काठमाडौं, २१ भाद्र । आजदेखि नेपालमा आयोजना हुने साफ महिला फुटबल खेलको समुद्घाटन खेल पानीले डिस्टर्व गर्ने भय उत्पन्न भएको छ ।
खेल साढे ५ बजे काठमाडौंको दशरथ रंगशालामा सुरु हुने तालिका छ , तर सबा ५ मा काठमाडौं उपत्यकामा दर्कने पानी परेको छ ।
घरेलु मैदानमा दोस्रो पटक आयोजना भएको साफ च्याम्पियसिपमा नेपाल उपाधि जित्ने योजनाका साथ मैदान उत्रिँदै छ।
यसअघिका ४ संस्करण फाइनलमा पुगेर पनि उपाधिबाट टाढिएको नेपाल यो पटक त्यो मौका खेल जान नदिने दाउमा छ।
भुटानविरुद्धको खेलमा नेपालका लागि गोलरक्षक एञ्जिला तुम्बापो सुब्वाले कप्तानी गर्नेछिन्। नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि एञ्जिलालाई नयाँ कप्तानको जिम्मेवारी दिईएको हो।
अनुभवी र युवा खेलाडीको मिश्रण रहेको नेपाली टोली जितका साथ साफको सुरुवात गर्ने योजनामा छ।
राष्ट्रिय टोलीमा अनुभवी तीन खेलाडीले पुनरागमन गर्दा ३ नयाँ खेलाडीले स्थान बनाएका छन्। आजको खेलमा फरवर्ड अमिशा कार्की र मिड फिल्डर दीपा शाहीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।
मिडफिल्डर दीपाले पूर्वकप्तान रेनुका नगरकोटेको अभाव हुन नदिने विश्वास गरिएको छ। पूर्वकप्तान रेनुका एशियन कपको बन्द प्रशिक्षणका क्रममा घाइते भएपछि टोलीबाहिर छिन्।
टोलीका मुख्य प्रशिक्षक कुमार थापाले विगतलाई बिर्सिएर राम्रो सुरुवात गर्ने बताएका छन्। उनले पाएको मौकालाई सदुपयोग गर्ने भन्दै पहिला समुह चरणको खेलमा नै जोड दिए बताए।
उता टोलीकी कप्तान एञ्जिलाले बोल्नभन्दा मैदानमा गरेर देखाउने बताएकी छिन्। आफ्नो कप्तानीमा टोलीमा सबै साथ पाउने भएकाले विश्वासलाई गुम्न नदिने सुनाईन्।
उता भुटानी टोलीकी प्रशिक्षक क्युङ सुक होङले राम्रो तयारी गरेर नेपाल आएको सुनाईन्। टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न गाह्रो हुने बताइन्।
नेपाली राष्ट्रिय टोली
गोलकिपर– एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर– हिरा भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक
मिडफिल्ड– विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्ड– सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अमिशा कार्की


















