ललितपुर, ११ भाद्र । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज (शनिवार) पनि बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबारबाट सुरु भएको बैठक शनिबार बिहान साढे १० बजेका लागि बोलाइएको छ।
शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज पनि छलफल हुँदैछ। राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ।
एमाले प्रचार विभागका अनुसार प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने कार्यक्रम रहेको छ।
बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गर्नुभएको छ।
प्रतिवेदनमा वर्तमान सरकार र सत्ता गठबन्धनका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविकामा गम्भीर सङ्कट निम्त्याएको उल्लेख छ।
यस्तै पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मतको अभाव रहेको र त्यसको पूर्ति गर्न आवश्यक कदम चाल्ने विषय पनि अध्यक्ष ओलीको प्रतिवेदनमा उल्लेख छ।


















