Prakash Adhikari June 30, 2022

काठमाडौं, १६ आषाढ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) र रोयल हेरिटेज अस्ट्रेलियाबीच उक्त अभ्यास खेल खेल्ने सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार नेपाली क्रिकेट टोलीले हरेक वर्ष अष्ट्रेलियामा १० दिन क्रिकेट अभ्यास गर्नेछ । नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय क्यालेन्डरमा प्रभावित नहुने गरी खेल आयोजना गर्न दुवै पक्ष सहमत भएको संझौतामा उल्लेख गरिएको छ ।

क्यानका जनरल म्यानेजर विक्रान्त खनाल र रोयल हेरिटेजका तर्फबाट स्वतन्त्रप्रताप शाहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
रोयल हेरिटेजले अस्ट्रेलियाको स्टेट टिमसम्मको खेल खेलाउने प्रयास गरेको छ ।

क्यानका महाप्रबन्धक वृतान्त खनालले नेपाली टोलीले अस्ट्रेलियाका स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने जानकारी गराउनुभएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिम हाल आइसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानडा भ्रमणमा गएको छ । नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ ।

त्यसपछि नेपालले स्कटल्याण्डमा हुने विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृखला खेल्नेछ ।

स्कटल्याण्डमा लिग टू अन्तर्गत नेपालले घरेलु टोली स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ ।

Share Now

Leave a comment.