कोलम्बो(श्रीलंका), २५ आषाढ(बीबीसी) । श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवनहरूमा प्रवेश गरेका छन्।
समाचारहरूमा राष्ट्रपतिलाई सुरक्षित स्थानमा लगिएको भनिएको छ।
दशकौँ यता श्रीलङ्काले भोगिरहेको खराब आर्थिक सङ्कटलाई राष्ट्रपतिले सही ढङ्गले सम्बोधन नगरेको भन्दै आक्रोशित प्रदर्शनकारीको भीडलाई सम्हाल्न सुरक्षा निकायलाई धौ धौ परेको समाचारहरूमा जनाइएको छ।
पछिल्लो सङ्कटका माझ प्रधानमन्त्री रनिल विक्रमासिङ्गले दलका नेताहरूको आपत्कालीन बैठक बोलाएका छन्।
WATCH: Protesters storm presidential palace in Sri Lanka as economic crisis worsens pic.twitter.com/diIVaXx8Cd
— BNO News (@BNONews) July 9, 2022
श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन्।
विवरणहरूमा राष्ट्रपति राजपक्षलाई त्यहाँबाट सुरक्षित ठाउँमा लगिएको जनाइएको छ।
तर उहाँ कहाँ हुनुहुन्छ भन्ने खुलाइएको छैन।
यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन्।
देशका विभिन्न भागबाट प्रदर्शनमा भाग लिन सयौँ मानिसहरू कोलम्बो आएका थिए।
सरकारले कर्फ्यू लगाउने भने पनि पछि त्यसलाई फिर्ता लिएको थियो।
दशकौँ यताको सबैभन्दा खराब आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कामा भएका यी ताजा प्रदर्शनहरू हुन्।

हजारौँ प्रहरी र सैनिकहरू परिचालन गरिएका छन्।
श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ।
प्रहरी अवरोध पार गर्दै राष्ट्रपति गोटाबयको सरकारी निवासतर्फ प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि तनाव उत्पन्न भएको थियो।
केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए। प्रदर्शन भइरहेका क्षेत्रमा सैनिकहरू खटाइएका छन्।
प्रहरीले भीड तितरबितर गर्न हावामा गोली चलाएको थियो।
भिडिओ फूटेजहरूमा कैयौँ घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ।

श्रीलङ्कामा राष्ट्रपति निवासमा प्रदर्शनकारी प्रवेश
आर्थिक सङ्कट र इन्धन अभावका माझ राष्ट्रपति गोटाबय र प्रधानमन्त्री रनिल विक्रमसिङ्ग विरूद्धका प्रदर्शनहरू चर्कँदै गएका छन्।
सरकार विरुद्धको एउटा ठूलो प्रदर्शन शनिवारका लागि आह्वान गरिएको थियो। त्यसमा विपक्षी दलहरू, ट्रेड युनियनहरू, विद्यार्थी र कृषि सङ्गठनका प्रतिनिधिहरूले सहभागिता जनाउने बताएका थिए।
शुक्रवारदेखि नै देशभरबाट कैयौँ विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू कोलम्बो आएका थिए।
शनिवार पनि ठूलो सङ्ख्यामा सवारी साधनहरू कोलम्बोमा प्रवेश गरेको देखिएको थियो।
श्रीलङ्का सङ्कटको कारण के हो ?
महामारी, बढ्दो ऊर्जा मूल्य अनि लोकप्रियतावादी कर छूटजस्ता कारणहरूले गर्दा श्रीलङ्काको अर्थतन्त्र सङ्कटमा परेको देखिन्छ।
विदेशी मुद्राको निरन्तर अभाव तथा अकासिएको महँगीले त्यहाँ औषधि, इन्धन तथा अत्यावश्यक वस्तुहरूको चरम अभाव भइरहेको छ।
पछिल्ला साताहरूमा त्यहाँ ठूल्ठूला प्रदर्शनहरू भए। राष्ट्रपति गोटबय राजपक्ष तथा उहाँका परिवारविरुद्ध लक्षित प्रदर्शनहरू कहिलेकाहीँ हिंसात्मक पनि भए।
सात दशकभन्दा लामो अवधिमा देखा परेको सबैभन्दा नराम्रो आर्थिक सङ्कट समाधान गर्ने राजपक्षका प्रयासहरू सफल हुन सकिरहनुभएको छैन।
उहाँले भारत र चीनसँग आर्थिक सहयोग लिएर इन्धन, विद्युत्, खाद्यान्न र अन्य अत्यावश्यक सामानको अभाव हुन नदिने प्रयास गर्नुभएको थियो।
आइतवार ऊर्जामन्त्री कञ्चन विजेशेकरले नियमित मागअनुसार वितरण गर्ने हो भने देशमा भएको पेट्रोल एक दिनलाई पनि नपुग्ने बताउनुभएको थियो।
इन्धन तेल जोगाउने उद्देश्यले गत साता सरकारले अत्यावश्यक सेवाका बाहेक अन्य सवारीसाधनलाई पेट्रोल र डीजल बेच्न रोक लगाएको थियो।
श्रीलङ्का सङ्कट
कोभिड महामारी र आर्थिक अव्यवस्थाका कारण श्रीलङ्काको विदेशी मुद्राको सञ्चिति घटेको थियो। विदेशी मुद्रा नहुँदा विदेशबाट सामान आयात गर्न पनि समस्या उत्पन्न भएको हो।
तीस दिनको थप समय पाएको भए पनि गत मे महिनामा पहिलो पटक श्रीलङ्का ऋण तिर्न विफल भएको थियो।
देशलाई आर्थिक सङ्कटबाट उद्धार गर्न अहिले श्रीलङ्का सरकार र अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफबीच तीन अर्ब पाउन्ड सहयोग उपलब्ध गराउने विषयमा वार्ता भइरहेको छ।
इन्धन र अन्य वस्तुको आपूर्ति सहज नभएकाले अहिले महँगी चुलिएको छ।
बिहीवार श्रीलङ्काको केन्द्रीय ब्याङ्कले आधारभूत ब्याजदर एक प्रतिशतले वृद्धि गरिदिएको छ।
ब्याङ्कले दिने ऋणको ब्याजदर १५.५ प्रतिशत पुगेको छ भने निक्षेपका लागि १४.५ प्रतिशत ब्याज तोकिएको छ।
यो २१ वर्षकै सर्वाधिक ब्याजदर हो।
वार्षिक मुद्रास्फीति अहिलेसम्मकै उच्च देखिएको छ।
खाद्यपदार्थको मूल्य ८० प्रतिशतले बढ्दा मुद्रास्फीति ५४.६ प्रतिशत पुगेको छ।
सयौँ प्रदर्शनकारीहरूले कोलम्बोस्थित संसद् भवनबाहिर बुधवार भेला भएर राजपक्ष सरकार हटाउने अन्तिम प्रयास भन्दै प्रदर्शन गरेका थिए।
श्रीलङ्काबारे
टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २।२ करोड छ। तीनवटा जातीय समुदाय (( सिन्हाली, तमिल र मुस्लिम (( ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्।
शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन्।
आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ सहज आपूर्ति हुन नसकेसँगै महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन् ।





















