वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १७ आषाढ । अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले वाशिङ्टनस्थित राष्ट्रिय रक्षा विश्वविद्यालयको भ्रमण गर्नुभएको छ ।
असार १३ गतेबाट अमेरिकाको औपचारिक भ्रमण सुरु गर्नुभएका प्रधान सेनापति शर्मासहित भ्रमणदलका सदस्यहरुले बुधबार राष्ट्रिय रक्षा विश्वविद्यालयको अवलोकन भ्रमण गर्नुभएको हो ।
भ्रमणका क्रममा प्रधान सेनापति शर्माले नेश्नल वार कलेज (एनडब्ल्यूसी)का कमाण्डेण्ट ब्रिगेडियर जनरल जेफ हर्लबर्टसँग भेटवार्ता गर्नुभएको थियो । लगत्तै शर्माले कलेजका ड्वीट डी, राष्ट्रिय सुरक्षा र संसाधन रणनीतिको लागि आइजन्सआवर स्कूल र रणनीतिक अध्ययनको लागि पूर्वी दक्षिण एसिया केन्द्रका पदाधिकारीहरुबाट शैक्षिक गतिविधि र तालिमलगायतका विविध पक्षमा जानकारी लिनुभएको थियो ।
असार १४ मा प्रधानसेनापति शर्माले पेन्सलभेनियास्थित संयुक्त राज्य आर्मी वार कलेज र संयुक्त राज्य आर्मी हेरिजेट एण्ड एजुकेशन सेन्टरको भ्रमण गर्नुभयो ।
प्रधानसेनापति शर्मा र संयुक्त राज्य आर्मी वार कलेजका कमाण्डेन्ट मेजर जनरल डेभिड सी हिलसँग भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो कलेजबाट अहिलेसम्म १६ जना नेपाली सेनाका अधिकृतहरु दीक्षित भएका छन् ।
नेपाली सेनाका एक जना महासेनानी हाल सो कलेजमा तालिमरत छन् ।


















