Prakash Adhikari August 25, 2022

 

नैरोबी(केन्या), ९ भाद्र । अफ्रिकी राष्ट्र केन्याको राष्ट्रिय टिमसंग पाँच वटा टी २० र तीन एक दिवसीय खेल खेल्ने तयारीका साथ भ्रमणमा निस्केको नेपाली राष्ट्रिय टिमलाई पहिलो टी २० अन्तर्राष्ट्रिय खेलमा सफलता मिलेको छ । बिहिबार भएको खेलामा नेपाल ५ विकेटले विजयी भएको छ ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेर पूरा गरेको हो ।

१ सय ३१ रनको लक्ष्य पाएको नेपालको सुरुवात राम्रो थिएन । हावाहुरी जस्तो कहिले शतक हान्ने कहिले डक आउट हुने नियमित ओपनर कुशल भुर्तेललाई ड्रप गरेपछि नेपालले केन्यासंगको खेलमा आसिफ शेखसँगै पवन सर्राफलाई ओपनिङ गराएको थियो ।

पवन व्यक्तिगत १ रनमै आउट भए । क्यानको कारबाहीमा परेर ६ मैदानबाहिर रहेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले त्यसपछि ब्याट सम्हाले । उनले १९ रन जोडे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३१ रन बनाए भने आसिफ शेखले १९ रन जोडे ।

खेलमा उपकप्तान रोहित पौडेलले १५ रन बनाए । आरिफ शेखले अविजित २१ रन बनाए । आदिल आलम २ रन अविजित रहे ।
नेपाललाई रोक्ने क्रममा केन्याका लुकास ओलुच र भिराज पटेलले २(२ विकेट लिए ।

नैरोबीस्थित जिमखान क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

केन्याका इर्फान करिमले ३४, लुकास ओलुचले ३१, नेल्सन ओधियाम्बोले १९, सचिन भुडियाले १७, कोलिन्स ओबुयाले १२ राकेप पटेलले ९, एलेक्स ओबान्डाले ६ रनको योगदान गरे।

केन्यालाई रोक्ने क्रममा नेपालका सोमपाल कामीले ४ ओभरको बलिड।मा ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले ४ ओभर बलिङमा २ विकेट लिए। खेलमा दीपेन्द्र सिंह ऐरी, आदिल अन्सारीले १÷१ विकेट लिए। पवन सर्राफ, विवेक यादव र करण केसीले भने विकेटबिहिन रहे ।

यस जितसँगै नेपालले पाँच खेलको शृंखलामा १ ० को अग्रता लिएको छ ।

भिसा समस्याका कारण नेपाली टोली चार चरणमा गरेर केन्या गएका थिए । त्यसैले खेलमा पर्याप्त तयारी नभएको र खेलाडीहरु छानेर राख्न नपाइएको गुनासो प्रशिक्षक मनोज प्रभाकरको रहे पनि पहिलो खेलमा जित भएकोले नेपाली टिमका सबै खेलाडी र प्रशिक्षक तथा अफिसियलहरुको नैतिक मनोबल उच्च रहेको छ ।

आज पहिलो टी–२० खेलेको नेपालले दोस्रो खेल भदौ १० गते खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ।

चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ।

यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।

 

Share Now

Leave a comment.