Prakash Adhikari July 8, 2022

काठमाडौं, २४ आषाढ । नेपालको राजनीतिमा उत्तरी छिमेकी मित्र राष्ट्र चीनको चासो बढ्दै गएको छ । नेपाल मामलामा देखिने गरी संलग्न हुँदा बदनाम गराइएकोले भारतले गुपचुप कुटनीति अपनाए पनि चीन भने दैख्य रुपमा नेपाल मामलामा उपस्थिति जनाउन थालेकोे छ ।

यसै क्रममा आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ चार दिवसीय नेपाल भ्रमणमा आउदै हुनुहुन्छ ।

आफ्नो भ्रमणमा चिनिया नेता लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कायक्रम रहेको बताइएको छ।

गत जुन महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त हुनुभएका ५८ वर्षीय नेता लिउले विगत एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्क गरिहनुभएको छ । उहाँले विदेश विभागको जिम्मेवारी पाए लगत्तै (गत जुन अन्तिम साता) माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग अलग अलग भिडिओ वार्ता गर्नुभएको थियो।

त्यस लगत्तै परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग गतसाता मात्रै उहाँले भिडिओ वार्ता गर्नुभयो । चीनमा उहाँको हैसियत मन्त्रीसरह छ।
नेता लिउले भ्रमणमा पार्टीगत, द्विपक्षीय र भूराजनीतिक गरी तीन पक्षीय सम्बन्ध मजबूत बनाउने उद्देश्य राख्नुभएको चिनिया मामिलाका जानकारहरु बताउछन्।

चिनिया कम्युनिष्ट पार्टीले नेपालका एमाले र माओवादीसंग भाइचाराको मात्र हैन कम्युनिष्ट विचारधारा प्रबल बनाउन प्रशिक्षण समेत दिने स्तरको सम्बन्ध विकास गरेको छ भने सत्ताको नेतृृत्व गरिरहेको कांग्रेससंगको सम्बन्ध पनि बिगारेको छैन । कांग्रेस नेताहरुलाई चीन भ्रमण गराउने काम पनि उसले गर्दै आएको छ ।

चिनिया राष्ट्रपति सि जिनफिड.को ब्रेन चाइल्ड मानिएको बेल्ट एन्ड रोड अवधारणा (बीआरआई( फ्रेमवर्कभित्र रहेर चिनियाँ सहयोगमा रेल र सडक जस्ता पूर्वाधार विकास परियोजनामा अघि बढाउने सम्बन्धमा पनि नेता लिउको भ्रमणमा कुराकानी हुने भएको छ ।

नेपालको राजनीतिक, विकास र परराष्ट्र मामलामा भारतीय प्रभावको स्थान अमेरिकाले लिन्छ कि भन्ने चीनको गम्भीर चासो रहदै आएको छ । अमेरिकाले मिलिनियम च्यालैञ्ज कर्पोरेशन अन्तरगत दिएको ६० अर्बभन्दा बढीको पूर्वाधार निर्माण परियोजनाका अनुदान रकम सम्बन्धी संझौता संसदबाट अनुमोदन नगर्न चीनका नेताहरुले नेपालका बामपन्थी दलहरुमार्फत ठाडो हस्तक्षेप नै गरेका थिए ।

तीन साताअघि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्र्तगतको सैन्य सम्झौता अघि नबढाउने नेपालको निर्णयलाई चीनले खुशीसाथ स्वागत गरेको थियो।

यस्तै रुसले यूक्रेनमाथि गरेको हस्तक्षेपको नेपालले विरोध गर्दा चीनले असन्तुष्टि जनाएको थियो ।

एमसीसी अनुदान सहयोग सझौता पारित गराउने र कार्यान्वयनमा लैजाने सन्दर्भमा अमेरिकाबाट नेपालको भ्रमण बाक्लिदै गर्दा चीन सशंकित देखिदै आएको छ । पछिल्लोपछक अमेरिकाबाट तिब्बत मामिला हेर्ने उच्च अधिकारी नेपाल भ्रमणमा आएपछि नेपालमा स्वतन्त्र तिब्बती गतिविधि हुन्छन कि भन्ने चिन्ता चीनलाई परेको छ । यद्यपि नेपालका राजनीतिक दल र सरकारले एक चीन नीतिमा चीनलाई आश्वस्त पार्दै नेपालबाट चीनविरोधी गतिविधि हुन नदिने स्पष्ट पारिसकेका छन् ।

गत मार्च अन्तिम साता चिनियाँ विदेश मन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता वाङ यी नेपाल भ्रमणमा पनि नेपाललाई कसैले भूराजनीतिक चलखेलको थलो बनाउन प्रयास गरे कडा प्रतिरोध गर्ने अभिब्यक्ति चीनले दिएको थियो ।

नेपाललाई अमेरिकी प्रभावमा जान नदिन चीनले बामपन्थीहरुलाई एकीकरण गराउने प्रयासलाई पनि जारी राखेको छ । नेकपा एमाले र माओवादी अलग अलग अस्तित्वमा आएलगत्तै चीनले दुवै थरी कम्युनिष्ट पार्टीका नेताहरुलार्ई बेइजिड. बोलाएर एक हुन दबाब दिएको थियो । तत्काल एकता संभव नभए पनि आगामी प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा बामपन्थी गठबन्धन गराएर संसदमा बाम उपस्थिति बढाउने र राष्ट्रपतिदेखि सरकार पनि बामपन्थीको बनाएर अमेरिकी प्रभावलाई निस्तेज पार्ने रणनीति चीनको रहेको छ ।

चिनिया कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउले नेपालका वामपन्थी दलबीच चुनावी तालमेल सम्भावनाबारे पनि अध्ययन गर्ने बुझिएको छ।

 

Share Now

Leave a comment.