Prakash Adhikari August 31, 2022

 

इस्लामावाद(पाकिस्तान), १५ भाद्र(बीबीसी) । पाकिस्तानमा यस बर्ष आएको बाढीले निकै ठूलो क्षति पुर्याएको छ । एक हजारभन्दा बढी नागरिकहरुले पहिरो, बाढी र डुबानबाट जीवन गुमाएका छन् ।

पाकिस्तानकी जलवायुमन्त्रीले देशको एकतिहाइ भूभाग बाढीका कारण पूरै डुबानमा परेको बताउनुभएको छ।

विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ।

“यो त एउटा ठूलो सागर बनेको छ। पानी निकालेर फ्याँक्ने कुनै सुक्खा जमिन बाँकी छैन”, मन्त्री शेरी रहमानले भन्नुभयो, “अकल्पनीय सङ्कट आइलागेको छ।”

ठूलो क्षति

जुनमा मनसुन लागेयता पाकिस्तानमा ज्यान गुमाउनेहरूको सङ्ख्या १,१३६ पुगिसकेको अधिकारीहरूले बताएका छन्।मृतकको संख्या थपिने क्रम जारी छ ।

यसपालिको वर्षा एक दशकयताकै सबभन्दा भीषण भएको बताइएको छ।

पाकिस्तानमा बाढीको प्रकोप
पाकिस्तानमा बाढीको प्रकोप

पाकिस्तानको सरकारले जलवायु परिवर्तनलाई यसको दोष दिएको छ।

“वास्तवमै पाकिस्तानको एकतिहाइ भूभाग अहिले जलमग्न छ। विगतका सबै सीमा भङ्ग भएको छ”,रहमानले एएफपी समाचारसंस्थालाई भन्नुभएको छ,”हामीले यस्तो कहिल्यै देखेका थिएनौँ।”

 

पाकिस्तानमा बाढीको प्रकोपः लाखौँ घरमा क्षति. अगस्ट २५ सम्मको विवरण.  क्षति पुगेका घरको कुल सङ्ख्याः ६,७०,३२८.

२४ घण्टामा ७५ जनाको मृत्यु

बितेको २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भएको सोमवार अधिकारीहरूले बताएका छन्। उक्त सङ्ख्या बढ्ने ठानिएको छ।

विदेशमन्त्री बिलावल भुट्टो जरदारीले बीबीसीसँग बोल्दै मारिनेमध्ये एकतिहाइ बालबालिका भएको आकलन गरिएको बताउनुभयो।

“हामी अझै क्षतिको स्तर जान्ने क्रममा नै छौँ “, उहाँले भन्नुभयो।

करिब तीन करोड ३० लाख पाकिस्तानीहरू उक्त बाढीबाट प्रभावित भएको अधिकारीहरूले अनुमान गरेका छन्। यसको अर्थ प्रत्येक सात जनामध्ये एक पाकिस्तानी नागरिक बाढीले प्रभावित छन्।

उत्तरी स्वाट उपत्यकामा पुल तथा सडकहरू बगेपछि गाउँहरू सम्पर्कविच्छेदको अवस्थामा छन्।

पर्वतीय क्षेत्रमा बस्ने हजारौँ मानिसहरूलाई सुरक्षित स्थलतर्फ जान भनिएको छ। हेलिकप्टरको मद्दतले समेत सबैलाई उद्धार गर्न सकिएको छैन।

“गाउँका गाउँ सखाप भएका छन्। दशौँ लाख घर ध्वस्त भएका छन्”, हेलिकप्टरबाट निरीक्षण गरेपछि प्रधानमन्त्री शहबाज शरीफले भन्नुभयो।

भाग्न सफल मानिसहरू भिडभाडपूर्ण पालहरूमा जम्मा भएका छन्।

“यहाँ बस्नु निकै गाह्रो छ। हाम्रो आत्मसम्मान दाउमा परेको छ”, एकजना बाढीपीडित फजल मलिकले एएफपीलाई भन्नुभयो।

सिन्ध तथा बलोचिस्तान सबैभन्दा धेरै प्रभावित प्रान्त हुन् भने खाइबर पख्तुन्ख्वाको पर्वतीय क्षेत्र पनि निकै प्रभावित भएको छ।

पाकिस्तान बाढी

पुनर्निर्माणको चिन्ता
यो वर्षको मनसुनी वर्षा सन् २०१० को विनाशकारी बाढीसँग तुलना गर्न सकिन्छ।

पाकिस्तानको इतिहासमा सबैभन्दा घातक ठानिएको उक्त बाढीमा २,००० मानिसको ज्यान गएको थियो।

यसबीच अब पुनर्निर्माणका निम्ति आवश्यक पर्ने लगानीलाई लिएर चिन्ता बढेका छन्।

पाकिस्तान सरकारले सहायता निकाय, मित्र देशहरू तथा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोगको मागेको छ।

पाकिस्तान बाढी

बाढीबाट विस्थापितहरूलाई अस्थायी आवासमा राखिएको छ

ूप्रारम्भिक अनुमानमा (पुनर्निर्माण)का लागि १० अर्ब डलरभन्दा धेरै लाग्ने देखिएको छ,ू योजनामन्त्री अहसान इकबालले रोएटर्सलाई भन्नुभयो।

आधाभन्दा धेरै कपास बाली नष्ट भएको छ भने तरकारी र फलफूल अनि धानबालीमा उल्लेखनीय क्षति पुगेका छन्।

प्रधानमन्त्री शरीफका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई उपलब्ध गराउन लागेको १.२ अर्ब डलर बराबरको कर्जाले अर्थतन्त्रलाई उकास्न धेरै सहयोग पुग्नेछ।

Share Now

Leave a comment.