका अवसरमा नहर सञ्चालन गर्ने गरी काम भइरहेको छ। त्यो दिन यो आयोजनाको पानीले कुनै न कुनै ठाउँमा रोपाइँ गर्ने कार्यक्रम बनाएका छौं।’
सन्धिअनुसार भारतले बनाएको १२ सय मिटर मूल नहरमा भारत आफैँ पानी परीक्षण गरिरहेको छ।
आयोजनाका निर्देशक बमका अनुसार पानी थुनिएको छ । त्यसलाई एकैपटक छाड्दा नहर संरचनामा क्षति पुग्न सक्ने र लिकेज पनि हेर्नुपर्ने भएकाले अलि, अलि गरेर पानी छाड्ने काम भइरहेको छ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका अनुसार १८.५ किलोमिटर ब्रम्हदेवदेखि बगुन खोलासम्म मूल नहरको निर्माणको सम्पूर्ण काम सम्पन्न भएको छ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत आर्थिक वर्ष २०६३।०६४ सालदेखि निर्माण सुरु भएको मूल नहरमा निर्माण थालिएको थियो ।
भारततर्फको टनकपुर ब्यारेजदेखि नेपालतर्फ २५ किलोमिटर मूल नहरमा पानी सञ्चालन हुने आयोजना कार्यालयले जनाएको छ ।
नहर निर्माणमा ढिलाई हुँदा टनकपुर बाँधबाट नेपालले पाउनुपर्ने पानी २६ वर्ष बितिसक्दा पनि पाउन सकेको थिएन ।
जलस्रोत विकासमा आपसी मैत्री तथा घनिष्ठ छिमेकीपनको सम्बन्ध प्रवर्द्धन गर्ने प्रतिवद्धताअनुसार २९ माघ २०५२ मा नेपाल–भारतबीच ‘शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजनासमेत महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि’ हस्ताक्षर भएको थियो ।
सन्धिले महाकाली नदीको पानीको उपयोगसम्बन्धमा पक्षहरूको दायित्व, अधिकार एवं कर्तव्यलाई परिभाषित गरेको छ । सन् १९२० को पत्राचार सन्धिअनुसार भारतद्वारा निर्मित शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर परियोजनाबारे सन्धिमा सहमति जुटाइएको थियो ।
सन्धि अनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रति सेकेन्ड तथा सुख्खा याममा ८.५० घनमिटर प्रति सेकेन्ड पानी पाउनुपर्छ।
यो पानी उपयोग गर्नका लागि नेपालले १५२ किलोमिटर लामो मूल नहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नु पर्छ। तर नहर निर्माण कार्य सुस्त गतिमा हुँदा सन्धि अनुसार पाउनु पर्ने पानी नेपालले पाउन सकेको छैन।
दुई वर्षअघि राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएपछि भने महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिएको छ।
नेपालको संविधन २०४७ को संविधानको धारा १२६(२) मा नेपालको सिमाना र प्राकृतिक स्रोतको उपयोगको बाँडफाँटसम्बन्धी सन्धि–सम्झौता संसद्को दुईतिहाइ बहुमतबाट पारित हुनुपर्ने व्यवस्था भएका कारण महाकाली सन्धि अनुमोदन प्रक्रियामा गएको थियो ।
अनुमोदनका लागि ४ साउन २०५३ मा संसद्मा दर्ता भएको महाकाली सन्धि संसद्मा २७ भदौ ०५३ मा निर्णयार्थ पेस हुनुपर्नेमा तीन पटकसम्म रोकिएको थियो ।
२०५३ असोज ४ गते मध्यरातमा संसद्को संयुक्त बैठकबाट महाकाली सन्धि दुईतिहाइ बहुमतले पारित भएको थियो ।


















