काठमाडौं, ३ साउन । पछिल्लो तीन महिनामा देशको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति र त्यसकै भरमा हुने वस्तु तथा सेवा धान्ने क्षमता स्थिर देखिए पनि यसअघिको आयातमा कडिकडाउ गर्ने उपाय केही लम्ब्याउन भनिएको केन्द्रीय ब्याङ्कका प्रवक्ताले बताउनुभएको छ।
गत शुक्रवार मन्त्रिपरिषद्ले यसअघि आयातमा कडाइ तथा रोक लगाएका १० वस्तुमध्ये केहीमा परिमार्जन समेत गर्दै त्यसलाई थप डेढ महिना कायम राख्ने निर्णय गरेको थियो।
नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले देशको अर्थतन्त्र अन्तर्राष्ट्रिय परिस्थितिहरूका आधारमा ुअझै चनाखो भएर बस्नुपर्ने अवस्थामाु रहेको बताउनुभएको छ।
उहाँले डलरसँग हालसम्मकै उच्च बिन्दुमा कमजोर बनिरहेको नेपाली मुद्राका कारण समेत सजगता अपनाउनु अत्यावश्यक रहेको जानकारी दिनुभयो।
“यो बेलामा हामीले पर्यटकहरू उच्च सङ्ख्यामा भित्र्याउन सकेको वा विप्रेषण उच्च मात्रामा ल्याउन सकेको भए अवस्था अर्कै पनि हुन्थ्यो। तर त्यसमा समेत सुधारोन्मुख भए तापनि सहज अवस्था देखिसकेको छैन”,प्रवक्ता भट्टले भन्नुभयो, “यही बेला हामीले आयातको आकार बढाइराख्ने हो भने विदेशी मुद्राको सञ्चिति पनि कमजोर हुँदै जाने र त्यसले महँगी बढाइराख्ने जोखिम कायमै रहन्छ।”

प्रवक्ता भट्टले युक्रेन युद्ध चलिरहेको र अमेरिकी केन्द्रीय ब्याङ्कले ब्याजदर बढाउँदै लगेकाले नेपालको विदेशी मुद्रा सञ्चितिमा थप दबाव पर्न सक्ने जोखिम कायमै रहेको बताउनुभएको छ।
दबाव कायमै
अर्थ मन्त्रालयका प्रवक्ताले समेत देशको अर्थतन्त्र अझै दबावमा नै रहेकाले विलासी वस्तुहरूमा थप केही समय बन्देज, परिमाणमा कडाइ र निरुत्साहित गर्ने कदम जारी राखिएको बताउनुभएको छ।
अर्थ प्रवक्ता ढुन्डीप्रसाद निरौलाले भन्नुभयो, ूअत्यावश्यक वस्तुहरूमा कुनै रोकतोक छैन, तर विलासी वस्तुका हकमा गरिएको कडाइका हकमा सूचकहरू साधारण अवस्थामा पुर्याएपछि खुकुलो पारिने भन्ने छ।ू

यसअघि वैशाखको मध्यतिर सरकारले भुक्तानी सन्तुलनमा चाप पर्न थालेको भन्दै औद्योगिक कच्चा पदार्थबाहेक सबै प्रकारका मदिराहरू, हीरा, चुरोट तथा सुर्तीजन्य वस्तुमा पूर्ण प्रतिबन्ध लगाएको थियो।
त्यसबाहेक कुरकुरे, कुरमुरे, लेज र त्यस्ता उत्पादन, ६०० अमेरिकी डलरभन्दा महँगा मोबाइल फोनहरू, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन सेट, जीप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल, खेलौना र खेल्ने तास आयात रोकेको थियो।
साउन १ गतेदेखि लागु हुने नयाँ व्यवस्थामा यस पटक मोटरसाइकलका हकमा २५० सीसीको सीमालाई घटाउँदै १५० सीसीमा झारेर र मोबाइल फोनका हकमा ३०० अमेरिकी डलरमा झारेर सरकारले थप कडाइ गरेको छ।
अर्थ प्रवक्ता निरौला थप्नुहुन्छ, ूयसको आवश्यकता र औचित्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्र ब्याङ्कको समन्वयमा निर्धारण गर्ने गरिन्छ।ू
उहाँले तुलनात्मक लाभका दृष्टिकोणबाट अत्यावश्यक पर्ने वस्तुको आयातमा कुनै कडिकडाउन गर्ने सरकारको सोच नरहेको समेत बताउनुभयो।
अर्थतन्त्रको अवस्था
मुद्रास्फीति (महँगी) र बाह्य क्षेत्रको सन्तुलनमा यतिखेर सबैभन्दा धेरै दबाव रहेको अधिकारीहरू बताउँछन्।
सामान्यतः देशमा भित्रने र बाहिरिने रकमको अवस्था दर्शाउने शोधनान्तर अघिल्लो आर्थिक वर्षको सुरुमा सवा अर्ब रुपैयाँ बचतमा रहेको थियो।

तर त्यो आर्थिक वर्ष २०७८ । ७९ को ११ महिनामा २७० अर्ब रुपैयाँ घाटामा रहेको राष्ट्र ब्याङ्कको विवरणले देखाउँछ।
चालु खाता घाटा समेत देशको कुल ग्रार्हस्त उत्पादनको १२ प्रतिशत नाघेको अवस्था छ।
विदेशी मुद्रा सञ्चितिले ६।७ महिनाको वस्तु तथा आयात धान्न सक्ने अवस्था रहेको केन्द्रीय ब्याङ्कले जनाएको छ।
चौध महिनाअघि नेपालको सञ्चितले १० महिनाको वस्तु तथा आयात धान्न पुग्ने जनाइएको थियो।
राष्ट्र बैंकका प्रवक्ता भट्ट भन्नुहून्छ, “वर्षभरि शोधनान्तर घाटा भइरहेको अवस्था, विदेशी मुद्राको सञ्चिति घटेको अवस्था, चालु खाता घाटा बढिरहेको अवस्था, विदेशी मुद्रा सञ्चिति गतवर्षको तुलनामा निकै घटेको अवस्थालाई हामीले सङ्कटमा छौँ भनेर होइन थप होसियार हुनुपर्ने अवस्थाको रूपमा बुझ्नुपर्छ।” (बीबीसीबाट)


















