ओटावा(क्यानडा), १८ आाषाढ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी एघारलाई ६९ रनले पराजित गरेको छ।
शनिवार विहान सम्पन्न खेलमा नेपालले दिएको २ सय २१ रनको लक्ष पछ्याएको एमएलसीसी एघारले ४२.५ ओभरमा १ सय ५१ रन मात्र बनायो।
एमएलसीसीको लागि रियाजखान पठानले सर्वाधिक ३६, नरेश बुढायरले २९, निकोलस मनोहरले २५ तथा जश शाहले २० रन बनाए।
क्यानडालाई रोक्न नेपाली राष्ट्रिय टिमका अफ स्पिनर पवन सर्राफले ३तथा किशोर महतो , आरिफ शेख र दिपेन्द्र ऐरीले समान २ । २ विकेट लिए।
यस पहिले टस जितेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट क्षतिमा २ सय २० रन बनाएको थियो ।
नेपालको लागि बिनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए । ओपनर आसिफ शेखले ४२ रन बनाए । त्यस्तै देव खनालले २७, बसिर एहमदले २४, दिपेन्द्र ऐरी र आरिफ शेखले समान १९, कुशल भुर्तेलले १३ तथा आदिल आलमले १० रन बनाए।
एमएलसीसीको बलिंगमा शिल पटेलले सर्वाधिक ३ विकेट लिए।
क्यानडा भ्रमण अन्तर्गत नेपालले अब क्यानडासंग तीन वटा एकदिवसीय खेल्नेछ। नेपालले पहिलो एकदिवसीय जुलाई ३ तथा दोश्रो एकदिवसीय जुलाई ५ तारिखमा र तेस्रो खेल जुलाई ६ मा खेल्ने छ ।
क्यानडामा सिरिज खेलेर नेपाली टोली उतैबाट नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित आईसीसी विश्वकप लिग–२ अन्तरगतको त्रिदेशीय श्रृखला खेल्न स्कटल्यान्ड जानेछ ।
स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।
नेपालका राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेको नेतृत्व रहेको आईसीसी लिग–२ को नेपाली टोलीमा , रोहित पौडेल (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी रहेका छन् ।


















