Prakash Adhikari July 8, 2022

 

नयाँदिल्ली(भारत), २४ आषाढ । नेपालका नीति निर्माता र विद्युत उत्पादकहरुले छिमेकी मित्रराष्ट्र भारतका लगानीकर्तालाई नेपालमा जलविद्युत उत्पादनमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

भारतस्थित नेपाली राजदूतावासले बिहीबार दी एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डिया (एस्सोचाम) सँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सो आग्रह गरिएको हो ।

कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले विश्व बैंकको अध्ययनले नेपालले ३५ हजारदेखि ४० हजार मेगावाटसम्म बिजुली निर्यात गर्न सक्ने सम्भावना देखाएको बताउनुभयो ।

‘भारत र बंगलादेशमा विद्युत्को माग पूरा गर्न नेपालको जलविद्युत् उपयोगी हुन सक्छ,’ शर्माले भन्नुभयो, ‘भारत र बंगलादेशमा बर्सेनि ऊर्जाको आवश्यकता बढ्दै गएको छ । नेपाल त्यसमा सानो भए पनि योगदान गर्न सक्छ ।’

उहाँले ऊर्जा क्षेत्रमा भारतसँग साझा सहकार्यमा काम गर्न नेपाल सदैव तयार रहेको उहाँले बताउनुभयो ।

नेपालले गत महिनादेखि भारतलाई ३ सय ६४ मेगावाट बिजुली पठाउन थालेको छ । यसले विद्युत निर्यातको ढोका खुला गरेको नेपालका विज्ञहरुले बताएका छन् ।

 

उद्घाटन मन्तव्यमा राजदूत शर्माले नेपालबाट आयात हुने विद्युतले नेपाल मात्रै होइन, भारतको अर्थतन्त्रलाई पनि फाइदा पुग्ने दाबी गर्दै भन्नुभयो, जलविद्युत् प्रयोगले कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउने र भारतसहित अन्य देशले जलवायु परिवर्तनमा परेको असर कम गर्न लिएको लक्ष्यमा त्यसले सघाउने छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालसँग जलविद्युत् उत्पादनको अवसर प्रशस्त रहे पनि खपतको क्षमता नरहेको बताउनुभयो ।
उहाँले नेपालमा उत्पादन हुने जलविद्युतको बजार भारत र बंगलादेश भएकोले उत्पादन बढाएसँगै बजारको व्यवस्थापन र क्रस बोर्डर प्रसारण लाइन निर्माणमा समेत नेपालले ध्यान दिइरहेको बताउनुभयो ।

भारतमा थोरै बिजुली निर्यात थालिसकेको र बंगलादेश निर्यातको कोसिसमा आफूहरू लागिपरेको जानकारी दिंदै उहाँले सांकेतिक रूपमा ५० वा १०० मेगावाट बिजुली सक्दो छिटो बंगलादेश निर्यात गर्ने प्रयासमा रहेको र यसका लागि भारतको सहयोग अपेक्षित रहेको उल्लेख गर्नुभयो ।
उहाँले विद्युत आयात र निर्यातका लागि भारतले उपलब्ध गराएको एक्सचेन्ज मार्केटको सदुपयोग गर्ने प्रयासमा नेपाल रहेको उल्लेख गर्दै गत महिनादेखि ३ सय ६४ मेगावाट बिजुली भारतलाई निर्यात गर्न थालेको बताउनुभयो ।

भारतमा बिजुली बेचेर प्राधिकरणले अहिले प्रतिदिन औसत ७ देखि १० करोड रुपैयाँ कमाउन थालेको छ ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले सरकारले ऊर्जा क्षेत्रमा ल्याएका विभिन्न नीतिनियमबारे सरोकारवालालाई जानकारी गराउनुभएको थियो ।

नेपालले अहिले पिक सिजनमा २ हजार २ सय मेगावाट बिजुली उत्पादन गर्दै छ । र, उक्त सिजनको खपत १६–१७ सय मेगावाट मात्रै छ । बर्खायाममा नेपालले सरप्लस बिजुली भारतलाई निर्यात थालेको हो ।

कार्यक्रममा सहसचिव भेटुवालले ५ हजार मेगावाट बिजुली उत्पादनका लागि विभिन्न आयोजना निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी ५ वर्षसम्म बर्सेनि एक हजार मेगावाट बिजुली उत्पादन हुँदै जाने छ ।

उहाँले नेपाल सरकारले सन् २०३० सम्ममा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेकाले त्यसको लाभ लिन भारतीय लगानीकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा भारतको ऊर्जा मन्त्रालयका सहसचिव राघुराज माधव राजेन्द्रमले नेपालसँग सहकार्य गर्न भारत सदैव आतुर रहने उल्लेख गर्दै साझा हितका लागि ऊर्जा क्षेत्रमा संयुक्त काम गर्ने विषय सधैं भारतको प्राथमिकतामा रहेको र त्यसका लागि तत्पर पनि रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालका स्वतन्त्र ऊर्जा उत्पादकहरु ज्ञानेन्द्रलाल प्रधान, अरुणकुमार सुवेदी र शैलेन्द्र गुरागाईंले भारतीय निजी क्षेत्रलाई नेपालमा सहकार्यमा काम गर्न आउन आग्रह गर्नुभएको थियो ।

गत अप्रिलमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुई देशबीच ऊर्जा व्यापारका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो ।

दुई देशका प्रधानमन्त्री तहमा भएका ऊर्जा उत्पादन, प्रसारण र व्यापारका साझा प्रतिबद्धता र सहकार्यका विषयले धेरै सकारात्मक वातावरण निर्माण गरेको यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।

भारतका ‘हाइड्रो डेभलपर’ तथा ऊर्जा क्षेत्रका विज्ञसमक्ष नेपालको जलविद्युत्को सम्भावनाको जानकारी दिन र लगानी आकर्षित गर्न कार्यक्रमको आयोजना गरिएको नेपाली दूतावासले जनाएको छ ।

 

Share Now

Leave a comment.