काठमाडौं, २३ भाद्र। नेपालको राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको छ ।
बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेपछि क्यानले यो निर्णय लिएको हो ।
कप्तान सन्दीप विरुद्ध एक किशोरीले गौशाला प्रहरी चौकीमा बलात्कारको उजुरी दिएपछि प्रहरीले मंगलबारदेखि यस विषयमा अनुसन्धान थालेको थियो ।
कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण लामिछानेलाई निलम्बन गरिएको मल्लले बताउनुभएको छ ।



















