किएभ(युक्रेन), १६ आषाढ । युक्रेन रुस युद्धमा रणनीतिक हिसाबमा महत्त्वपूर्ण रहेको स्नेक आइल्यान्डबाट रुसी फौज पछाडि हटेको छ।
युक्रेनले आफ्नो आक्रमणका कारण रुसी सेना भागेको दाबी गरेको छ भने रुसले संयुक्त राष्ट्रसङ्घलाई युक्रेनबाट ‘कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रशस्त गर्न’ त्यहाँबाट हटेको बताएको छ।
युक्रेनको किनारबाट ४० किलोमिटरको दूरीमा ब्ल्याक सीमा रहेको स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ।
युद्धको सुरुमै रुसी पानीजहाजविरुद्ध त्यहाँस्थित युक्रेनी सैनिकहरूले लडेको कारण चर्चित बनेको स्नेक आइल्यान्डमा अहिले युक्रेनी नियन्त्रणमा आउनुलाई युद्धको महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ।
युक्रेनको दाबी
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रे येरमकले ट्विटरमा लेख्नुभएको छ, ‘स्नेक आइल्यान्डमा अब रुसी सैनिक छैनन्। हाम्रो सशस्त्र शक्तिले महान् कार्य गरे।’
त्यस्तै युक्रेनको दक्षिण सैन्य कमान्डले विजय दाबी गर्दै भनेको छ: ‘रातको बेला हाम्रो क्षेप्यास्त्र र हतियारको प्रहार सहितको सफल सैन्य कारबाहीको नतिजा स्वरूप विरोधीहरू दुई डुङ्गामा हतारहतार बाहिरिए.. अहिले यो आगो र विस्फोटले छोपिएको छ।”
युक्रेनमा सशस्त्र बलहरूका प्रमुख जेनरल भालेरी जुलुजेन्यीले ‘युक्रेनी भूभागको रक्षा गर्न सघाएका सबैलाई’ धन्यवाद दिनुभएको छ।
उहाँले रुसी सेनालाई युक्रेनी क्षेप्यास्त्र, हतियार र हवाई आक्रमण थेग्न गाह्रो परेको बताउनुभयो।

स्नेक आइल्यान्ड
उहाँले युक्रेनका विदेशी सहायतादाताहरूलाई ूपराजयको साधनू प्रदान गरेकोमा धन्यवाद दिनुभएको छ।
रुसको भनाइ
रुसको रक्षा मन्त्रालयले भने आफ्नो कदमले ‘युक्रेनबाट कृषि उत्पादन निर्यात गर्न मानवीय मार्ग खोल्ने संयुक्त राष्ट्रसङ्घको प्रयासमा रुसले बाधा नपारेको’ देखाएको बताएको छ।
उसले यो निर्णयपछि किएभले ‘ब्ल्याक सीको उत्तर-पश्चिम क्षेत्रमा रहेको रुसको नियन्त्रणको कारण’ अन्न निर्यात गर्न नसकेको दाबी गर्न नपाउने बताएको छ।
रुसलाई कठिन
स्नेक आइल्यान्डमा नियन्त्रण राखिराख्न रुसलाई कठिन भएको रक्षासम्बन्धी रोयल युनाइटेड सर्भिसेज इन्स्टिट्यूटका जस्टिन ब्रोन्कले बताउनुभएको छ ।
ब्रोन्कका अनुसार युक्रेनले त्यहाँ प्राविधिक रूपमा सिर्जनात्मक आक्रमण गर्दै रुसी प्रणालीलाई ध्वस्त गर्दै आएको थियो।
त्यस कारण रुसले नियमित जसो त्यहाँ नयाँ रक्षा प्रणाली ल्याउनु पर्ने आवश्यकता भयो र त्यस्ता जहाजहरू पनि युक्रेनी आक्रमणको निशानामा परेका थिए।
“निकै सानो टापु भएको कारण त्यहाँ सुरक्षित सैन्य शिविर राखिरहन सहज छैन”, ब्रोन्कले भन्नुभयो।


















