Prakash Adhikari August 13, 2022

 

काठमाडौं, २८ श्रावण । आगामी भाद्र २ गतेदेखि हुने भनिएको नेपाली कांग्रेसको निर्वाचनमुखी जागरण अभियान भाद्र १० देखि २४ सम्म हुने भएको छ ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदान गरेको छ ।

 

यस्तै निर्वाचनका लागि निर्वाचन अयोगमा पार्टी दर्ता गर्ने जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

बैठकले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेद्वारहरुको सिफारिस पठाउन संबन्धित संसदीय निकायलाई पत्राचार गर्ने काम केन्द्रीय सचिवालयलाई प्रत्यायोजन गरेको छ ।

बैठकले गरेका निर्णयको पूर्णपाठः

१, सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने ।

२, २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई “उम्मेदवार मनोनयनको औपचारिक पत्र” प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।

३, २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।

४, २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (७) (क) (ख) (ग) र (घ) बमोजिमको प्रक्रिया पुर्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने ।

५, आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियानको पूर्व निर्धारित मितिलाई परिमार्जित गरेर भाद्र १० देखि भाद्र २४ गतेसम्म संचालन गर्ने ।

 

Share Now

Leave a comment.