Prakash Adhikari September 6, 2022

काठमाडौं, २२ भाद्र । नेपालमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुबीच सीट बाँडफाँटमा रस्साकस्सी चलिरहेको बेला चिनिया राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भदौ २७ गते सोमबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ।

राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा रहनुभएका ली चिनियाँ कम्युनिस्ट पार्टीका मन्त्रीस्तरका ६ जना, राज्यमन्त्रीस्तरका दुई जना नेता र विदेश मन्त्रालयका अधिकारीसहित झण्डे सय जनाको जम्बो टोलीले गर्ने भ्रमणले नेपालको राजनीतिक समीकरणलाई खल्बल्याउन सक्ने जोखिम पनि आँकलन गरिएको छ।

खास गरी अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेशन अन्तरगतको ५०० मिलियन डलरको सहयोग अनुदान लिने सन्दर्भमा चीनले प्रत्यक्ष रुपमा नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई सो सहयोगको विपक्षमा उभिन दबाब दिएको थियो ।

त्यसपछि लगत्तै आएको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्र्रामलाई नेपाल सरकारले अस्वीकार गर्ने निर्णय गरेको थियो ।

गत बर्षदेखि सुरु भएको रुस युक्रेन युद्धपछि झस्किएको चीन गत महिना अमरिकी सभामुख न्यान्सी पेलोसीले गर्नुभएको ताइवान भ्रमणपछि तनावमा छ ।

चिनिया जनकंग्रेसका अध्यक्ष ली नेपालको मात्रै यात्रामा निस्कन लाग्नुभएको भने होइन। उहाँले यस क्रममा चीनसँग सीमा जोडिएका रुस, मंगोलिया, र दक्षिण कोरियाको भ्रमण गर्दै हुनुहुन्छ।

उहाँ आजै बुधबार रुस पुग्नुहुनेछ । त्यहाँ हुने इस्टर्न इकोनोमिक फोरममा उनले सहभागिता जनाउनु हुनेछ । रुसको भ्रमणपछि छिमेकी मंगोलिया पुग्नुहुनेछ।

उहाँ मंगोलियापछि भदौ २७ गते काठमाडौ आउदै हुनुहुन्छ। नेपालपछि उहाँ दक्षिण कोरियाको भ्रमणमा जाने तय भएको चिनियाँ सरकारी संचारमाध्यमले जनाएका छन्।

 

चीनको राष्ट्रिय नीति बनाउने चीनको व्यवस्थापिका राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउन लाग्नुभएको हो।

उहाँले नेपाल आएकै दिन भदौ २७ गते र सभामुख सापकोटासग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

चिनिया नेताको भ्रमणका अवसरमा नेपाल र चीनका व्यवस्थापिकाबीचको सम्बन्ध विस्तार, नेपाल र चीनका शासन र सुशासनका अनुभव, सांसदबीच भ्रमण आदानप्रदान, जलवायु परिवर्तन, द्विपक्षीय राजनीतिक तथा आर्थिक सम्बन्ध, विगतमा भएका सहमति कार्यान्वयन र अन्तराष्ट्रिय परिस्थिति लगायत मुद्दामा छलफल हुने बताइएको छ ।

चीनसँग सीमा जोडिएका जिल्लामा नेपाल र चीनबीच जलवायु परिवर्तनका असर कम गर्न आगामी दिनमा सहकार्य सुदृढ गर्नेबारे सभामुख सापकोटा र नेता लीबीच छलफल हुने छ ।

यो भ्रमणमा नेपाल र चीनका व्यवस्थापिकाबीच सहकार्य सुदृढ गर्नेसम्बन्धी एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गर्ने तयारी पनि गरिएको छ।

परराष्ट्र मन्त्रालय र संसद सचिवालयले चिनिया पाहुनासंगको अधिकां भेटवार्ता संघीय संसद भवन नयाँबानेश्वरमा गर्ने तयारी गरिरहेका छन् ।

चिनियाँ नेता लीले प्रधानमन्त्री शेर बहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भदौ २८ गते भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यही दिन उहाँले चिनियाँ जनकंग्रेसका अध्यक्षले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै भेट गर्नुहुने भएको छ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते शिष्टाचार भेट गर्नुहुने छ।

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनभन्दा एक महिनाअघि हुने नेता लीको नेपाल भ्रमणले नेपालमा चीन अनुकूल राजनीतिक वातावरण निर्माणमा केन्द्रित त हुने होइन? भन्ने आशंका पनि व्याप्त छ । तात्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्कर्षमा पुगेर पार्टी विभाजन उन्मुख भएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनफिड.संगै वार्ता गरेर विवाद सुल्झाएको लामो समय भएको छैन ।

नेपालमा मंसिर ४ गते हुने निर्वाचनमा चीनतिर बढी झुकाव भएको नेकपा एमालेका विरुद्ध सत्तागठबन्धनमा रहेका दलहरुबीच सीट बाँडफाँटको विषयलाई लिएर रस्सकस्सी चल्नुको साथै घुर्की धम्की चलिरहेको बेला हुने चिनिया शीर्ष नेताको भ्रमण निकै अर्थपूर्ण भएको बताइन्छ ।

 

Share Now

Leave a comment.