Prakash Adhikari July 18, 2022

 

काठमाडौं, २ श्रावण । यस वर्ष देशका विभिन्न भागमा औसतभन्दा बढी वर्षा हुने आकलन गरिएको भए पनि हालसम्म ‘अपेक्षित रूपमा’ वर्षा नभएको जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्।

यो वर्ष विगतको भन्दा एक साताअघि नै मनसुन सुरु भएको थियो।

तर मनसुन देशैभरि फैलन विगतको भन्दा बढी समय लागेको अधिकारीहरूको भनाइ छ।

सामान्यतया नेपालमा जुन १३ तारिखदेखि सुरु हुने मनसुन अक्टोबरको पहिलो सातासम्म जारी रहन्छ।

यस वर्ष उक्त अवधिभरि औसत अर्थात् १,४७२ मिलिमिटरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ।

वर्षा मापन केन्द्रको तथ्याङ्कका आधारमा डेढ महिनाको अन्तरालमा हालसम्म औसत वर्षाको करिब ३२ प्रतिशत पानी परेको छ।

हालसम्म कति पानी पर्‍यो ?

मौसम विभागकी मौसमविद् इन्दिरा कँडेलका अनुसार मनसुन सुरु भएयता ४६८.४ मिलिमिटर पानी परेको हो।

देशभरिका २० वटा मापन केन्द्रबाट उपलब्ध तथ्याङ्क केलाउँदा यो मात्रा अपेक्षित औसत वर्षाको ३१.८ प्रतिशत हो।

तोकिएको परिमाणभन्दा ११० प्रतिशतभन्दा धेरै वर्षा भयो भने मात्र त्यसलाई औसतभन्दा बढी मानिने विज्ञहरू बताउँछन्।

“यसपालि भइरहेको वर्षाको मात्रा औसत हो। यद्यपि भू-भाग अनुरूप कहीँ सरदरभन्दा धेरै परेको छ, कहीँ थोरै”, उहाँले भन्नुभयो।

कँडेलका अनुसार पूर्वी क्षेत्रहरू धरान, धनकुटा, विराटनगर र काठमाडौंमा सरदरभन्दा बढी वर्षा भइरहेको छ।

त्यस्तै पोखरा, सिमरा, जिरी, ओखलढुङ्गामा भइरहेको वर्षालाई औसत मान्न सकिने र पश्चिमी क्षेत्रहरू डडेलधुरा, दिपायल, सुर्खेत, धनगढी, जुम्लालगायतमा अपेक्षितभन्दा निकै कम पानी परेको उहाँ बताउनुहुन्छ।

यद्यपि चार महिना लामो हुने मनसुनमा डेढ महिना मात्र बितेकाले वर्षा परिमाणबारे निष्कर्ष निकाल्न नमिल्ने उहाँले बताउनुभयो।

“समय छ। अझै पनि सोचेभन्दा बढी पानी पर्न सक्ने सम्भावना छ। हाल मनसुन ब्रेक सक्रिय भएको हुनसक्छ”, उहाँले भन्नुभयो ।

 

के हो मनसुन ?

मनसुन दक्षिण हिन्द महासागरबाट सुरु हुन्छ। दक्षिणपूर्वी वायु बिस्तारै नेपाल प्रवेश गर्दा त्यसले वायुमण्डलको तल्लो भागमा असर पुर्‍याउँछ।

मनसुनको समयमा पूर्वी नेपालबाट पानी पर्न थाल्छ र मध्य भाग हुँदै पश्चिम लाग्छ। मनसुनमा बिहानैदेखि झरी पर्छ।

तर यसवर्ष त्यस्तो धेरै कम मात्र भइरहेको अधिकारीहरू बताउँछन्।

मनसुन एक साता अगाडि नै आए पनि कमजोर प्रकृतिको आएको बताउँनुहुन्छ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराई।

जसका कारण डेढ महिना बित्दा पनि देशभरि मनसुनको प्रभाव नदेखिएको उहाँले बताउनुभयो।

“पूर्वबाट सुरु भएको मनसुन एक सातामा पश्चिम पुग्नपर्ने हो। तर यस वर्ष दुई साताभन्दा बढी समय लाग्यो। पश्चिमसम्म सरे पनि देशभरि एकाध पटक मात्र ठूलो पानी पर्‍यो”, उहाँले भन्नुभयो।

सायद नक्सा तथा  'o गत २४ घण्टाको अधिकतम तापक्रम (२०७९ साल असार ३२ गते साँझ 0५:4ሂ मा मापन गरिएको) संकेत: तापक्रम (℃) -ሂ देखि देखि जल तथा मौसम विज्ञान विभाग १५ ३५ ४o 59 ६६ 5७' भन्ने पाठ को तस्बिर हुनसक्छ

पश्चिम नेपालमा वर्षा नभएको मात्र होइन, घाम निकै चर्को लागेको र गर्मीले कृषि, शैक्षिक संस्था र जनजीवन नै प्रभावित भएको घटना सार्वजनिक भएका छन्।

मौसमविद् भट्टराईले यसलाई मनसुन ब्रेकुको रूपमा व्याख्या गर्नुभयो।

के हो मनसुन ब्रेक ?
मनसुन सक्रिय र निष्क्रिय दुवै अवस्थामा रहन सक्ने विज्ञहरू बताउँछन्। ती दुई अवस्थालाई प्रायः एक्टिभ र ब्रेक भनिन्छ।

मौसमविद्का अनुसार वायुमण्डलको तल्लो भागमा मनसुन प्रभावित पार्ने एउटा न्यून चापीय रेखा हुन्छ।

त्यो रेखा जति नेपालको भू-भाग नजिक आयो त्यति नै ठूलो मात्रामा झरी पर्छ। र, त्यस्तो अवस्थालाई मनसुन सक्रिय भएको मानिन्छ।

 

पछिल्ला केही वर्षमा काठमाडौंमा नै वर्षाको समयमा बाढीको जोखिम बढेको छ।

त्यस्तै उक्त न्यून चापीय रेखा नेपाली भूभागबाट टाढा वा दक्षिणतर्फ सर्दै जाँदा पानी पर्दैन।

घाम चर्को लाग्ने, अधिकतम गर्मी हुने र खडेरी लाग्ने परिस्थिति सिर्जना हुने भट्टराईको भनाइ छ।

“हाल न्यून चापीय रेखा नेपालबाट पर तल्लो भागमा देखिन्छ। शुक्रवारदेखि आगामी तीन दिनको पूर्वानुमानमा त्यो सक्रिय भइहाल्ने देखिँदैन। यो अवस्था नै ब्रेक हो”, उहाँले भन्नुभयो।

Image

भारतबाट वायु
हाल न्यून चापीय प्रणाली भारतको दक्षिणी भू-भागमा सक्रिय रहेको ठानिन्छ। त्यस भेगबाट केही मनसुनी वायु उम्किएर नेपाल आउने सम्भावना रहेको मौसमविद् भट्टराईको भनाइ छ।

त्यसरी आएको वायुकै कारण नेपालको पूर्वी क्षेत्रमा ठूलो पानी पर्‍यो।

तर, त्यस्तो वायु पश्चिम नेपालमा पुग्नुअघि नै सकिएको उहाँको भनाइ छ।

“यहीँ कारण पूर्वी क्षेत्रमा पनि कम पानी पर्‍यो र पश्चिममा सुक्खा भयो।”

के मौसमका चरम अवस्थाका लागि मानिस दोषी हुन् ?

यो बर्खामा २० लाख मानिस विपद्को जोखिममा, कस्तो छ पूर्वतयारी

वर्षा र विपद्

गत वर्ष मनसुनका कारण निम्तिएको विपद्का कारण नेपालका अधिकांश ठाउँमा ठूलो मानवीय एवम् भौतिक क्षति भएको थियो

त्यही सम्भावना दोहोरिन नदिन सरकारले आवश्यक तयारी गरेको अधिकारीहरूले बताउँदै आएका छन्।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम विभागले गरेको आकलनको आधारमा विपद्को पूर्वतयारी गरेको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभयो।

उहाँका अनुसार यसवर्ष अनुमानित वर्षा भएको खण्डमा करिब २० लाख मानिस प्रभावित हुने ठानिएको छ।

“हालसम्म सरदरभन्दा बढी पानी परेको छैन। यद्यपि मनसुनको बेला हुने खालका असर देखिएका छन्। क्षति नहोस् भन्दाभन्दै मानिसहरूको मृत्यु भएको छ र संरचनाहरूमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो।

प्राधिकरणको तथ्याङ्क अनुसार मनसुन सुरु भएयता वर्षाका कारण निम्तिएको प्रकोपमा परी २० जनाले ज्यान गुमाइसकेका छन् भने एक जना बेपत्ता र २८ जना घाइते भएका छन्।

बाढी

बाढी

त्यस्तै ६१ वटा घरमा पूर्ण क्षति भएको छ भने ६० वटामा आंशिक क्षति भएको छ।

ताप्लेजुङस्थित एक जलविद्युत आयोजना समेत प्रभावित भएको छ।

मानवीय बस्ती वरपर बाढी र पहिरो गएपछि २ हजार ५ सय ६५ मानिसलाई अस्थायी रूपमा स्थानान्तर गरिएको भट्टराईले बताए।

सम्बन्धित निकायहरूले जोखिममा परेका ८६ जनाको उद्धार गरेका छन्।

समग्रमा ३५ जिल्ला मनसुन वर्षाका कारण प्रभावित भएको तथ्याङ्क छ।

गत वर्ष मनसुनको यसै अवधिमा भएको क्षतिको तुलनामा कम क्षति भएको अधिकारीहरू बताउँछन्।

“अघिल्लो वर्ष मनसुनको प्रवृत्ति अलग थियो। सुरुदेखि नै वर्षा ह्वात्तै बढ्यो। जनधनको ठूलो क्षति गर्‍यो। बीचमा केही साम्य भए पनि अन्त्यमा फेरि ठूलो भएको थियो। अहिले वर्षा सामान्य छ”, भट्टराईले भन्नुभयो।

यद्यपि मनसुन जारी रहेकाले वर्षाले गराउने विपद्का कारण हुने क्षति कम गर्न मौसम पूर्वानुमान विश्लेषण गरी सूचना प्रवाहको दायरा बढाएको उहाँले बताउनुभयो।(बीबीसीबाट)

Share Now

Leave a comment.