Prakash Adhikari July 8, 2022

 

काठमाडौं, २४ आषाढ । नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरेको छ ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहन लगायतका विषयमा गहन छलफल भएको थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनु पर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकोे थियो ।

यस्तै लगानीयोग्य रकमको अभाव र समाधानकालागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनु पर्ने विषय,विदेशी विनिमय संचिती, लगानी प्रबद्र्धन गर्न तत्काल एवं दीर्घकालिन रुपमा लिइनुपर्ने नीतिका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको थियो ।

प्रतिनिधि मण्डलले विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि जानकारी गराएको थियो ।

भेटका अवसरमा परिसंघका अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्थाको विषयमा जानकारी गराउनु हुँदै बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभाव सुधार्न चालिनुपर्ने कदमका विषयमा जानकारी गराउनुभयो ।

तरलता अभावका कारण नयाँ उद्योग, लगानी विस्तार हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने विषयमा उहाँले सुझाव दिनुभयो ।


अध्यक्ष अग्रवालले परिसंघका गतिविधि, आगामी भदौं २३ र २४ गते हुने पूर्वाधार सम्मेलन, लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो ।

परिसंघले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिक सम्बन्धी नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष अग्रवालले प्रधानमन्त्री देउवालाई परिसंघको युवा उद्यमी मञ्चले हालै सम्पन्न गरेको सीएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको विषयमा पनि जानकारी गराउनुभएको थियो ।

उक्त फेस्टमा ५ हजार युवाहरुको सहभागिता रहेको थियो भने ७ वटा उत्कृष्ट स्टार्टअप्सकालागि २४ करोड ५० रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई गम्भिर रुपमा लिदै सम्बोधन गर्ने आश्वासन दिनुभयो ।

प्रधानमन्त्रीसंगको भेटमा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, महानिर्देशक दीपकराज जोशी, परिसंघ युवा उद्यमी मञ्चका पुर्व अध्यक्ष च्याङ अग्रवाल लगायत सहभागिता रहेको थियो ।

Share Now

Leave a comment.