Prakash Adhikari July 18, 2022

काठमाडौं, २ साउन । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ तर घाटामा रहेको नेपाल आयल निगमले तत्काल भाउ घटाउन नसक्ने छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत राखिएको जनाएको छ । निगमलाई शनिबार मात्रै भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा तथा डिजेल १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो ।

निगमले आइतबार जारी गरेको विज्ञप्तिमा अझै पनि पेट्रोलमा प्रतिलिटर १४ रुपैयाा १९ पैसा र डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटा रहेकाले मूल्य नघटाइएको उल्लेख गरिएको छ । समग्रमा १५ दिनको घाटा अब २ अर्ब १६ करोडमा झर्ने निगमले जनाएको छ ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल तथा मट्टितेलको १७२ रुपैयाँ छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्ने अमेरिकी बहुराष्ट्रिय सीटी ग्रुपको प्रक्षेपण छ । सो ग्रुपले कच्चा तेलको मूल्य २०२२ को अन्त्यसम्म घटेर ६५ डलरसम्म झर्न सक्ने अनुमान गरेको छ ।

 

Share Now

Leave a comment.