Prakash Adhikari July 1, 2022

 

काठमाडौं, १७ आषाढ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ असार २७ गते सोमबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उक्त बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई आमन्त्रण गरिसकिएको जानकारी दिनुभएको छ ।

मुख्य सचिव पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा हुने छ ।

बिहिबार बसेको नेपाली कांग्रेस स्थानीय निर्वाचन केन्द्रिय परिचालन समितिको बैठकले आगामी केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरिसकेको छ । केन्द्रीय समितिमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिले पनि प्रतिवेदन बुझाउने बुझिएको छ ।

केन्द्रीय समितिको आगामी बैठकमा संस्थापन विरोधी समूह आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरिरहेको छ ।

बिहिबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठकमा पार्टीको विभाग तथा केन्द्रीय समिति र भातृ तथा शुभेच्छुक संगठनहरुको गठनमा भएको विलम्ब, नियुक्त भएका पदाधिकारीका सम्बन्धमा परामर्श नभएका विषय र आगामी प्रदेश र संघको निर्वाचनको विषयमा संस्थापन पक्षमाथि खनिने सम्बन्धमा तयारी गर्ने बुझिएको छ ।

बिहिबारको बैठक साँझ ५ बजेमात्र शुरु भएकोले आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।

बिहीबारको बैठकमा देशको समसामयिक राजनीति, पाँच दलीय गठबन्धन, देशको आर्थिक अवस्था र संघीय र प्रदेशसभा निर्वाचनबारे छलफल भएको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिनुभएको थियो।

बैठकमा केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, सरिता प्रसाई गोविन्द पोखरेल, चन्द भण्डारी, रामकृष्ण यादव, किरण यादव, रंजित कर्ण भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य, जगदीशनरसिंह केसी, सञ्जयकुमार गौतम र प्रतिमा गौतम पनि उपस्थित हुनुहुन्थ्यो।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*