Prakash Adhikari July 17, 2022

तिलोत्तमा(रुपन्देही), १ साउन । रूपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै गएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएका प्रहरीले जनप्रतिनिधिलाई हातपात र दुर्व्यवहार गरेका छन्।

गृहमन्त्री बालकृष्ण खाँणका भाइ मेयर रहेको सो पालिकामा गत शुक्रबारदेखि नै नगरसभाको विषयमा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिबीच विवाद उत्पन्न हुँदै आएको थियो।

नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख रामकृष्ण खाण र अरू जनप्रतिनिधिले नगरसभाबाट बजेट मात्रै पास गर्ने र एमालेबाट निर्वाचित उपप्रमुख र अरू जनप्रतिनिधिले बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत गठन गर्नुपर्ने अडान लिएपछि विवाद सुरू भएको थियो।

सोही क्रममा आइतबारको बैठकमा आफूहरूलाई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न रोक लगाएको भन्दै आक्रोशित बनेका एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई घेरा हाली नियन्त्रणमा लिन खोजेका थिए। भिडियोकोलागि तल क्लिक गर्नुहोस् :

तिलोत्तमामा वडाअध्यक्षलाई पौडी पोखरीमा 

त्यसपछि उद्धारका लागि प्रहरी परिचालन गरिएको थियो।

नगरसभास्थलमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी र इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीको नेतृत्वमा पुगेको टोलीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई लैजाने क्रममा प्रहरीले आफूहरूमाथि हातपात र दुर्व्यवहार गरेको एमालेका जनप्रतिनिधिहरूले बताएका छन्।

तिलोत्तमा नगरपालिका वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नगरसभा भइरहेको होटलको स्वीमिङ पुलमा हुत्याएर फालिदिएको भिडिओ समेत बाहिरिएको छ।

प्रहरी नायब उपरीक्षक केसीले लछारपछार गर्दै आफूलाई स्वीमिङ पुलमा फालिदिएका वडा अध्यक्ष क्षेत्रीले बताउनुभएको छ।

नागरिकको जिउज्यानको सुरक्षामा खटिनुपर्ने प्रहरी आफैं जनप्रतिनिधिमाथि जाई लाग्नु दुखदायी भएको उनको भनाइ छ।

‘डिएसपी ठगबहादुर केसीले मलाई लछारपछार गर्दै लात्तीले धकेलेर पोखरीमा फालिदिनुभयो। जनताको सुरक्षामा खटिनुपर्ने प्रहरीलाई जनप्रतिनिधिमाथि हातपात गर्न र जाई लाग्ने अधिकार कसले दियो,’ क्षेत्रीले भन्नुभयो।

नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवं तिलोत्तमा नगरपालिकामा नगरप्रमुखका प्रत्यासी समेत रहेका मोहन चापागाईंले प्रहरी नायब उपरीक्षक केसीले क्षेत्रीमाथि ज्यादती गरेको बताउनुभएको छ।
चापागाईंले वडा अध्यक्ष क्षेत्री मुटुका बिरामी रहेको र केही समयअगाडि गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा शल्यक्रिया गरेर आएको बताउनुभएको छ ।

Share Now

Leave a comment.