काठमाडौं, १३ श्रावण । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताउनुभएको छ ।
शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण तथा पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।
सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मंसिर ४ गते त निर्वाचन पक्कापक्की छ । केही दिनमा त्यो औपचारिक रुपले घोषणा हुन्छ ।’
प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर सम्पूर्ण शक्तिका साथ आगामी निर्वाचनका लागि लाग्न निर्देशन समेत दिनुभयो ।
नेपाली काँग्रेसभित्र पार्टीको संस्थागत विचारलाई प्रबर्धन गर्न भन्दा कसैलाई उचाल्ने र कसैलाई पछार्नेमा धेरै चासो हुने गरेको छ ।
उहाँले प्रेस युनियनले आफ्ना सदस्य पत्रकारहरुलाई जागरुक पारेर सरकारले गरेका कामको बारेमा प्रचारप्रसार गरी जनतासमक्ष सूचना पुर्याउन निर्देशन दिनुभयो ।
“कांग्रेसको कमजोरी भनेको प्रचारमा कमी हो, हामी आफ्नो पार्टीको विचार संस्थागत विचार राख्न चासो राख्दैनौँ । कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा हाम्रो धेरै चासो र चिन्ता छ । यसमै लाग्ने हो भने हामी आफ्नो मुल लक्ष्यबाट टाढा हुन्छौँ” उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. महतलाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्थाको मान्यता प्राप्त प्रेस युनियनको नवौं महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी दिनुभएको थियो ।
समारोहलाई संबोधन गर्दै प्रवक्ता डा. महतले भन्नुभयो, अलग अलग समूहको अधिवेशन गर्ने तहमा पुगेको प्रेस युनियनका दुवै पक्षलाई समेटेर मध्यबर्षामा अधिवेशन गर्ने सहमति जुटेको हो । साथीहरुको उत्साहजनक सहभागितामा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।
उहाँले आफ्नै संगठनभित्रको स्वस्थ्य प्रतिस्पर्धा भएकोले जीत हारलाई स्वभाविक रुपमा लिन आग्रह गर्दै भन्नुभयो, शिवजीले दिव्य १२ बर्ष तपस्या गनुभयो । अघिल्लो निर्वाचनमा पराजित भएपछि साथीहरुको मन जित्न धेरै मिहेनत गर्नुभयो ।यसपटक विजयी हुनुभयो ।
उहाँले यस चुनावमा विजयी सबैलाई बधाई ज्ञापन गर्दै विजेता हनु नसकेका युनियनकर्मीलाई आगामी अधिवेशनसम्म थप मिहेनत गर्न आग्रह गर्नुभयो ।
विवादरहित ढंगले निर्धारित समयमा अधिवेशन सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै प्रवक्ता महतले आफ्नो अर्जुनदृष्टि महाधिवेशन सफल पार्नेमा केन्द्रित भएको बताउनुभयो ।
उहाँले निर्वाचन समिति,विधान संशोधन समिति, प्रतिनिधि विवाद निरुपण समिति र आयोजक समितिले निर्धारित समयमा काम गरेकोले महाधिवेशन सम्पन्न गर्न सकिएको बताउदै सबैलाई धन्यवाद पनि दिनुभयो ।
कार्यक्रमलाई नेपाली कांग्रेसका वागमती प्रदेश समितिका सभापति इन्द्र बानिया, अध्यक्षपदका पदका उपविजेता अनिता बिन्दु, पूर्वअध्यक्ष रमेश तूफान, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र नवनिर्वाचित अध्यक्ष शिव लम्सालले पनि संबोधन गर्नुभएको थियो ।
नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौडामा श्रावण ६ र ७ गते भएको थियो ।


















