नवलपरासी, २१ भाद्र । नाबालिग गायिकालाई यौन दूराचार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालते अढाई बर्ष कैद र २५ हजार रुपैया जरिवाना गरेको छ ।
अदालतले पीडितलाई १० लाख रुपैया क्षतिपूर्ति पनि दिलाउन आदेश दिएको छ ।
तर जबरजस्ती करणीको मुद्दामा भने जिल्ला अदालत नवलपुरले उनलाई सफाइ दिएको छ।
जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार सुनुवाइपछि २५ हजार रुपैयाँ जरिवानाको फैसला पनि गरेको छ।
यस्तै, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला भएको छ।
यस्तै, अभिभावक र मिडियालाई समेत यो मुद्दामा सचेत गराउने फैसला भएको छ।
यसअघि बकपत्रका क्रममा पीडित र जाहेरवालाले नै फैसला बयान फेरेर घटना झुटो भएको बताएपछि उनले जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका हुन्।
शाह ७ महिनादेखि कारागार कार्यालय तनहुँमा पुर्पक्षका लागि थुनामा थिए। यो अवधि कैदमा जोडिने छ।
उनको विरुद्ध तनहुँमा परेको यस्तै मुद्दाका्े किनारा भने लागिसकेको छैन । त्यसैले त्यहाँको फैसला नआईकन पलले कति समय कैद बस्नुपर्दछ र जरिवाना र क्षतिपूर्ति रकम कति तिर्नुपर्दछ भन्ने एकिन भएको छैन ।
तनहुँ अदालतबाट नवलपरासीको भन्दा बढी सजाय भएमा उनले त्यसलाई मान्नुपर्ने हुन्छ । कम सजाय भएमा नवलपुरको सजाँय कार्यान्वयनमा जान्छ ।
फागुन ११ गते उनीविरुद्ध सुरुमा जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो। त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए। पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको हो। पछि जाहेरी परे पनि नवलपुर अदालतले भने पहिले फैसला गर्यो।
यसअघि थुनछेक आदेशविरुद्ध उच्च अदालतमा निवेदन पर्दा पनि उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको थियो। तर उच्च अदालतले जिल्ला अदालतलाई छिटो फैसला गर्न आदेश दिएको थियो ।


















