लण्डन(संयुक्त अधिराज्य), २६ आषाढ । ऋषि सुनकले कोरोनाभाइरस महामारीका बेला यूकेको अर्थतन्त्र हाँकेपछि त्यसैबेला उहाँलाई धेरैले यूकेका सम्भावित भावी प्रधानमन्त्रीको रूपमा हेर्न थाले।
बोरिस जोनसनको राजीनामापछि सुनकका लागि उक्त शक्तिशाली स्थानमा जानसक्ने बाटो खुलेको छ।
फेब्रुअरी २०२० मा सुनक यूकेको चान्सलर अफ एक्सचेकर (अर्थमन्त्री( बन्नुभयो। त्यसको केही सातामै उहाँले सामना गर्नुपरेका महामारी र लकडाउनका चुनौतीहरू दोस्रो विश्वयुद्धपछि कुनै चान्सलरले झेलेकोमध्ये सबभन्दा ठूला थिए।
२१औँ शताब्दीसँगै युवावस्थामा प्रवेश गरेका, कहिल्यै मदिरापान नगर्ने उहाँ धेरैका लागि अर्थतन्त्रको गाडी हाँक्न विश्वसनीय व्यक्ति बन्न पुग्नुभयो।
लोकप्रियतामा उतारचढाव
पहिलो लकडाउनका बेला सुनकले आफ्नो ४०औँ जन्मदिन मनाउनुभएको थियो।
सन् २०२० को बसन्तयाममा उहाँले महामारीमा मानिसहरूलाई सघाउन जेसुकै गर्ने वाचा गर्दै ३५० अर्ब स्टर्लिङ पाउन्ड बराबरको सहायता कार्यक्रम सार्वजनिक गर्नुभयो।
त्यसले उहाँको व्यक्तिगत लोकप्रियतालाई झन् उचाइमा पुर्यायो।
तर यूकेमा आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्ले प्रहरीलाई जरिबाना तिर्नुपर्ने अवस्था पनि आयो।
जून २०२० मा डाउनिङ्ग स्ट्रीटमा लकडाउनका नियम तोडेको भन्दै बोरिस जोनसनसँगै उहाँ पनि कारबाहीमा पर्नुभयो।

यो वर्षको एप्रिलमा केही कन्जरभेटिभ आलोचकहरूले यी करोडपति नेताले सङ्घर्षरत परिवारहरूले भोगिरहेको जीवनयापनबारे बुझेनन् कि भन्ने प्रश्न गरेका थिए।
सोही महिना सुनक र उहाँको परिवारको पैसाबारे मिहिन छानबिनहरू गरिए जसको केन्द्रमा उहाँकी श्रीमती अक्षता मूर्तिसँग जोडिएका करका विषयहरू थिए।
आफ्ना श्रीमान्माथि राजनीतिक दबाव बढेपछि उहाँले देशबाहिर आफूले कमाएको पैसाको यूकेमा कर तिर्ने घोषणा गर्नुभयो।
लेबरले उहाँको धन सम्पत्तिबारे कैयौँ प्रश्नहरू उठायो जसमध्ये एउटामा भनिएको थियोः के ट्याक्स हेभन्स (कर नलाग्ने देश)को प्रयोग गरेर सुनकले कहिल्यै फाइदा लिनुभएको त छैन?
द इन्डिपेन्डेन्ट पत्रिकाले आफ्नो एउटा समाचारमा भने अनुसार उहाँ सन् २०२० मा ब्रिटिश भर्जिन आइल्याण्ड्स र केम्यान आइल्याण्ड्सको लाभग्राहीमा सूचिकृत हुनुहुन्थ्यो।
सुनकका एकजना प्रवक्ताले भने अनुसार सुनक दम्पत्तिले ती दाबी स्वीकार्नुभएन।
त्यसो भए हामीलाई ऋषि सुनकबारे के थाहा छ?
उदय
सुनकका बाबु आमा दुवै पूर्वी अफ्रिकाबाट यूके आएका हुन् र दुवै भारतीय मूलका हुनुहुन्छ।
जनरल फिजिसिअन बुवा र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा उहाँ सन् १९८० मा साउथह्याम्पटनमा जन्मिनुभएको हो।
आफ्ना बुवाको सामुदायिक सेवाप्रतिको प्रतिबद्धताबाट आफू नतमस्तक भएको सुनक बताउँनुहून्छ।
आमालाई औषधि पसलमा सघाउँदा उहाँले व्यापारको सुरुवाती ज्ञान पाउनुभयो।
उहाँले एउटा विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा पढनुभयो र गर्मी बिदाका बेला साउथह्याम्पटनका रेष्टुराँमा वेटरका रूपमा काम गर्नुभयो।
उहाँले अक्सफर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढनुभयो।
स्ट्यान्डफर्ड यूनिभर्सिटीमा एमबीए पढ्दा उहाँले भावी श्रीमती अक्षता मूर्तिलाई भेट्नुभयो जो भारतीय अर्बपति, विशाल प्रविधि कम्पनी इन्फोशिसका सहसंस्थापक नारायण मूर्तिकी छोरी हुनुहुन्छ।
यी दम्पतीका दुई छोरीहरू छन्।
सन् २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स ब्याङ्कमा विश्लेषकका रूपमा काम गर्नुभयो।
पछि उहाँ दुईवटा आर्थिक लगानी सम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बन्नुभयो।
धनी सांसद
ऋषि सुनक ब्रिटेनका निकै धनी सांसदमध्ये एक भएको ठानिन्छ।
द टाइम्स पत्रिकाका अनुसार उहाँ ‘२५ वर्षे उमेरको आसपासमा दशौँ करोडका धनी’ बन्नुभयो तापनि आफूसँग भएको सम्पत्तिबारे उहाँले कहिल्यै सार्वजनिक रूपमा बोल्नुभएको छैन।
उहाँ सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बन्नुभएको हो।
पूर्ववर्ती टरिजा मेको सरकारमा उहाँ कनिष्ठ मन्त्री बन्नुभएको थियो।
बोरिस जोनसनले उहाँलाई अर्थ मन्त्रालयमा दोस्रो वरियतामा रहने चीफ सेक्रेटरी टू द ट्रेजरीमा नियुक्त गर्नुभयो।
र अन्ततः फेब्रुअरी २०२० मा उहाँलाई चान्सलर (अर्थमन्त्री)मा पदोन्नति गरियो।
सुनक सुरुमा जोनसनका कट्टर समर्थक हुनुहुन्थ्यो तर यसै साता उहाँले अर्थतन्त्रका विषयमा प्रधानमन्त्रीका तौरतरिका आधारभूत रूपमै निकै भिन्न रहेको भन्दै राजीनामा दिनुभयो।
राजनीतिक धारणामा परिपक्व
ईयू जनमत सङ्ग्रहका बेला उक्त क्षेत्रीय सङ्गठन छाड्ने पक्षमा उभिनुभएका ऋषिले त्यस निर्णयले ब्रिटेनलाई ुखुला, न्यायपूर्ण र थप समृद्धु बनाउने योर्कशायर पोस्टसँग बताउनुभएको थियो।
त्यसबेला यूकेको व्यापार ब्रसल्सले तय गर्ने लम्बेतान प्रक्रियाले ूदबाएकोू तर्क गर्नुभएका उहाँले ब्रेक्जिटपछि ईयूसँग एउटा खुला व्यापार सम्झौता हुनेमा आफू आशावादी रहेको बताउनुभएको थियो।
उहाँले आप्रवासन नियमहरू फेर्नु ईयूबाट बहिर्गमनको पक्ष रोज्नुको कारण रहेको बताउनुभएको थियो।

“व्यवस्थित आप्रवासनले हाम्रो देशलाई फाइदा गर्छ भन्नेमा म विश्वस्त छु। तर हामीले आफ्नो सीमामा नियन्त्रण राख्नैपर्छ।”
सुनक यूकेमै जन्मिए तापनि अन्यत्र मूल भएको परिवारका सन्तान हुन् र उहाँले त्यो परिचयको अर्थ हुने बताउदै आउनुभएको छ
“मेरा अभिभावकहरू यहाँ बसाइ सरेर आए र तपाईँहरूले यहाँ जन्मिएको पुस्ता पाउनुभयो, उनीहरूका अभिभावक यहाँ जन्मिएका होइनन् र उनीहरू यहाँ जीवन बनाउन आए”, सन् २०१९ मा उहाँले बीबीसीसँगको एक अन्तर्वार्तामा भन्नुभएको थियो।
“सांस्कृतिक हुर्काइका विषयमा म सप्ताहन्तमा म मन्दिर पुग्छु( म हिन्दू हुँ ( तर शनिवार नै म ृसाउथह्याम्पटन फुटबल क्लबे सेन्ट्स गेम्समा पनि पुग्छु । दुवै गर्छु”, ऋषिले भन्नुभएको छ ।


















