Prakash Adhikari July 28, 2022

 

किन्शासा(कंंगो), १२ श्रावण । संयुक्त राष्ट्रसङ्घले डीआर कङ्गोमा चर्किएको द्वन्द्वका कारण तीन शान्ति सैनिकले ज्यान गुमाएका र अन्य केही घाइते भएको पुष्टि गरेको छ।

नेपाली सेनाले त्यहाँ परिचालित नेपाली सैनिकहरू सुरक्षित रहेको जनाएको छ।

नेपाली सेनाका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै द्वन्द्व चर्किएको क्षेत्रमा नेपाली शान्ति सैनिकहरूको ठूलो टोली नरहेको र त्यहाँ खटिएका स्टाफ अधिकृतहरूलाई सुरक्षित स्थानमा लगिएको बताउनुभएको छ।

डीआर कङ्गोको पूर्वी सहर बुटेम्बोमा अवस्थित राष्ट्रसङ्घीय टोलीका दुई शिविरमा भएका झडपमा तीन शान्ति सैनिक र एक दर्जन प्रदर्शनकारी मारिएको विवरण आएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिकमाथि गरिएको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै डीआर कङ्गोको सरकारलाई उक्त घटनाको अनुसन्धान गर्न ध्यानाकर्षण गराउनुभएको छ।

ज्यान गुमाएका शान्ति सैनिकमध्ये दुई जना भारतीय सीमा सुरक्षा बलका सदस्य रहेको उल्लेख गर्दै भारतका विदेशमन्त्री एस जयशङ्करले उनीहरूको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

डीआर कङ्गोमा के भइरहेको छ ?

संयुक्त राष्ट्रसङ्घको शान्ति मिशन मोनुस्कोले हिंसा र राष्ट्रसङ्घका सम्पत्ति लुटपाट भएका घटनामा प्रदर्शनकारीको भेषमा आएका अपराधीहरू संलग्न रहेको आरोप लगाएको छ।

उसका अनुसार उनीहरूले कङ्गोका प्रहरीको हतियार खोसेर गोली चलाएका थिए।

गोमास्थित राष्ट्रसङ्घीय परिसरको गेट

गोमास्थित राष्ट्रसङ्घीय परिसरको गेट

खनिज पदार्थमा धनी डीआर कङ्गोको पूर्वी भागमा दशकौँदेखि सशस्त्र समूहहरू सक्रिय छन्। तिनले गर्ने हिंसात्मक गतिविधि नियन्त्रण गर्न विफल भएको भन्दै डीआर कङ्गोमा मोनुस्कोप्रति आक्रोश व्यक्त हुँदै आएको छ।

मोनुस्कोका कार्यवाहक प्रमुख खासिम जानले बीबीसीसँग कुरा गर्दै एकदमै सङ्गठित समूहले आफ्ना शिविरहरूलाई घेराउ गरेको र हेलिकप्टरहरूलाई निसाना बनाएर गोली चलाएको बताउनुभयो।

तर उहाँले संयुक्त राष्ट्रसङ्घले कुनै पनि प्रदर्शनकारीमाथि गोली प्रहार नगरेको बताउनुभयो।

देशको पूर्वीभागमा १०० वटाभन्दा बढी विद्रोही समूहहरू क्रियाशील छन्।

सत्तारूढ समूहको युवा सङ्गठनले सोमवार आयोजना गरेको प्रदर्शन हिंसात्मक भएको थियो।

प्रदर्शनकारीहरूले राष्ट्रसङ्घीय मिशनको स्थानीय मुख्यालय र गोमास्थित शिविरमा प्रवेश गरी लुटपाट गर्ने प्रयास गरेपछि अवस्था बिग्रिएको विवरणहरू आएका छन्।

कङ्गोमा शान्ति शिविरमाथि आक्रमण

कङ्गोमा रहेका नेपाली शान्ति सैनिकको अवस्था कस्तो?

संयुक्त राष्ट्रसङ्घको शान्ति सैनिक हेर्ने निकायको वेबसाइटका अनुसार डीआर कङ्गोमा १ हजार १ सय ६३ शान्ति सैनिक परिचालित छन्।

तीमध्ये १ हजार १ सय २५ जना कन्टिन्जन्टका सैनिक, ११ प्रहरी र बाँकी स्टाफ अधिकारी तथा पर्यवेक्षक हुन्।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले त्यहाँ तैनाथ सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको बीबीसीलाई बताउनुभएको छ।

“सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित छन्। नेपाली सेनाको जङ्गी अड्डाले निरन्तर रूपमा नजिकबाट अवस्थालाई नियालिरहेका छौँ र हामी त्यहाँका कमान्डरसँग निरन्तर सम्पर्कमा छौँ “, उहाँले भन्नुभयो।

उहाँले अहिले तनाव देखा परेको ठाउँमा खटिएका केही पर्यवेक्षक तथा स्टाफ अधिकारीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताउनुभयो।

डीआर कङ्गोमा नेपाली सेनाको एउटा द्रुत प्रतिकार्य टोली, एउटा इन्जिनियरिङ एकाइ र एउटा गण छन्।

ती सैन्य एकाइहरू बुनिया र बेनीमा परिचालित छन्।

डीआर कङ्गो

शान्ति अभियानमा नेपालको कस्तो योगदान ?

अहिलेसम्म संयुक्त राष्ट्रसङ्घका ४४ भन्दा बढी मिशनमा एक लाख ४० हजार भन्दाबढी नेपाली सैनिकले काम गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको वेबसाइटका अनुसार अहिलेसम्म शान्ति मिशनमा कार्यरत भएको बेला ८७ जना नेपाली सुरक्षाकर्मीको ज्यान गएको छ।

नेपाली सेनाका अनुसार ७२ सैनिकले शान्ति मिशनमा खटिँदा ज्यान गुमाएका र ६६ जनाको अङ्गभङ्ग भएको यसअघि बीबीसीलाई बताएको थियो।

महिला शान्ति सैनिकको सङ्ख्या वृद्धि गर्न नेपाललाई ुगाह्रोु
सबैभन्दा पहिले २०३६ साल पुसमा नेपाली सेनाका सिपाही गङ्गाबहादुर दर्लामीले लेबनानमा ज्यान गुमाउनुभएको थियो।

गत एप्रिलमा विद्रोही समूहले गरेका आक्रमणमा एक नेपाली शान्ति सैनिकको कङ्गोमा मृत्यु भएको थियो।

त्यस बेला पनि संयुक्त राष्ट्रसङ्घका महासचिवले शान्ति सैनिकमाथिको आक्रमण युद्ध अपराध ठहर हुन सक्ने चेतावनी दिनुभएको थियो।

संयुक्त राष्ट्रसङ्घमा ५ हजार ७ सय ८२ शान्ति सैनिक पठाएको नेपाल अहिले बाङ्ग्लादेशपछि सबैभन्दा बढी सैनिक उपलब्ध गराउने देश हो।

 

Share Now

Leave a comment.