म्याट मर्फी / बीबीसी न्यूज
किएभ(युक्रेन), ३ श्रावण्(बीबीसी) । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो देशको गुप्तचर एजेन्सी (एसबीयू) का प्रमुख र मुख्य अभियोजनकर्तालाई ती निकायभित्रका कतिपयलाई देशद्रोहको आरोप लागेको उद्धृत गर्दै निलम्बन गर्नुभएको छ।
ती दुवै संगठन र पदहरू देशका शक्तिशाली संरचनामध्ये पर्छन्।
उहाँले हाल रुसको कब्जामा रहेका क्षेत्रका ६० भन्दा बढी पूर्व कर्मचारीहरूले युक्रेनको विरुद्धमा काम गरिरहेको बताउनुभएको छ।
उहाँका भनाइमा रुसलाई सहयोग गरेको तथा देशद्रोह गरेको आरोपका कुल ६ सय ५१ वटा मुद्दाहरू सुरु गरिएको छ। ती मुद्दाहरू कानुन कार्यान्वयन गर्ने अधिकारीविरुद्ध रहेका छन्।
पछिल्लो कारबाहीबारे कारबाहीमा पर्ने अधिकारीहरू इभान बाकानोभ र एरिना भेनेडिक्टोभाले कुनै टिप्पणी गर्नुभएको छैन।
आइतवार ढिलो गरी जारी गरिएको एउटा भिडियो सम्बोधनमा जेलेन्स्कीले भन्नुभयो, “राज्यको राष्ट्रिय सुरक्षाको जगविरुद्ध अपराधको यस्तो श्रृङ्खलाले दुई संस्थाको सम्बन्धित प्रमुखमाथि धेरै गम्भीर प्रश्न खडा गर्छ।”
“ती प्रत्येक प्रश्नको उचित जवाफ प्राप्त हुनेछ।”
इभान बाकानोभ राष्ट्रपति जेलेन्स्कीका बाल्यकालका साथी पनि हुनुहुन्छ।
अनुसन्धानका लागि निलम्बन
त्यसपछि युक्रेनी टेलिभिजनमा देखापरेका जेलेन्स्कीका एकजना शीर्ष सल्लाहकार एन्ड्री स्मिर्नोभले ती अधिकारीहरूलाई नहटाइएको तर प्रारम्भिक विवरणका आधारमा अनुसन्धानका लागि जिम्मेवारीबाट निलम्बन मात्र गरिएको बताउनुभयो।
“आक्रमणकारी देशसँगको सहकार्यको आशङ्कामा एसबीयूका कर्मचारीमाथि भइरहेको फौजदारी अनुसन्धानमा यी दुई अधिकारीहरूको सम्भावित प्रभावलाई रोक्नका लागि राष्ट्रपतिको निर्णय आएको हो”,उहाँले भन्नुभयो।
सन् २०१४ मा रुसले कब्जा गरेको क्षेत्रका एसबीयूका क्षेत्रीय प्रमुख ओलेह कुलिचिनलाई देशद्रोहको आशङ्कामा पक्राउ गरिएपछि उक्त सङ्गठनका प्रमुखलाई पनि निलम्बन गरिएको हो।
जेलेन्स्कीले भन्नुभयो, “उनी सँगसँगै रूसी सङ्घको हितमा काम गर्ने आपराधिक समूहको हिस्सा भएका अरु सबैलाई पनि जवाफदेही बनाइनेछ।”
“यो विषय शत्रुलाई गोप्य जानकारी प्रदान गर्ने र रुसी विशेष सेवाहरूलाई सहयोग गरिएका अन्य तथ्यसँग सम्बन्धित छ।”
यसैबीच खेरसनमा रहेका अन्य वरिष्ठ गुप्तचर अधिकारीहरूलाई पनि त्यस्तै आरोप लगाइएको छ।
जेलेन्स्कीले अन्य एसबीयू अधिकारीविरुद्ध पनि थप कारबाही हुने बताउनुभएको छ।
रुसी घुसपैठ
लामो समयदेखि युक्रेनको सुरक्षा सेवामा रुसी घुसपैठको समस्या रहेको छ भन्ने मानिँदै आएको छ।
आफ्नो भाषणमा जेलेन्स्कीले बारम्बार सुरक्षासम्बन्धी विषयहरू बाहिरिएको भन्दै त्यसलाई रोक्ने कुरा गर्दै आउनुभएको छ।
फेब्रुअरीमा रुसी आक्रमण र त्यसको विस्तारलाई रोक्न असफल भएको आरोप लागेपछि जेलेन्स्कीले बाकानोभलाई प्रतिस्थापन गर्न चाहेको विवरण केही सातादेखि आइरहेका थिए।
राष्ट्रपतिका लागि जेलेन्स्कीको अभियानको प्रबन्ध गरेपछि सन् २०१९ मा उहाँलाई गुप्तचर एजेन्सीको नेतृत्व दिइएको थियो।
विपक्षीहरूले त्यसबेला उहाँ गुप्तचर निकायको काम गर्न योग्य नभएको भन्दै त्यसको आलोचना गरेका थिए।
हाललाई एसबीयूका उपप्रमुखलाई उक्त संगठनको कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ।
त्यस्तै मुख्य अभियोजनकर्ताको कार्यवाहक जिम्मेवारी पनि उक्त संगठनका उपप्रमुखलाई दिइएको छ।


















