Prakash Adhikari July 5, 2022

लुभुघाट(रामेछाप), २१ आषाढ । रामेछाप जिल्लाको लुभुघाटमा मङ्गलवार बिहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको र कम्तीमा दुई दर्जन मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्। मृतकमध्ये आठ पुरुष र पाँच महिला छन्।

रामेछापका प्रमुख जिल्ला अधिकारीले नौ जनाको घटनास्थलमा मृत्यु भएको बताउनुभएको छ।

उपचारका लागि धुलिखेल पुर्‍याइएपछि तीन पुरुष र एक महिलाको मृत्यु भएको काभ्रे प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये २२ जनालाई उपचारका लागि धुलिखेल र तीन जनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारीले दीपककुमार पहाडीले बताउनुभयो।

सुनापति गाउँपालिकाको केन्द्रका रूपमा रहेको हिलेदेवीबाट काठमाडौंका लागि हिँडेको केही बेरमै उक्त बस सडकबाट तल खसेको बताइएको छ।

यात्रुहरूको सनाखत अझै पूरा भइनसकेको भए पनि बसमा सवार अधिकांश यात्रु स्थानीयवासी रहेको जानकारी प्राप्त भएको पहाडीले बताउनुभयो।

कसरी भयो दुर्घटना

प्रमुख जिल्ला अधिकारी पहाडीका अनुसार दुर्घटनाको स्पष्ट कारण हुन सकेको छैन।

तर ठाडो घुम्तीमा गाडीले मोड लिन नसकेपछि दुर्घटना भएको देखिएको जानकारी घटनास्थलबाट प्रहरीले दिएको उहाँले बताउनुभयो।

प्रहरीले गाडी ४०-५० मिटर तल खसेकोू जानकारी गराएको उहाँ बताउनुहुन्छ।

राससले सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङलाई उद्धृत गर्दै दुर्घटनाग्रस्त गाडी अघिल्लो दिन ब्रेक फेल भएको जनाएको छ।

सडक दुर्घटनासम्बन्धी तथ्याङ्क

  • बर्सेनि सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्याः साढे १३ लाख
  • विश्वभरि सडक दुर्घटना ५-२९ वर्ष उमेर समूहको ज्यान जानुको प्रमुख कारण
  • दैनिक सडकमा संसारभरि ज्यान गुमाउनेको सङ्ख्याः ३,७००
  • अफ्रिका र दक्षिण पूर्वी एशियामा सबैभन्दा बढी सवारी दुर्घटना
  • न्यून आय भएका देशमा सन् २०१३ यता सवारी दुर्घटना नियन्त्रणमा आउन सकेको छैन
  • सवारी दुर्घटनामा हुने मृत्युमध्ये २७ प्रतिशत दक्षिण एशियामा
  • नेपालमा प्रति १ लाखमा लगभग १६ जनाको मृत्युको कारण सवारी दुर्घटना
  • सडक दुर्घटनाका कारण नेपालको कुल गार्हस्थ उत्पादनमा बर्सेनि ०.८ प्रतिशत क्षति
Share Now

Leave a comment.