सानेपा(ललितपुर), १ श्रावण । आज पनि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
नेपाली कांग्रेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभए अनुसार आइतबार दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति बाहेकका पदाधिकारीहरुको बैठक बस्ने छ।
गत सोमबारदेखि निरन्तर बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरु बोल्नेक्रम सकिएको छ । शनिबार नेताहरुले बोल्नेक्रम सकिएपछि सोमबारसम्मका लागि बैठक स्थगित भएको छ ।
“सभापतिजी आउनुहुन्नँ । उहाँबाहेक पदाधिकारीहरु बसेर बैठकका निर्णयको ड्राफ्ट तय गर्नेलगायत छलफल गर्ने एजेन्डा छ”, मुख्यसचिव पौडेलले भन्नुभएको छ ।
बैठकमा विभाग तथा समिति गठन, नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता र पूराना भ्रातृ तथा शुभेच्छुक संस्थाका महाधिवेशन तथा पूर्णता दिने र पार्टीको मर्यादाक्रमका विषयमा छलफल हुनेछ ।
सभापति शेरबहादुर देउवाले महाधिवेशन सकेको छ महिनाभित्र विधानअनुसार गरिसक्नुपर्नेमा विलम्ब भएको भन्दै केन्द्रीय समितिमा आलोचना समेत भइरहेको छ ।


















