Prakash Adhikari July 7, 2022

ओवन एमस / बीबीसी न्यूज

लण्डन( संयुक्त अधिराज्य), २३ आषाढ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो दलको नेताबाट राजीनामा घोषणा गर्नुभएको छ ।

सन् १९८७ यता कन्जर्भेटिभ पार्टीलाई बोरिस जोनसनले निर्वाचनमा सबैभन्दा प्रभावशाली रूपमा जिताएको तीन वर्ष पनि पुगेको छैन।

तर अहिले उहाँले आफ्नै सांसदहरूको समर्थन गुमाउनुभएको छ। उहाँले दलको नेताबाट राजीनामा घोषणा गर्नुभएको छ।

जोनसन यो अवस्थामा कसरी पुग्नुभयो त ?

१) क्रिस पिन्चर प्रकरण

सांसद तथा कन्जर्भेटिभ पार्टीका तात्कालिक सहायक मुख्य सचेतक क्रिस पिन्चर जुन २९ मा लन्डनस्थित एउटा निजी क्लबमा पुग्नुभयो। त्यहाँ उहाँकै शब्दमा  “उहाँले निकै मदिरा पिउनुभयो” र “आफैँलाई लाजमर्दो” हुने काम गर्नुभयो।

उहाँलाई दुई पुरुषमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो। त्यसपछि वर्षौँअघिका घटनासँग सम्बन्धित कैयौँ आरोपहरू थपिए। त्यसपछि विकसित घटनाक्रम प्रधानमन्त्री जोनसनको पतनको कारण बन्यो।

डाउनिङ स्ट्रीटले गत फेब्रुअरीमा पिन्चरलाई सहायक मुख्य सचेतक नियुक्त गर्नुअघि उहाँविरुद्ध लागेका ‘निश्चित आरोप’बारे आफूलाई जानकारी नभएको प्रधानमन्त्री जोनसनले बताउनुभएको थियो।

यौन दुर्व्यवहारको आरोपपछि अघिल्लो हप्ता क्रिस पिन्चर निलम्बित हुनुभएको थियो ।

यौन दुर्व्यवहारको आरोपपछि अघिल्लो हप्ता क्रिस पिन्चर निलम्बित भएका थिए

मन्त्रीहरूले पनि त्यही धारणा दोहोर्‍याए। तर त्यो गलत भएको प्रमाणित भयो।

जुलाई ४ गते बीबीसीले जोनसनलाई औपचारिक उजुरीबारे जानकारी रहेको खबर प्रकाशित गर्‍यो। त्यसको एक दिनपछि एक भूतपूर्व सरकारी कर्मचारी लर्ड म्याक्डोनल्डले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा नै त्यो उजुरीबारे जानकारी गराइएको बताउनुभयो।

प्रधानमन्त्री जोनसनले आफूलाई सन् २०१९ मा त्यसबारे भनिएको भन्दै पिन्चरलाई सहायक मुख्य सचेतक नियुक्त गरिएकोमा माफी माग्नुभयो।

२) भोज प्रकरण

यसै वर्षको एप्रिलमा प्रधानमन्त्रीलाई लकडाउनको समयका नियमहरू भङ्ग गरेकोमा जरिवाना गराइएको थियो। जुन २०२० मा आफ्नो जन्मदिनका अवसरमा आयोजित एउटा भोजमा उहाँ सहभागी हुनुभएको थियो।

पहिलो लकडाउनमा ‘आफ्नो लागि आफैँ मदिरा लिएर आउनू’ भन्ने सन्देशसहित डाउनिङ स्ट्रीटको बगैँचामा आयोजना गरिएको भोजमा सहभागी भएकोमा पनि उहाँले माफी माग्नुभएको थियो।

प्रधानमन्त्री जोनसनमाथी पार्टीगेट प्रकरणमा अहिले पनि संसद्को कमिटीले छानविन गरिरहेको छ ।

प्रधानमन्त्री जोनसनमाथी पार्टीगेट प्रकरणमा अहिले पनि संसद्को कमिटीले छानविन गरिरहेको छ

मेट्रोपोलिटन प्रहरीले ८३ जनालाई डाउनिङ स्ट्रीट र ह्वाइट हलमा लकडाउनसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा १ सय २६ वटा जरिवाना गराएको थियो।

एक वरिष्ठ सरकारी अधिकारी सू ग्रेको प्रतिवेदनले राजनीतिक कर्मचारीले शृङ्खलाबद्ध रूपमा सामाजिक गतिविधि गरेको उल्लेख गरेको थियो।

उहाँले लेख्नुभएको थियो, “केन्द्रमा रहेका वरिष्ठ राजनीतिक तथा निजामती नेतृत्व दुवैले यसको जिम्मेवारी लिनुपर्छ।”

गत डिसेम्बरमा जोनसनले हाउस अफ कमन्समा ‘नम्बर १० मा सबै मार्गनिर्देशनहरूको पालना गरिएको’ बताउनुभएको थियो।

संसदीय समितिले अहिले जोनसनले जानीजानी संसद्लाई ढाँटेको हो वा होइन भन्ने विषयमा छानबिन गरिरहेको छ।

३) जीविकोपार्जनमा सङ्कट र करवृद्धि

यो वर्षको सुरुदेखि नै महँगी चुलिन थालेको छ। अहिले मुद्रास्फीति ९.१ प्रतिशत छ।

धेरै कुरा बोरिस जोनसनको नियन्त्रणबाहिर थियो। उदाहरणका लागि, रुसले युक्रेनमाथि गरेको आक्रमणले तेलको र खानेकुराको मूल्य बढाएको छ।

तर सरकारले केही प्रयासहरू पनि गरेको छ। उदाहरणका लागि, इन्धनमा लगाइएको कर प्रतिलिटर पाँच पेन्सले घटाइएको थियो र एप्रिलमा कर बढाइँदा पनि त्यसलाई निरन्तरता दिइएको थियो। न्याश्नल इन्स्योरन्स पाउन्डको दरमा १.२५ पाउन्डले बढेको थियो।

सरकारले करवृद्धिबाट स्वास्थ्य र सामाजिक सुरक्षामा सहयोग पुग्ने बताएको थियो। तर यो साता भएको परिवर्तनले धेरैलाई प्रभावित पारेको छ। एक वर्षमा ३४ हजार पाउन्डभन्दा धेरै कमाउने प्रत्येक व्यक्तिले थप तिर्नुपर्ने नियम ल्याइएको थियो।

“जीवनयापन गर्ने खर्च धान्न एकदम नराम्रो सङ्कट उत्पन्न भएको बेला सरकारले गरिखाने वर्गमाथि थप कर लगाउने बाटो रोज्यो”, लेबर नेता सर कीअर स्टार्मरले एप्रिलमा बताउनुभएको थियो।

जोनसनमाथि राजीनामाका लागि चर्को दबाब परेको थियो

जोनसनमाथि राजीनामाका लागि चर्को दबाब परेको थियो

४) ओवन प्याटरसन विवा
सन् २०२१ को अक्टोबरमा हाउस अफ कमन्सको समितिले तात्कालिक कन्जर्भेटिभ सांसद ओवन प्याटरसनलाई ३० दिन निलम्बन गर्ने निर्णय गरेको थियो।

उहाँले लबिङसम्बन्धी नियम उल्लङ्घन गरेको र आफूलाई रकम दिने कम्पनीहरूलाई लाभ गराउने प्रयास गरेको भनाइ उक्त समितिको थियो।

तर प्रधानमन्त्रीको नेतृत्वमा कन्जर्भेटिभहरूले उहाँको निलम्बनलाई स्थगन गर्ने पक्षमा मतदान गर्नुभयो। कसरी अनुसन्धान अघि बढाइयो भन्ने जाँच गर्न नयाँ समिति गठन गर्ने पक्षमा सांसदहरू उभिनुभयो।

चर्को विरोध भएपछि प्याटरसन राजीनामा दिन बाध्य हुनुभयो। प्रधानमन्त्री जोनसनले आफू उक्त घटनामा चुकेको पछि स्वीकार गर्नुुभएको थियो।

५) ध्यान र सोचको अभाव

बोरिस जोनसनले प्रभावशाली जित हासिल पार्दा उहाँको स्पष्ट र सजिलो नीति थियोः ब्रिटेनलाई युरोपेली सङ्घ ईयूबाट अलग्ग्याउनु।

उहाँका आलोचकहरूका त्यसपछि डाउनिङ स्ट्रीटमा विचार र ध्यानको अभाव भयो।

कुनै बेला उहाँका सल्लाहकार रहेका र पछि आलोचक बनेका डोमिनिक कमिङ्सले जोनसनलाई ‘बारम्बरलाई एकै ठाउँमा अडिन नसक्ने अनियन्त्रित मनस्थिति भएको व्यक्ति’ को सङ्ज्ञा दिने गर्नुभएको छ।

अरूले पनि प्रधानमन्त्रीको दर्शन छ कि छैन भनेर समेत प्रश्न उठाएका थिए। गत जुन महिनामा कन्जर्भेटिभ सांसद र पूर्वमन्त्री जेरमी हन्टले जोनसनसँग ‘निष्ठा, क्षमता र दृष्टिकोण’ नभएको आरोप लगाउनुभएको थियो।

विश्वासको प्रस्तावमा मतदान हुनुअघि त्यस्तो टिप्पणी आएको थियो। मतदानमा जोनसन जोगिए पनि उहाँविरुद्ध गुनासाहरू बढ्दै गएका थिए।

कन्जर्भेटिभ पार्टीले उपचुनावमा निरन्तर पराजय खेप्नुपर्‍यो। पछिल्लो परिणामपछि जोनसनले आफूले ‘मनोवैज्ञानिक रूपान्तरण’ नगर्ने बताउनुभएको थियो।

तर अहिले त्यो नै कन्जर्भेटिभ सांसदहरूका लागि चिन्ताको विषय बन्न पुग्यो। सांसदहरूले आफ्नो धारणा राखेका छन् र जोनसन अब पदबाट हट्न लाग्नुभएको छ ।

अब के हुन्छ ?

तर उहाँ अर्को प्रधानमन्त्री चयन हुनुअघि शरद ऋतुसम्म उहाँ प्रधानमन्त्रीका रूपमा निरन्तर रहनुहुनेछ ।

अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनु अघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछ।

चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि यूकेका प्रधानमन्त्री बोरिस जोनसनले चर्को दबाबको सामना गरिरहनुभएको थियो।

यसअघि हिजो बुधवार उहाँले ब्रिटिश संसद्‌को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट ‘व्यापक जनादेश’ पाएको र त्यो ‘जारी रहने’ बताउनुभएको थियो।

डाउनिङ्ग स्ट्रिट

थप जानकारीका लागि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिट बाहिर पत्रकारहरू प्रतिक्षारत रहेका छन्

सङ्कट
अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसन सङ्कटमा पर्नुभएको थियो।

यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि दुवैजनाले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिनुभएको थियो ।

उहाँहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भयो र बुधवार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिनुभयो।

यसअघि जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिनुभएको थियो ।

यसअघि मंङ्गलवारमात्रै अर्थमन्त्री नियुक्त भएका नदिम जाहावीले पनि पदबाट राजीनामा दिँदै एक पत्र प्रकाशित गरेर प्रधानमन्त्री जोनसनले सरकारलाई अवमूल्यन गरिरहेको र उहाँ पदबाट हट्नुपर्ने बताउनुभयो ।

एक जना वरिष्ठ कन्जरभेटिभ सांसद जुलियन स्मिथले बीबीसीसँग कुरा गर्दै जोनसनले ‘ट्रम्प प्रवृत्ति देखाउँदै पदमा टाँसिरहेको’ र शासन चलाउने विधिलाई चुनौती दिइरहेको बताउनुभयो।

हटाउने अभियान
बीबीसीका राजनीतिक संवाददाता इयन वाट्सन भन्छन् बोरिस जनसनले औपचारिक रूपमा राजीनामा दिन बाँकी रहँदै उहाँलाई हटाउने अभियान सुरु भइसकेको थियो।

ऋषि सुनकले अर्थमन्त्री पदबाट राजीनामा दिने क्रममा लेखेका पत्रमा प्रधानमन्त्रीसँग अर्थतन्त्रका विषयमा आफ्नो गम्भीर मतभेद रहेको उल्लेख गर्नुभएको थियो।

स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका साजिद जाविदले पनि राजीनामाका सम्बन्धमा संसदलाई सम्बोधन गर्ने क्रममा आफूले व्योहोर्नुपरेको अवरोधहरूबारे बताउनुभएको थियो।

पार्टी नेताको पदका लागि सुएला ब्रभारमेनले इच्छा जनाउनुभएको छ।

तर त्यसबाहेक पेनी मोर्डन्ट, टम टुगेनहाट र जेरेमी हन्ट पनि प्रतिस्पर्धामा हुनुहुन्छ।

कन्जर्भेटिभ पार्टी

यो परिस्थिति कसरी आयो

जोनसनको सरकारलाई साथ दिएका उच्च अधिकारीहरूको राजीनामाको शृङ्खला एक कन्जरभेटिभ सांसद र भूतपूर्व सहायक प्रमुख सचेतक क्रिस पिन्चरसँग जोडिएको यौन दुर्व्यवहारको आरोपलाई लिएर प्रधानमन्त्रीले चालेका कदमले निम्त्याएको थियो।

मङ्गलवार कम्तीमा तीन वर्षअघि जोनसनलाई व्यक्तिगत रूपमा नै पिन्चरमाथि लागेका आरोपबारे जानकारी गराइएको विवरण आएको थियो।

कैयौँ दिनदेखि कुनै पनि त्यस्तो गुनासोबारे आफू बेखबर रहेको जोनसनको दाबी त्यसबाट गलत प्रमाणित भएको थियो।

उक्त खुलासापछि ब्रिटेनका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिनुभयो। त्यससँगै राजीनामाको शृङ्खला नै सुरु भयो।

जोनसनको सरकार हालैका महिनाहरूमा अरू कैयौँ विवादमा परेको थियो।

उहाँमाथि कोरोनाभाइरसको लकडाउनको समयमा डाउनिङ स्ट्रीटमा भोज आयोजना गरेको र त्यस विषयमा संसद्लाई ढाँटेको विषयमा प्रहरी अनुसन्धान समेत भएका थिए।

 

Share Now

Leave a comment.