Prakash Adhikari September 6, 2022

काठमाडौं, २१ भाद्र । भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर भेट गर्नुभएको थियो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले ‘सामान्य शिष्टाचार भेट मात्र भएकाले हाल विवादमा आएको अग्निपथ सैन्य भर्ना योजनाबारे कुराकानी नभएको बताउनुभएको छ ।

भारतीय सेनाले चार वर्षका लागि सैनिक भर्ना गर्ने गरी ‘अग्निपथ योजना’ अघि सारेको छ ।

नेपाली गोर्खा सैनिकको भर्ना पनि यही प्रक्रिया अनुरुप हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपालले यस विषयमा लिखितरुपमा जानकारी माग्दै तत्काललाई अग्निपथ योजना अनुसार नेपाली युवाको भर्तीलाई रोकेको छ ।

यो महत्वपूर्ण विषयमा प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुखको भेटमा कुराकानी हुनसक्ने अडकल गरिएको थियो तर भएन ।

प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार सुवेदीले यो सैन्य नेतृत्वभन्दा पनि राजनीतिक र कुटनीतिक तहमा छलफल गर्ने भन्ने भएकाले कुरा नउठेको बताउनुभएको छ ।

भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताउनुभएको थियो ।

उहाँले एकअर्काको देशमा मानार्थ महारथिको सम्मान दिने परम्परालाई अनुपम मित्रताको रुपमा उल्लेख गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले जनरल पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिनुभएको थियो ।

पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउनुभएको हो ।

 

Share Now

Leave a comment.