Prakash Adhikari August 29, 2022

 

इस्लामावाद(पाकिस्तान), १३ भाद्र(बीबीसी) । बाढीले देशभर भीषण क्षति पुर्‍याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

अमेरिका, यूके, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले उक्त अपिल अन्तर्गत सहयोग उपलब्ध गराएका छन् तर आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले अझ धेरै स्रोतको आवश्यकता रहेको बीबीसीलाई बताएका छन्।

यो वर्ष जुनयता बाढीका कारण पाकिस्तानमा ज्यान गुमाएका मानिसहरूको सङ्ख्या १,०३३ पुगेको छ भने दशौँ हजार विस्थापित भएको त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जनाएको छ।

सरकारी अधिकारीहरूले पाकिस्तानको सरकार मानिसहरूलाई आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गरिरहेको बताएका छन्।

देशको उत्तरपश्चिममा अवस्थित खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि शक्तिशाली बाढी आउँदा कैयौँ मानिस विस्थापित भएका छन्।

हजारौँ मानिसहरू आफ्ना घरबाट भागेका विवरण छन्।

राहत कुरिरहेका विस्थापित मानिसहरू

राहत कुरिरहेका विस्थापित मानिसहरू

“वर्षौँदेखिको कठोर मेहनतले हामीले बनाएका घर हाम्रो आँखाकै अगाडि डुब्न थाल्यो”, २३ वर्षका जुनैद खानले एएफपी समाचार संस्थासँग भनेका छन्,”हामीले सडकको किनारामा बसेर हाम्रो सपनाको घर डुबिरहेको हेर्‍यौँ।”

दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौँ मानिसहरू विस्थापित भएका छन्।

बीबीसीसँग कुरा गर्दै सुफीले उनको देशलाई अन्तर्राष्ट्रिय समर्थनको अत्यधिक आवश्यकता रहेको बताए।

उनी भन्छन्, “पाकिस्तान आर्थिक समस्यासँग जुझिरहेको छ तर हामीले त्यसलाई समाधान गर्न लाग्दा बर्खायामको विपद्ले अझ प्रभावित गरेको छ।”

कैयौँ विकास परियोजनाका बजेटलाई रकमान्तर गरी प्रभावित मानिसहरूसम्म राहत पुर्‍याइएको छ।


“अझै खाना आएको छैन”

पम्जा फिह्लानी, बीबीसी न्यूज, सिन्ध

सिन्धमा हामीले यात्रा गरेका सबे गाउँहरूमा विस्थापित मानिसहरू थिए।

उक्त प्रान्तमा बाढीले निम्त्याएको विध्वंसको पूर्ण स्तर अझै पनि बुझ्न नसकिए पनि स्थानीय बासिन्दाले त्यो उनीहरूले आफ्नो जीवनमा भोगेको सबैभन्दा खराब विपद् भएको बताइरहेका छन्।

पाकिस्तानका लागि बाढी नौलो होइन तर यहाँका मानिसहरूले यसपालिको वर्षा फरक भएको बताएका छन्।

उनीहरूले पहिला त्यस्तो कहिल्यै नदेखेको टिप्पणी गरे। एक जना स्थानीय अधिकारीले बाढी असाध्यै भीषण भएको उल्लेख गरे।

लार्कना सहर नजिकै माटोले बनेका हजारौँ घरहरू डुबेका छन् र कैयौँ किलोमिटर परसम्म रुखका टुप्पाहरू मात्रै देख्न सकिन्छ।

पानीको सतह केही कम भएको ठाउँमा फुसको छानो पानी मास्तिर देख्न सकिन्छ।

बाढीबाट ज्यान जोगाएकाहरूका आवश्यकता पनि फरकफरक छन्।

हामी पुगेको एउटा गाउँमा बसिरहेका मानिसहरू व्यग्रतापूर्वक खानेकुराको प्रतीक्षा गरिरहेका छन्।

Displaced people wade through a flooded area in Peshawar, Khyber Pakhtunkhwa province

अर्को गाउँका मानिसहरूसँग अन्न छ तर उनीहरूलाई पैसा चाहिएको छ।

हामी पुगेको एउटा गाउँमा कैयौँ बालबालिकाहरू प्रदूषित पानीका कारण लाग्ने रोगबाट सङ्क्रमित छन्। त्यहाँ एउटा ट्रक पुग्दा कैयौँ दौडिएर पुग्छन्।

एक जना १२ वर्षकी बालिकाले उनी र उनकी सानी बहिनीले चौबिस घण्टासम्म केही नखाएको बताइन्।

“यहाँ अहिलेसम्म केही पनि खानेकुरा आइपुगेको छैन। तर मेरी बहिनी बिरामी छिन्। उनले वान्ता गरिरहेकी छन्। उनीहरूले सहयोग गर्न सक्छन् कि भन्ने अपेक्षा छ।”

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले देशको जनसङ्ख्याको करिब १५ प्रतिशत अर्थात् ३ करोड ३० लाख मानिसहरू बाढीबाट प्रभावित भएको बताएका छन्।

उनले यसपालिको बाढीलाई हालसम्मकै खराब भनेर भनिएको सन् २०१० । ११ को बाढीसँग तुलना गर्न सकिने बताए।

अधिकारीहरूले उक्त क्षतिका लागि जलवायु परिवर्तन जिम्मेवार रहेको आरोप लगाउँछन्।

तर कमजोर स्थानीय सरकारको योजनालाई पनि विगतमा बाढीले बढी प्रभाव पार्नुको एउटा कारण मानिएको थियो।

कतिपय ठाउँमा बर्खा याममा बाढी आउने जोखिम भएका स्थानमा पनि भवनहरू बनाइएका छन्।

https://twitter.com/WallStreetSilv/status/1563372640232173568

 

Share Now

Leave a comment.