काठमाडौँ, १६ श्रावण । तात्कालीन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगममा ठाडो हस्तक्षेप गरी कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नियमपूर्वक कामकाज गर्न नदिएर मच्चाएको भाडभैलोको असर डेढ महिनापछि देखिएको छ ।
सहयोगी सञ्चार माध्यम कान्तिपुर दैनिकले सार्वजनिक गरेको समाचार अनुसार जहाज मर्मतको समय तालिका मिलाउन नसक्दा निगमले आफ्ना नियमित उडान धमाधम रद्द गर्ने अवस्थामा पुगेको छ ।
निगमको न्यारोबडी (नाइनएन–एकेडब्लु) को दायाँ इन्जिनमा समस्या देखिएपछि बर्खे तालिका नै प्रभावित भएको छ । निगमको वाणिज्य विभागले भारतको दिल्लीका लागि तय भएका तीन र मुम्बईको एक गरी चारवटा उडान रद्द गरिएको जानकारी विभागहरुलाई मेमोमार्फत पठाएको छ ।
अब निगम मातहतका सम्बन्धित विभागले यो सूचनाका आधारमा यात्रु तथा एजेन्सीलाई जानकारी गराउने लगायतका काम गर्नुपर्ने छ । जहाजको इञ्जिन समस्याको कारण अर्को साता थप उडान रद्द हुने क्रम बढ्ने छ । यसले निगमको साखमा असर पार्नुुका साथै करोडौंको व्यापार पनि गुम्ने अवस्था सिर्जना गरेको छ ।
बिहीबार प्राविधिकहरुले सगरमाथा नाम दिइएको जहाजको दायाँ इन्जिनको बोरोस्कोप इन्स्पेक्सन गर्दा यसले ५ उडान (टेकअफ र ल्यान्डिङ गरी दस साइकल) मात्रै गर्न मिल्ने देखायो । शनिवार दिल्ली उडान गरेको यो जहाजलाई आइतबारदेखि उडान राखिएको छैन । जहाज कम्पनी एयरबसका प्राविधिकहरुले बोरोस्कोप इन्स्पेक्सनमा गरेको विश्लेषण अनुसार यस्तो अवस्थामा जोखिम लिएर उडान गर्न मिल्दैन ।
निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेको दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी विमान मकालु नामका वाइडबडी नियमित मर्मत सम्भारका लागि हाल इन्डिनेसियामा रहेको छ । सगरमाथा उडान गर्न नसक्ने अवस्थामा पुगेपछि निगमका १० वटा अन्तर्राष्ट्रिय गन्तव्य एक न्यारो बडी र एक बाइडबडीको जहाजले भ्याउनु पर्ने हुन्छ । चारवटा विमानको गन्तव्य दुई वटा विमानले पूूरा गर्न कठिन हुने त छँदैछ यसले निगमका उडानहरु विलम्बित हुने जोखिम पनि बढ्ने देखिन्छ ।
यो इञ्जिन तत्काल मर्मत संभार गर्न पनि कठिन छ र यसको सट्टा भाडामा इञ्जिन लिन पनि सजिलो छैन । सार्वजनिक खरिद ऐनको नियमावली अनुरुप सबै प्रक्रिया पुर्याएर एक इञ्जिन भाडामा लिदा र विग्रेको इञ्जिन मर्मत गर्न पनि सार्वजनिक खरिद ऐन र निगमको आर्थिक विनियमावली अनुरुप कदम चाल्दा निगमका कार्यकारी अध्यक्ष युवराज घिमिरेलाई छिटो काम नगरेको भन्दै पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने र निलम्बन गर्नेसम्मको अमानवीय काम गरेको थियो ।
साधुलाई सुली
नेपाल वायुसेवा निगममा आफ्नो जागिरे जीवन सुरु गरी आफ्ना उर्वर उमेरका ३४ बर्ष २ महिना २ दिन इमान्दारीपूर्वक सेवा गरेर निगमकै निर्देशक पदबाट अवकाश लिएका इलामका युवराज अधिकारीलाई वर्तमान सरकारले २०७८ कार्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।
२०७६ सालको चैत्र महिनादेखि नेपालमा देखा परेको कोरोनाको कारण देशमा लगाइएको लकडाउन,निषेधाज्ञा र निगमको नियमित सेवा चल्ने बाह्य गन्तव्यमा समेत लकडाउन र यात्रा प्रतिबन्धका कारण आर्थिक अवस्था लगभग धराशायी भएको निगमलाई उहाँले निकै मिहेनत गरेर सामान्य अवस्थामा ल्याउनुभएको थियो ।
![]()
निगमले जेठ मसान्तमा जारी गरेको प्रगति विवरणमा उल्लेख भए अनुसार अधिकारीले निगमको कार्यभार सम्हाल्दा निगमले विभिन्न बैंकबाट लिन पाउने १ अर्ब ८८ करोड ५८ लाख ७२ हजार रुपैयाको ओभर ड्राफ्ट सीमा मध्ये ५१ करोड ८ लाख ४० हजार १ सय ७ रुपैया ५३ पैसा को कर्जा उपयोग गरेको थियो । र उपयोग गरेको रकमको ब्याजसमेत भुक्तानी गर्नुपर्ने अवस्था थियो । नगद मौज्दात जम्मा ५८ करोड ५ लाख ६५ हजार १ सय ३७ रुपैया ८७ पैसा थियो ।
विश्व पर्यटन बजार कोरोनाको असरबाट मुक्त नहुँदै निगमले आफ्ना गन्तव्यका सबै उडानहरु सुचारु गर्न नपाउदै उहाँले निगमभित्रको सुधार गरेर ओभर ड्राफ्टमा लिएको सबै रकम भुक्तानी गरेर त्यसको ब्याजबाट संस्थालाई जोगाउनुभयो । जेठ मसान्तसम्म बैंकहरुमा नगद मौज्दात १ अर्ब ७५ करोड पुग्यो ।
संस्थाले आम्दानी गर्न थालेपछि उहाँले विगत ३ बर्षमा पहिलो पल्ट असार मसान्तमा कर्मचारी सञ्चयकोषलाई ९० करोड र नागरिक लगानी कोषलाई ४५ करोड रुपैया किस्ता तिरिदिनुभयो ।
उहाँले कार्यभार सम्हाल्दा निगमका न्यारोबडी जहाजको दैनिक औसत उडान ७ घण्टा ३८ मिनेट थियो, बैशाखमा आउदा त्यो बढेर दैनिक ९ घण्टा ४८ मिनेट पुग्यो । वाइडबडीका जहाजको दैनिक औसत उडान ६ घण्टा ३६ मिनेटबाट १० घण्टा ४१ मिनेट पुग्यो ।
निगमले अन्तराष्ट्रिय उडानतर्फ साउदी अरेबियाको रियादमा नियमित उडान थप्यो भने त्यहाको जेद्दा र दम्माम विमानस्थलमा उडान गर्ने अनुमति लियो । आन्तरिक तर्फ इलाम र सुदूरपश्चिमका अछाम,डोटी र बाजुरामा व्यवसायिक उडान थाल्यो ।
निगमको प्राविधिक विभागबाहेक प्रायः अन्य विभागको अनुभव बटुलेकोले उहाँले छोटो अवधिमा निगमको साखः बढाउन निगमले विश्वका प्रतिष्ठित विमान कम्पनीको टिकट काट्ने र त्यसबाट यात्रा गर्न तथा कार्गो ओसारपोसार गर्न पाउने सुविधा लियो । यो स्पेशल प्रोरेट एग्रीमेण्ट अन्तरगत २१ वटा एअरलाइन्ससंग यात्रु र २४ वटा एअरलाइन्ससंग कार्गो ढुवानीको संझौता भयो । यसले कनेक्टिड. उडानमा जानुपर्ने यात्रीको आवश्यकतालाई ध्यानमा राखी निगमका उडान निर्धारित समयमा उडाउन सहयोग मिलेको छ ।
उहाँले पद सम्हाल्दा निगमको यात्रु बुकिड.का लागि अपनाइदै आएको सीटा नामक कम्पनीले आफू नयाँ पद्धतिमा जाने जानकारी दिएको थियो । निगमले अपनाउदै आएको पीएसएस पद्धति छनौट गर्ने प्रक्रिया समयमा पूरा गरेर निगमको बुकिड. पद्धति अवरुद्ध भएर सेवा गर्न नसक्ने कठिन अवस्था सिर्जना हुनबाट रोकेर निगमको साखः बचाउनुभयो ।
यही अवधिमा निगमलाई यात्रु र विमान उडान सुरक्षामा असर नगर्ने तर खतराजन्य सामानको सूचीमा राखिएका कम्प्युटर र विद्युतीय सामान ढुवानी गर्न पाउने प्रमाणपत्र निगमले लियो । यसबाट अतिरिक्त आम्दानी गर्न सफल भयो । निगमका जहाजहरुले यस्ता सामान सीधै ढुवानी गर्न पाउने भएकोले कम्प्युटर र इलेक्ट्रोनिक सामानहरुको भाउ केही सस्तो हुने अवस्था पनि सृजना भएको छ ।
निगमले यस अवधिमा मध्यपूर्व जाने नेपाली श्रमिकको हवाई भाडामा पनि केही छुट दिने नीति लियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको जहाज अवतरण गराएर त्यहाँबाट नियमित र चार्टर उडान गर्न सकिने अवस्था सिर्जना गर्यो । पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिड.को सेवा सञ्चालन गर्ने जनशक्ति विकास गर्यो ।
जहाजको बोर्डिड. पासमा विज्ञापन छाप्ने, जहाजको इन्फ्लाइट इन्टरटेन मुभिज र अडियोमा विज्ञापन राख्ने काम गरेर अतिरिक्त आम्दानी बढायो ।
निगमले नेपाली सेनासंग शान्ति सेनामा जाने र आउने सैनिकहरुको चार्टर फ्लाइट गर्ने संझौता गरेको छ । नेपाल विद्युत प्राधिकरणसंग त्यहाका कर्मचारीको भ्रमण र सामान ढुवानीको आधिकारिक व्यवसायिक साझेदार बन्ने संझौता गरेको छ ।
यो छोटो अवधिमा १० बर्षे योजना निर्माण गरी निगमको सन २०२५ को अन्तसम्म निगममा ६ वटा न्यारोबडी ४ वटा वाइडबडीसहित आन्तरिक स्टल र ट्रंक रुटमा चल्ने गरी २२ वटा विमान सञ्चालन हुने व्यवसायिक योजना तर्जुमा गरेको छ । त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अत्याधुनिक ह्यांगर निर्माण गर्न संभाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन पनि तयार गरिसकेको छ ।
यही अवधिमा निगममा आवश्यक प्राविधिकहरु तयार पार्ने, निगममो वित्तीय प्रणाली सुधार गर्न नेपाल लेखामान प्रणाली लागू गर्ने,निगमको ग्राउण्ड अपरेशन अनसाइट फिजिकल अडिट र आइकाओ अडिट पनि सम्पन्न भएको छ ।
निगमल कर्जा भुुक्तानीका लागि स्रिडि.कड.फण्ड स्थापना गर्ने, उडानमा डिउटी फ्रि सप सञ्चालन गर्ने,काठमाडौं उपत्यका र बाहिर गरी २१ स्थानमा रहेका घरजग्गाको व्यवसायिक उपयोग गर्ने योजना पनि बनाएको छ ।
कार्यकारी अध्यक्ष अधिकारी निगममा बहाली हुँदा निगमका अध्यक्ष सुशील घिमिरे राजिनामा गरेर बाहिरिनुभएको थियो । महाप्रबन्धक डिमप्रकाश पौडेलले कर्मचारी र उच्च व्यवस्थापकहरुलाई विश्वासमा नलिईकन निगमलाई कम्पनी मोडेलमा लैजान मन्त्रालयमा सिफारिस गरेकोले उहाँलाई कर्मचारीले कार्यलय छिर्न दिएका थिएनन् । निगमको थप २ जना सञ्चालक समितिका सदस्य पनि स्थार्थबाझिने व्यापारिक घरानाको सिफारिसमा आएको भन्दै उनीहरुलाई पनि निगममा छिर्न दिइएको थिएन ।
यस्तो प्रतिकूल स्थिति चिर्दै कार्यकारी अध्यक्ष अधिकारीले निगमका तीनवटै कर्मचारी युनियनलाई विश्वासमा लिएर सञ्चालक समितिको बैठक सुचारु गर्दै अत्यावश्य निर्णय गराउदै आन्तरिक सुधार गरेर निगमलाई अगाडि बढाउनुभएको थियो ।
पूर्वमन्त्री आलेको हस्तक्षेपले सुधार चौपट
राज्य सञ्चालनको सामान्य शिष्टता समेत नभएका पूर्वमन्त्री प्रेम आलेले डेढ महिना अगाडि थालेको अनावश्यक उग्र हस्तक्षेपका कारण निगमको सुधार चौपट्ट भएर निगमको नियमित उडान नै प्रभावित हुने स्थिति आएको निगमका कर्मचारीहरु बताउछन् ।
तात्कालीन मन्त्री आलेले जथाभावी कर्मचारी भर्ना गर्न, कर्मचारी सरुवा गर्न, उधारो टिकट दिन, निगमको न्यूरोडको २४ रोपनी जग्गा नियमविपरीत लिजमा दिन, ग्राउण्ड ह्याण्डलिड. सेवा कुनै कम्पनीलाई सरक्क दिन अनावश्यक दवाव दिएपछि त्यसलाई टार्दै आउनुभएका अध्यक्ष अधिकारीलाई मन्त्रालयले जेठ २७ गते स्पष्टीकरण सोधेको थियो ।

यही बीचमा मन्त्री भेट्न उहाँको सिंहदरबारस्थित कार्यकक्षमा पुग्नुभएका अध्यक्ष अधिकारीलाई लछारपछार गर्दै उहाँको मोबाइल खोसेर मन्त्री आलेले तथानाम गाली गर्नुभयो । त्यो गाली मन्त्रीकै सचिवालयले पत्रकारलाई उपलब्ध गराएपछि अन्नपूर्णपोष्टमा जस्ताको तस्तै प्रशारण् भयोे ।
सो अश्लिल अडियो सार्वजनिक भएपछि मन्त्री आलेले आफ्नो कमजोरी लुकाउन उहाँलाई निलम्बन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउनुभयो र आषाढ ६ गते क्याबिनेटले उहाँविरुद्ध छानवीन गर्न एक समिति बनाउदै कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गर्यो ।
सरकारको निर्णय विरुद्ध अदालत जानुभएका अधिकारीलाई अदालतले अल्पकालिन अन्तरिम आदेशबाट पुनस्थापना त गर्यो तर सरकारलाई छानविन गर्ने सहुलियत पनि दियो ।
सरकारले तात्कालिन पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय छानविन समितिले उहाँलाई पुरानो म्यानुअलको आधारमा ट्वीन ओटर भाडामा दिएको, रियादको उद्घाटन उडानमा २१ जना अतिथि लगेको, कर्मचारीहरुलाई समानताको आधारमा पदस्थापन नगरेको जस्ता आरोप लगाएको छ ।
जबकी २००१ कै म्यानुअलको आधारमा विगत ३ बर्षमा निगम व्यवस्थापनले झण्डै ६० वटा चार्टर उडान गरेको छ । निगमले एक ट्विनओटर जहाज यति एअरको भगिनी संस्था तारा एअरलाई दिएको पनि छ । मन्त्री परिषद्को छानविन समितिको प्रश्नको प्रतिवाद गर्दै यसको यथार्थ विवरण अधिकारीले दिनुभएको बताइन्छ ।
न्यौपाने समितिले उहाँलाई रियादमा २१ जना अतिथि लगेकोमा आर्थिक नोक्सानी गरेको आरोप लगाएको छ ।जब कि निगमले ओशाकाको उद्घाटन उडानमा ४६जना पाहुना लगेको थियो । बंगलोरमा झण्डै १००को हाराहारीमा थिए । उद्घाटन उडानमा मन्त्री,सचिव,मन्त्रालयका सहसचिव,नागरिक उड्डयन प्राधिकरण,त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, राष्ट्रिय योजना आयोग,सांसद, दुवै मुलुकमा राजदूत, उद्योग वाणिज्य क्षेत्रका प्रतिष्ठित व्यक्ति, निगमको टिकट विक्रेता, पर्यटन उद्यमी, नेपाल पर्यटन बोर्डका पदाधिकारी, सञ्चारकर्मीहरुलाई लैजाने गरिन्छ ।
समुद्घाटन उडानले व्यापार प्रवर्धनलाई सघाउने भएकोले यसलाई भविष्यको व्यापारका लागि लगानी भन्ने गरिन्छ ।
कठिन अवस्थामा निगममा व्यापक सुधार गरेका कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउने चक्करमा अनावश्यक हस्तक्षेप गर्न निगम नियमित सेवा गर्न नसक्ने अवस्थामा आइसेकेको छ । वर्तमान मन्त्री जीवनराम श्रेष्ठ पदबहाली भएपछि पनि कार्यकारी अध्यक्ष अधिकारीलाई काम गर्न रोक लगाउने र सञ्चालक समितिको बैठक बस्न अवरोध सिर्जना गर्ने काम भएकोले यो दोषबाट मन्त्री श्रेष्ठ र उहाँको दलका अध्यक्ष माधवकुमार नेपाल पनि उम्किने अवस्था छैन ।

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गर्ने तयारी भैरहेको बेलामा निगमको अध्यक्ष हटाउदा हवाईमाफियासंग मिलेर देश लुटन खोजेको नकारात्मक सन्देश जाने स्पष्ट छ । निगमको जहाज भूमिस्थ भएकोले नयाँ इञ्जिन भाडामा लिन र विग्रेको इञ्जिन मर्मतमा कमिशन खान अध्यक्ष अधिकारीलाई हटाएको आरोप सत्तामा रहेका सबै दल र नेताहरुमा पर्ने निश्चित नै छ ।


















