काठमाडौं, १५ भाद्र । सत्तारुढ गठबन्धनमा सम्मिलित दलहरुले आगामी प्रतिनिधि सभाको चुनावमा तालमेल गर्नका लागि आज सीट बाँडफाँट टुंग्याउने तयारी गरेका छन् ।
सो तयारी अनुसार गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ ।
गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वदायी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्दै छ ।
कांग्रेसले कति सिट दाबी गर्ने भनेर साझा धारणा बनाउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । सोही धारणा अनुसार गठबन्धनको बैठकमा प्रस्तुत हुने नेपाली कांग्रेसका एक नेताले बताउनुभएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदै छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो ।
११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला रहनुभएको छ ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर टुंगो लगाउन गत साउन अन्तिम सातासम्मको समय दिइएको थियो । तर कार्यदलले प्रशस्त कसरत गरेपनि सो काम सम्पन्न गर्न नसकेपछि सो काम पुनः शीर्ष नेताकै जिम्मामा आएको छ ।


















